छठपर्वको मुख्य विधि मंगलबारदेखि शुरु हुँदै

जनकपुरधाम | प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठपर्वको मुख्य विधि भोलिदेखि शुरु हुँदैछ ।

मुख्य विधिअन्तर्गत पहिलो दिनको विधिमा अरवा–अरवाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ ।

यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास रहेको छ । सूर्यलाई आदि देवतालाई पनि भनिन्छ । मानवमात्रको अस्तित्वपछि सर्वप्रथम उज्यालो दिने, जीउमा गर्मी उत्पन्न गर्ने र रोगब्याधिबाट जोगाउने सूर्य नै रहेको मान्यता पाइन्छ ।

रात्रिको अन्धकारबाट भयभित भएकालाई सूर्यको प्रकाशले त्राण दिने भएकाले आदिकालीन मानवले सूर्यको उपासना र पूजा गर्ने गरेका थिए । उत्तर वैदिककालका मिथिलाका प्रसिद्ध चिन्तक र दार्शनिक याज्ञवल्क्यले सूर्यलाई गुरु मानेका थिए ।

वैदिक साहित्यको मुख्य सार सूर्य उपासना नै हो । वेदमा सूर्यलाई ऐश्वर्य र ऋग्वेदमा सबै देवताको स्रोत, महाभारतमा सम्पूर्ण जगत्का प्राणीसित सम्बद्ध भएको बताइएको छ । सृष्टिका सबै जीव र वनस्पति सूर्यको तापबाट बाँचेका छन् ।

त्यस्तै सूर्योपनिषद्मा ब्रह्मा, विष्णु र रूद्र भनिएको छ । महाभारतमा धर्मराज युधिष्ठिर सूर्य स्तवन गर्दे सूर्यलाई ब्रह्मा, विष्णु र रूद्रका अतिरिक्त इन्द्र, प्रजापति, अग्नि, मनु, प्रभु, चराचर जगत्का पालनकर्ता र मोक्षदाता रूपमा वर्णन गरिएको छ ।

ऐतरेय ब्राह्मण उपनिषद्मा सूर्यको उत्पति सन्दर्भमा सूर्यलाई पार्थिव अन्तरिक्ष एवं दिव्य अग्निको पिण्ड भएको उल्लेख गर्दै अग्निमा सोमको आहुतिबाट सूर्यको उत्पति भएको भनिएको छ ।

यसका अतिरिक्त वैज्ञानिक, ज्योतिषी तथा चिकित्सकले सूर्य तत्वबाट आफ्नो ज्ञान अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेको प्रसंग पनि पाइन्छ । सूर्यको किरणबाट चिकित्साबारे देश– विकासका कैयौँ चिकित्सकले ग्रन्थ लेखेका छन् तथा कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचार खोजिएको छ । अथर्ववेदमा खुट्टा, जोर्नी, तिघ्रा, काँध, मस्तक, कपाल तथा मुटुसम्बन्धी रोगको उपचार उदीयमान सूर्य किरणद्वारा निस्तेज गरिने उल्लेख गरिएको छ ।

सूर्यद्वारा चर्मरोगसम्बन्धी रोगको अचुक उपचार गर्नुका साथै दुसाध्य कुष्ठरोगको मुक्ति पाउनका लागि कैयौँ प्राचीन साहित्यमा उपचार प्रसंग पाइन्छ ।

संस्कृतिविद् डा रामदयाल राकेशका अनुसार साम्बपुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको श्रापले कुष्ठरोगबाट पीडित कृष्णपुत्र साम्ब सूर्यको आराधनाले रोगमुक्त भएको चर्चा गरिएको छ ।

मिथिला क्षेत्रमा कुनै पनि पूजा, अनुष्ठान इत्यादि गर्दा आरम्भमा शुद्धीकरणपछि सर्वप्रथम पञ्चदेवता र विष्णुको पूजा गर्ने प्रचलन छ ।

पञ्चदेवतामध्ये सूर्य पनि एक हुन् । सूर्यलाई आइतबारको देवताको रूपमा पनि चिनिन्छ । जीवनदायी शक्ति सूर्य देवता र छठी माताको उपासना गरी मनाइने यस पर्वको व्रतलाई कठिन व्रत मानिन्छ । अत्यन्त श्रद्धा र निष्ठाले मनाइने पर्व छठ ‘षष्ठी’ शब्दको लोककरण हो ।

