कोरोनाको त्रासले लकडाउन शुरु भएको १ वर्ष, फेरि बज्यो खतराको घण्टी

एकै हप्तामा बढेका संक्रमितको सङ्ख्याले अस्पतालमा भेण्टिलेटरको अभाव

विश्वमहामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमण नेपाल भित्रिएपछि सरकारले देशभर लकडाउनको घोषणा गरेको आज १ वर्ष पुरा भएको छ । गएका १ वर्षमा कोरोना भाईरसका कारण नेपालमा ३ हजार बढिले ज्यान गुमाए भने कुल संक्रमितको सङख्या पनि झण्डै तीन लाख नजिक पुगेको छ ।

आधा वर्ष देश पूर्ण तथा कडा लकडानका बीचमा गुज्रियो भने पुरै वर्षभरी कोरोनाको त्रासका आम मानिसको दैनिक अत्यान्तै कष्टकर बन्यो । देशका उद्योग, कलकारखाना, व्यवार व्यवसाय ठप्प हुदाँ अर्थतन्त्र शिथिल बन्यो । खासगरि यातायात, हवाई उडान र होटल रेष्टुरेन्ट जस्ता पर्यटन सम्वद्ध व्यवसाय त यत्ति नराम्रोसँग प्रभावित बनेकी कतिपय फेरि उठ्नै नसक्ने अवस्थामा पुगेका छन ।

यहि बीचमा खोपको विकास र नेपालमा पनि बढि प्रभावित हुन सक्ने तथा अग्रभूमिकामा रहनेहरुका लागि सरकारले धेरै विकसित मुलुकको तुलनामा छिटो खोपको विकास समेत गरेर यसको वितरण समेत गरेको छ । तर नेपालमा महामारी फैलिएको ठिक एक वर्ष पुग्नै लाग्दा नेपालमा कोरोनाले संक्रमणले अर्को खतराको घण्टी बजाउन थालेको छ ।

विस्तारै सामान्य अवस्थामा फर्किएको कोरोना संक्रसितको तथ्याङक पुन : चुलिन थालेपछि आईतबार स्वास्थ्य मन्त्रालयले बिज्ञप्ती नै निकालेर सचेत बन्न आग्रह गरेको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिज्ञप्ती निकालेको भोलीपल्टै सोमबार नेपालमा ४ हजार ४७२ नमुना परीक्षण गर्दा १५० जनामा कोभिड(१९ को संक्रमण भेटिएको छ भने , ३ जना संक्रमितको मृत्यु भएको छ । भेटिएका संक्रमितमध्ये पनि सोमबार पुष्टि भएका संक्रमितमा नयाँ खालको भाईरसको संक्रमण हुन सक्ने भन्दै अहिले स्वास्थ्य सम्वद्ध अधिकारीहरु चिन्तित बनेका छन ।

केहिले त यसलाई सरकार वा आम जनमानसले गरेको नजरअन्दाजको प्रतिफल भन्न सम्म भ्याईसकेका छन । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक अनुप बास्तोला कोरोना भाइरस समुदायकै बीचमा हुदाँ पनि महामारी सकिएको भनेर नजरअन्दाज गर्नुको परिणाम देखिएको बताउँछन् ।

डाक्टर बास्तोलाकाअनुसार पछिल्लो समय प्रत्येक महिना २८र३० जना बिरामी टेकु अस्पतालमा भर्ना भएका छन् । यसरी संक्रमित भेटिइरहेको बेलामा महामारीलाई नजरअन्दाज गरेकाले अहिले संक्रमण बढेको उनको तर्क छ । ‘संक्रमण नभएको अवस्थामा पनि हामीले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्थ्यो’ डाक्टर बास्तोला थप्छन्, ‘तर संक्रमित भेटिइरहेको बेलामा पनि हामी पार्टी, भोज, नारा, जुलुस र सभा सम्मेलन गर्न थाल्यौं, गल्ती यहीँ भयो ।’

टेकु अस्पतालमा सोमबार मात्रै २ जना संक्रमित भर्ना भएका छन् । ३ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । लक्षणसहित परीक्षण गराउने आउने शंकास्पद संक्रमितको संख्या पछिल्लो १० दिनमा बढेको छ । डाक्टर बास्तोला पछिल्लो समय आफूले भोगेको एउटा घटनाले नयाँ आशंका जन्माएको बताउँछन् ।

उनकाअनुसार फागुन ७ गते एउटा होटलमा जमघटमा रहेका व्यक्ति एक हप्तापछि ज्वरो खोकी र सास फेर्न गाह्रो भएको भन्दै टेकु अस्पतालमा भर्ना भए । कोभिड(१९ को परीक्षण नतिजा पोजेटिभ देखायो भने एक्स-रे रिपोर्टमा निमोनिया । ५ दिनको उपचारपछि उनी घर फर्किए । तर, उनी सहभागी जमघटमा भएका ४० जनामा पीसीआर गर्दा १९ जनामा संक्रमण देखियो, जसमध्ये ७ जना त अस्पताल भर्ना भएको डाक्टर बास्तोला बताउँछन् । ‘५ घण्टाको एउटा जमघटमा भेला भएका ५० मध्ये १९ जना संक्रमित हुनु र ७ जना अस्पतालमा भर्ना हुनु सामान्य कुरा होइन’ डाक्टर बास्तोला भन्छन्, ‘नयाँ भेरियन्टको भाइरस फैलिएको हो कि भन्ने आशंका छ ।’

टेकु अस्पतालमा मात्रै होईन अहिले कोरोना संक्रमितको सङ्ख्या अनपेक्षित रुपमा बढेको छ । ललितपुरको पाटन अस्पातल, बलम्बुस्थित एपीएफ अस्पता, महाराजगंजस्थित त्रिवी शिक्षण अस्पतालमा पनि संक्रमित बढेको अस्पतालका चिकित्सक बताउँछन् । केहिदिनअघिसम्म नर्मल देखिएको अस्पतालमा अहिले बिरामीको चाप बढेको छ ।

‘लामो समयसम्म अस्पतालमा दुईरतीन जना मात्र बिरामी थिए, तर अहिले बिरामी थपिने क्रम छिटोछिटो भइरहेको छ । यसले हामीले सचेत रहन र फेरि महामारीसँग लड्न तयार हुनु भन्ने सन्देश दिएको डा. बाँस्तोलाको बुझाई छ । बाहिर अहिलेको अवस्थालाई सामान्य भनेपनि पाटन, बलम्बु र टेकु अस्पतालमा अहिले नै भेण्टिलेटरको अभाव देखिन थालिसकेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

अघिल्लो हप्तामात्रै औसतमा १ सय नमुना परीक्षण गर्दा ३ देखि ५ जना संक्रमित भेटिने गरेको अस्पतालका प्रयोगशालामा यो हप्ता संक्रमितको सङ्ख्या अनपेक्षित बढि देखियो । टेकु अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल र बलम्बु अस्पतालको तथ्याङ्क हेर्दा औसतमा १ सयको परिक्षण गर्दा त्यसको २० प्रतिशत हाराहारीमा संक्रमित पुष्टि भएको छ । एक्कासी एक हप्ताकै अन्तरमा १ देखी २ प्रतिशतबाट संक्रमणदर २० प्रतिशत पुग्नु असामान्य भएकाले तत्काल आम मानिसहरु आफैपनि सचेत बन्नुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्र गौतमको भनाई छ । यस्तो बेलामा भीडभाडमा नजाने, जानैपर्ने अवस्थामा माक्स स्यानीटाईजरजस्ता स्वास्थ्य सर्तकता अपनाउन आग्रह समेत गरेका छन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार