प्रहरीले पक्राउ गरेको नभई गोरेले आत्मसर्मपण गरेको खुलासा

३८ क्विन्टल  सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई प्रहरीले पक्राउ गरेको नभई आफै आत्मसमर्पण गरेको खुलासा भएको छ । गोरेलाई प्रहरीले मंगलबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा उनलाई मंगलबार बिहान ५ः३० बजे काठमाडौं महानगरपालिका ८ गौरीघाटबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएपनि उनि आफै आत्मसमर्णण गरेको खुलेको हो । घटनापछि नेपालबाट फरार भएका गोरे सोमबारमात्रै काठमाण्डौ आएका थिए कञ्चनपुर नाका हुदैं दिल्लीबाट काठमाण्डौ आईपुगेका गोरेलाई काठमाण्डौसम्म ल्याउन समेत प्रहरीको हात रहेको हुनसक्ने आशंका बढेको छ । गएको बिहिबार मात्रै प्रहरीको खोजीमा रहेका गारेले नेपाल मानवअधिकार संगठनमार्फत एमालेका एक नेताको सहयोगमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको समेत खुलेको छ । गोरेले नेपाल मानवअधिकार संगठनलाई पठाएको पत्र एक्सक्लुसिभ टिभी अन्नपूर्णले हात पारेको छ । पत्रको व्यहोरा र घटनाको प्रकृतिले गोरेको अहिलेसम्म सरकारमा रहेको एमाले माओवादीको नेतृत्व र प्रहरीका उच्च अधिकारीसँग राम्रो उठबस भएको अनुमान छ । प्रहरीको सम्पर्कमा आएका गोरेलाई थप अनुसन्धानका लागि अब छिट्टै विराटनगर पठाइने छानविन समितिका सहसंयोजक तथा गृह मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद पौडेलले बताए। सुन काण्डका बारेमा गोरेबाट थप सूचना मिलेको र यसले अनुसन्धानमा मद्धत मिल्ने पनि उनले बताए। पक्राउ परेका गोरेलाई मोरङ जिल्ला अदालत पठाइने शनम हत्या र सुन तस्करी प्रकरणको मुद्दामा बहस जारी रहेकोले थप अनुसन्धानका लागि उनलार्इ मोरङ जिल्ला अदालतमा उपस्थित गराउने तयारी रहेको समेत जानकारी दिइयो । उनीविरुद्ध ३८ क्विन्टल सुन तस्करी गरेको आरोप लागेको छ । केही समयअघि विमानस्थलबाट बरामद ३३ किलो सुन हराएपछि खुल्दै गएको सुन तस्करीको रहस्यमा उनी नै तस्करीका मुख्य नाइके रहेको बताइन्छ । सुन ओसारपसारमा प्रयोग गरेका मोरङका शनम शाक्यको हत्यामा मुख्य अभियुक्त समेत रहेका गोरे पछिल्लो समय फरार थिए ।

Related posts

Leave a Comment