सूर्य आरोग्यका देवताका साथै निर्धनताका निबारक पनि मानिन्छन् । छठपर्वमा सूर्यको पूजा अर्चना गर्नु मूल तत्व मानिए पनि छठ परमेश्वरी र भगवान सूर्य उपासनाको सम्मिलित पर्व मानिन्छ । यसरी एउटै आराध्यदेवलाई पुरुष र स्त्री दुवै संज्ञाले भक्तिभाव प्रकट गर्नुको अभिप्राय सृष्टिको प्राकृतिक स्वरूपप्रति सम्मान गर्नु हो ।

पहिला मिथिलाञ्चलमा मात्र सीमित रहेको छठपर्व अहिले राजधानी, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै गएको छ । यो पर्व नै यस्तौ पर्व हो, जुन अवसरमा पूजाघाटमा गाउँ टोलका नरनारी सबै भेला हुन्छन् । यसले एक– अर्काप्रति नजिकिने मौका दिन्छ ।

छठपर्व पारिवारिक जमघटको अवसर पनि हो । परिवारबाट टाढाटाढा बसेका व्यक्ति पनि छठपर्व मनाउन आफ्नो घर फर्कने गर्दछन् । छठपर्वले पारिवारिक मेल र आत्मीयता अभिवृद्धिको अवसर समेत प्रदान गर्दछ ।

छठपर्व कृषि संस्कृतिमा आधारित छ । यो मूलतः मिथिलाको कृषि संस्कृतिको प्रतीक पनि हो । यस पर्वमा धनी, गरिब, उँचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिन्छन्, जसलाई समन्वय र परस्पर सद्भावतर्फ उन्मुख हुने प्रेरणात्मक संकेत मानिन्छ ।

अहिले धेरै संस्कृतिको प्राचीनता र आधुनिकताको रङले केही हदसम्म परिवर्तित गरिसकेको अवस्थामा पनि छठपर्वमा प्राचीन मौलिकताको रूप अझै पर्याप्त सुरक्षित छ । यस पर्वको विशेषता नै हो कि बदलिँदो परिवेशमा पनि परम्पराको क्रम रोकिएको छैन, सदियौँदेखि निरन्तरता पाइरहेको छ ।

आज पनि नदी, पोखरीका किनारमा श्रद्धालु अत्यन्त भक्तिका साथ उदय र अस्त सूर्यको आराधना गरिरहेको देख्दा लाग्छ कतै न कतै कुनै एउटा शक्ति विद्यमान छ, कुनै त्यस्तो आकर्षण अवश्य छ, जसले प्राचीन परम्परालाई अक्षुण्ण राखेको छ । जसले सम्पूर्ण समाजलाई जो आफ्नो विविधामा विभाजित भएर पनि एक सूत्रमा आबद्ध छन्, एकै ठाउँमा सबै वर्ग भेला भएर उपासना गर्दछन् ।

यस प्राचीन परम्पराको दार्शनिक पक्षबाट पूर्णतया अनभिज्ञ रहेकाले पनि जसले भगवान् सूर्य विषयक मन्त्र र उपाख्यानको अध्ययन गरेका छैनन्, उनीहरू पनि उत्तिकै आनन्दित भएर पूजाअर्चनामा तत्पर रहेका देखिन्छन्, यो नै मिथिला संस्कृतिको मूल तत्व हो ।

छठ शब्द षष्ठी शब्दको तद्भव रूप हो । षष्ठीका दिन षष्ठीका देवी समेतको पूजा भएकाले यस पर्वको नाम षष्ठी, छठी र छठ हुन गएको बुझिन्छ ।

यस पर्वमा अस्ताउने र उदाउने सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोका रूपमा लिनु हो । छठमा धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु भनेको ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन भन्ने सन्देश अन्तरनिहित रहेको पाइन्छ ।

सूर्यको उपयोगिता र कृषि संस्कृतिको अपरिहार्यता भएको हुनाले सूर्यप्रति कृतज्ञताको अभिव्यक्ति पनि छठ पर्वले दिन्छ । यसका साथै नारी सर्वोच्चता स्थापित गर्ने र आफ्नै खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता बोध हुन्छ ।

Related posts

Leave a Comment