कांग्रेसबाट यज्ञ बिसी र दिनबन्धु श्रेष्ठ कर्णाली सरकारमा सहभागी हुँदै

सरकारमा सहभागी हुने मन्त्रीका लागि १३ बुँदे आचारसंहिता

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको कांग्रेस सरकारमा सहभागी हुने भएको छ ।

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलको शनिबार बसेको बैठकले प्रदेश सरकारमा जाने दुई मन्त्रीको नाम टुंगाएको छ । बैठकले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठलाई नियुक्त गरेर सरकारमा सहभागी हुने निर्णय गरेको हो । मुख्यमन्त्री शाहीले आज मन्त्री नियुक्त गरेर आइतबार सपथ खुवाउने कार्यक्रम रहेको छ ।

कोरोना महामारीका बेला सामाजिक विकास मन्त्रालय खाली राखिएको र अहिले सबै मिलेर महामारीसँग जुध्नुपर्ने भएकाले विश्वासको मत दिएको पार्टी सरकारमा सहभागी हुन लागेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए ।

मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिँदा वैशाख ३ गते काँग्रेसले पनि साथ दिएको थियो । त्यसक्रममा नेकपा एमालेको माधव नेपाल समूहका चारजना सांसद्ले पनि फ्लोर क्रस गरी मुख्यमन्त्री शाहीको सत्ता जोगाएका थिए ।

सरकारमा सहभागी हुने मन्त्रीका लागि १३ बुँदे आचारसंहिता
कांग्रेस संसदीय दलले प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरुका लागि १३ बुँदे आचारसंहिता पनि जारी गरेको छ ।

सरकारमा सहभागी हुने मन्त्रीहरुले भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्ने, आर्थिक अनुशासन, स्वच्छता, मितव्ययिता र सादा जीवनशैली अपनाउनु पर्ने आचारसंहितामा उल्लेख छ ।

यस्तै सरकारमा सहभागीहरुले दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइने उल्लेख छ । मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कोही कसैसँग व्यवसायिक साझेदार, सहयोगी बन्न तथा व्यवसाय गर्दा गर्न पनि कांग्रेसले प्रतिवन्ध लगाएको छ ।

सरकारमा सहभागी हुने मन्त्रीहरुले नागरिकहरुप्रति समान व्यवहार गर्नुपर्ने उल्लेख छ । ‘कसैको स्वाभिमान र अस्तित्वमाथि खलल हुने कुनैपनि कार्यलाई निरुत्साहित गर्नुपर्ने छ,’ आचारसंहितामा भनिएको छ, ‘कानुनले बर्जित गरेका कुनेपनि आचरण विपरित हुने कार्यहरु गर्न पाइने छैन् ।’

कोरोना महामारी नियन्त्रण, नागरिकका दैनिक जीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुको सम्बोधन, सुखी, समृद्ध र सम्मुनत कर्णाली निर्माणका लागि शाही नेतृत्वको माओवादी सरकारसँग सहभागी भएको नेता शाहीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार