गाईपालनबाट पचास हजार आम्दानी

पाल्पा । रामपुर नगरपालिका–७, मलेङ्गका नारायणप्रसाद भट्टराईले रु एक लाख ऋण लिई शुरु गर्नुभएको गाईपालनबाट अहिले मासिक रु ४० देखि रु ५० हजारसम्म आम्दानी गरिरहेका छन् ।

अहिले भट्टराईको फार्ममा १३ गाई छन् । दैनिक ४० लिटर दूध उत्पादन हुन्छ । दुई वर्ष मलेसिया, तीन वर्ष युनाइटेड अरब इमिरेटस् (युएइ) तथा एक वर्ष कतारमा काम गर्नु भएका भट्टराई गाईपालनको कमाइले सन्तुष्ट छन् । पाँच वर्ष अघि अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाबाट उनले रु एक लाख ऋण लिएका हुन् । उनले एउटा उन्नत जातको गाई खरीद गरी गाईपालनमा हात हालेका हुन् ।

“तीन वर्षमा पूरै सावा ब्याज फिर्ता गरेँ,” उनले भने । भट्टराईले रु १८ हजारमा गाई खरीद गरी गाईपालन थाल्नु भएको हो । दूध बेचेको कमाइले फार्म निर्माण गरेका हुन् । दूध बिक्रीको कमाइबाट उहाँले छोराछोरी पढाउँदै आएका छन् । भट्टराईले प्रविणता प्रमाणपत्र तह तथा उनका श्रीमती यमुना न्यौपानेले स्नातक तहसम्मको अध्ययन गरेका छन् । “विदेशमा भन्दा स्वदेशमै बसेर काम गर्दा मनग्य आम्दानी गर्न सकिन्छ,” यमुनाले भनिन् ।

भट्टराई दम्पतीलाई सधैँ दूध ढुवानीको समस्या हुन्छ । “ किसान आफैले डेरीसम्म दूध ढुवानी गर्नुपर्ने बाध्यता छ । दूधको उचित मूल्य पाउन समस्या छ,” उनले भने । घाँस, दाना, पानी र औषधि उपचारमा सधँै समस्या हुने गरेको छ ।

Related posts

Leave a Comment