किसानलाई प्रत्यक्ष लाभ : एकैसाथ साढे ४ सयलाई कृषि यन्त्र हस्तान्तरण

कपिलवस्तुको शिवराज नगरपालिकाले किसानलाई प्रत्यक्ष लाभ दिनेमा जिल्लामा सबैभन्दा अब्बल बनेको छ । उसले एकैसाथ साढे ४सयलाई कृषि यन्त्र (उपकरण) हस्तान्तरण गरेको छ ।

शिवराजका ४६३ जना कृषकहरुलाई कृषि उपकरण वितरण गरिएको छ । नगरको वार्षिक कार्यक्रम अन्तर्गत किसानको मागको आधारमा विभिन्न सामाग्रीहरु वितरण गरिएको हो । शुक्रवार उक्त सामाग्री वितरण गर्दै नगरप्रमुख नेत्रराज अधिकारीले उत्पादनमा वृद्धि गर्नको लागि कृषि औजार सहित उपकरणहरु वितरण गरेको बताए । खेती गर्न प्रविधि यान्त्रिकरण गर्दै किसानहरुले उत्पादनमा गर्ने बस्तुमा वृद्धि हुने विश्वास रहेको छ ।

नगरका ११ वटै वडाका कृषकहरुलाई हाते सानो ट्याक्टर देखि मकै छोडाउने उपकरण सम्म वितरण गरेको छ । नगरका २२८ जना कृषकलाई पम्पसेट, ४५ जनालाई हाते ट्याक्टर, २० जनालाई धान काट्ने मेसिन, ५ जनालाई मकै छोडाउने मेसिन, ६९ जनालाई स्प्रे, ६० जनालाई सिचाई मोटर र ३६ जनालाई वोरिङ उपलब्ध गराएको कृषि विकास शाखाका प्रमुख तारा चौधरीले बताए । वितरण गरिएको सामाग्री नगरपालिकाको ७५ प्रतिशत र किसानको २५ प्रतिशत लगानीमा वितरण गरिएको हो । रु १ करोड १५ लाखको कृषि सामाग्री वितरण गरिएको चौधरीले बताए ।

शिवराज नगरपालिका २ की किसानी थारु हाते ट्याक्टर पाएपछि खुसि हुनुहुन्छ । शिवराज नगरपालिकाले दिएको सानो ट्याक्टर पाएपछि थारुलाई खेत जोत्ने गोरु, हलीको चिन्ता हटेको छ । गोरु र हलिको पैसा वचत हुनुको साथै समयको पनि बचत हुने थारुले बताए । शिवराज नगरपालिका वडा १ का राम शरण थारुले पम्पसेट पाएपछि अव आकासे पानीको भर पर्नुपर्ने दिन सकिएको बताए । आकास वाट कहिले पानी पर्ला र खेत रोप्न पाईन्छ भन्ने तनाव हुने गरेकोेले अव पम्पसेट वाट पानी तानेर खेत रोपिने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार