सफा हिमाल अभियानमा २७ हजार ६७१ किलो फोहोर र चारवटा शव संकलन

नेपाली सेनाको नेतृत्वमा भएको सफा हिमाल अभियान अन्तर्गत २७ हजार ६७१ किलो फोहोर तथा चारवटा शव संकलन गरिएको छ ।

वैशाख २ गतेदेखि जेठ १५ गतेसम्म सञ्चालन गरिएको सफा हिमाल अभियान २०२१ का क्रममा विभिन्न हिमालबाट कुहिने र नकुहिने गरि २७ हजार ६७१ किलो फोहोर संकलन गरिएको नेपाली सेनाले जानकारी गराएको हो । सो क्रममा सबैभन्दा बढि फोहर सगरमाथाबाट संकलन भएको थियो । संकलित मध्ये अहिलेसम्म १२ हजार ९९५ किलो फोहोर व्यवस्थापन वा पुनःप्रयोगका लागि हस्तान्तरण गरिएको छ । शनिबार सैनिक मुख्यालयमा भएको समापन समारोहमा हिमाल सफाइमा खटिएकाहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने टोली लिडरहरुले झण्डा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा सेनाका उपरथी गोकुल भण्डारीले सफा हिमाल अभियानका लागि सरकारी तथा गैरसरकारी विभिन्न संस्थाबाट सहयोग भएको जानकारी दिए । उनले सफाइका क्रममा नेपाली सेनाका तीन जनाले आमदब्लम हिमालको सफल आरोहण पनि गरेको बताए ।

त्यस्तै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले प्रतिकुल मौसमका बाबजुत पनि सेनालाई विभिन्न तवरबाट सहयोग प्राप्त भएको बताए । उनले समय समयमा हिमाल सफाइ गर्नुभन्दा फोहर नै हुन नदिनका लागि आवश्यक कदम चाल्नुपर्ने उल्लेख गरे ।

यस वर्ष हिमाल सफाइका लागि नेपाली सेनाका ४३ तथा सेवा प्रदायक संस्थाले उपलब्ध गराएका ६९ जना शेर्पा सहभागी भएका थिए । वन तथा वतावरण मन्त्रालय, पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागसहित सरोकारवाला निकायसँगको सहकार्यमा सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयको व्यवस्थापनमा हिमाल सफाइ अभियान सञ्चालन भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार