अध्यक्ष यादव र उपसभापति निधिबीच प्रदेश नं २ को सरकार गठनबारे छलफल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच प्रदेश नं २ को सरकार पुनःगठनबारे छलफल भएको छ ।

आज उपसभापति निधिको निवास नयाँ बानेश्वरमा भएको भेटमा उनीहरुबीच प्रदेश र सङ्घको राजनीतिक समीकरणबारेमा छलफल भएको उपसभापति निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । भेटमा अध्यक्ष यादवले हाल केन्द्रमा बनेको कांग्रेसहितका दलहरुको गठबन्धनलाई निरन्तररूपमा अघि बढाउनुपर्ने र प्रदेश नं २ को सरकारमा कांग्रेसलाई सहभागी हुनसमेत आग्रह गरेका थिए ।

उपसभापति निधिले उक्त प्रस्तावलाई सकारात्मकरूपमा लिँदै जसपाले प्रदेश नं २ को सरकारको नेतृत्व तीन वर्ष गरिसकेकाले आगामी दिनमा मुख्यमन्त्रीको नेतृत्व कांग्रेसलाई दिन आग्रह गरेका थिए । अध्यक्ष यादवले भने मुख्यमन्त्री नभई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

साथै उनीहरुबीच प्रदेश नं २ को नामकरण र स्थायी राजधानी टुङ्गो लगाउने सम्बन्धमा पनि छलफल भएको प्रेस सल्लाहकार दाहालले बताए । अध्यक्ष यादव आजै जनकपुर गएको र काठमाडौँ फर्केपछि सो विषयमा थप छलफल हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार