पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजीनिक विषय नबनाउन निगमको आग्रह

मूल्य प्रतिलिटर १ सय ४० रुपैयाँ पुग्ने कार्यकारी निर्देशक पौडेलको भनाइ

नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका छन् ।

बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका हुन् । अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहँदा नेपालमा पनि मूल्य वृद्धि हुनु स्वभाविक भएको बताए ।

पौडेलले नेपालमा तेलको मूल्य वृद्धि भएको विषयलाई अनर्गल ग्रचार गरिरहेको बताउँदै राजनीतिक दल र तिनका भातृ संगठनहरुले यसलाई राजनीतिक विषय बनाएको आरोप लगाए । अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर ७ रुपैयाँ तेलको मूल्य बढ्दा नेपालमा ३ रुपैयाँ मात्र बढाइएको बताउँदै उनले आफूहरुले जनतालाई मारमा नपार्ने बताए ।

कार्यकारी निर्देशक पौडेलले विश्व राजनीतिमा उतारचढाव हुँदा तेलको मूल्य बढिरहेको भन्दै अबको दुई वर्ष तेलको मूल्य स्थिर हुन नसक्ने बताए । उनले निगम गत वर्षको जनवरीदेखि नै घाटामा रहेको बताए । उनले मूल्य बढेपछि अहिलेसम्म ३३ रुपैयाँसम्म मूल्य समायोजन भइसकेको बताउँदै पछिल्लो २ वर्षमा १७÷१८ रुपैयाँ घटाएको बताए ।

कार्यकारी निर्देशक पौडेलले जिम्मेवार सञ्चारमाध्यममा आएका समाचार निगमको कुरालाई विश्वास गर्न पनि आग्रह गरे । उनले निगमले अहिलेसम्म तथ्याङ्क नलुकाएको दाबी गर्दै निगमलाई तथानाम गाली गलौज गर्नु अर्थतन्त्र सिध्याउने काम मात्र भएको बताए ।

कार्यकारी निर्देशक पौडेलले अहिले निगम डिजेलमा प्रतिलिटर १५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र एलपी ग्यासमा ७२० रुपैयाँ नोक्सानमा रहेको बताए । उनले यस आर्थिक वर्षमा निगमले जति नै मूल्य बढाए पनि २० अर्ब नोक्सानमा जाने दाबी गरे ।

कार्यकारी निर्देशक पौडलले यस वर्षमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ सय ४० रुपैयाँ पुग्ने बताउँदै यसमा अन्यथा मान्नु नहुने पनी बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार