चिकित्सक संघद्वारा कानूनमन्त्रीको राजीनामा माग

कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले अध्ययनका लागि बंगलादेश जाने छात्राबारे आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै नेपाल चिकित्सक संघले राजीनामा माग गरेको छ ।

संघले आज विज्ञप्ति जारी गर्दै कानून मन्त्री तामाङले चिकित्सा शिक्षा अध्ययनका लागि बंगलादेश जाने नेपाली छात्रालाई लिएर अमानवीय र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राजीनामा माग गरेको हो । चिकित्सा शिक्षा अध्ययनका लागि बंगलादेश गएका विद्यार्थी र अभिभावकलाई पर्न सक्ने असरप्रति मन्त्री तामाङले नैतिक जिम्मेवार लिई पदबाट राजीनामा दिनुपर्ने संघले जनाएको छ ।

संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षा अध्ययनका लागि बंगलादेश गएका नेपाली महिलामाथि अस्वभाविक र आपत्तिजनक अभिव्यक्ति मन्त्री जस्तो जिम्मेवार पदमा बसेका व्यक्तिले सार्वजनिक गरेका छन् । त्यसको जति निन्दा गरेपनि कमै हुन्छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अभिव्यक्तिले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीहरु र उहाँका अभिभावकहरुलाई पर्न सक्ने सामाजिक तथा मानसिक असरप्रति मन्त्रीले नैतिक जिम्मेवारी लिंदै आफ्नो पदबाट राजीनामा दिई सार्वजनिक रुपमा माफी माग्न संघद्वारा जोडदार माग गरेको छ ।’

Related posts

Leave a Comment