सुनसान बन्दै जिल्ला सदरमुकाम, बढ्यो गाँउमा चहलपहल

बिमल खड्का, टिभी अन्नपूर्ण ।

मुलुक संघियतामा गएसँगै सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि धौलागिरीका बाग्लुङ, म्याग्दी र पर्वतका सदरमुकाम सुनसान जस्तै बन्दै गएका छन । स्थानीय निकाय बलियो बन्दै जानु र ग्रामिण बस्तीसम्म यातायात सेवाको पहुँच बिस्तार भएपछि मुख्य व्यापारिक केन्द्रहरुमा चहलपहल घटेको हो । मानिसको चहलपहल घटेसँगै बाग्लुङको बाग्लुङ बजार, पर्वतको कुश्मा र म्याग्दीको बेनी बजारमा सञ्चालित व्यवासयले दैनिक गर्नेे लाखौको कारोबार अहिले हजारमा झरेको छ । बजार आउनुपर्ने काम गाँउबाटै हुन थालेपछि आजकल तीनवटै जिल्लाका मानिसहरु बिरलै सदरमुकाम छिर्ने गरेका छन ।
सिंहदरबारको अधिकार गाउँगाउँमा आएसँगै एक टुक्रा पाईप लिन सदरमुकाम धाउँनु परेन, गाउँमै पाईप, विजुलीका पोल, जाली लगाएका विकास निमार्णलाई आवश्यक पर्ने सामाग्री र विनीयोजन भएको बजेट पालिकाबाटै पाईन्छ, स्थानिय तहमा बैंक खुलेपछी समितीहरु सदरमुकाममा धाउँन परेन, बजेट निकास पनि स्थानीय तहमा खुलेका बैंकबाट हुन्छ, बडीगार्ड गाँउपालिकाका अध्यक्ष मेयरसिंह पाईजाले भने । सदरमुकाम छाडेर गाँउ फर्किएपछि ‘रित्ता जीर्ण भएका घर पनि काम लागिरहेका छन, संघीयता कार्यान्वयनपछिको चहलपहलले गाउँमा उमंग छाएको पाईन्छ ।
गाउँपालिकामा चलहपहल बढेका बेला सदरमुकामको व्यापार व्यासायमात्रै होईन सरकारी अड्डासमेत सुनसान छन ।

केही बर्ष पहिलेसम्म तीनवटै जिल्लाका बिकट दुरदराजदेखी दैनिक उपभोग्य सामान खरिदका लागी बजार धाउनेहरु केही समयदेखी सरकारी कामकाजबाहेक सदरमुकाम आउन छाडेका थिए । गतबर्षदेखी संघियताको कार्यन्वयन भएपछि भने यो क्रम झनै घटेको छ । संघियताले सदरमुकाम आउनुपर्ने जनताका कामकाज स्थानीय तहबाटै उपलब्ध हुन थालेपछि सदरमुकाम आवतजावतमा कमि आएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा बताउछन । अहिलेपनि उद्योगधन्दाहरु निरन्तर चलेपनि व्यापारमा भने निक्कै कमि आएको अध्यक्ष शर्माको बुझाई छ । सदरमुकाम बाट हुने फुटकर बिक्री गाँउबाटै हुन थालेपछि कुश्माबजारमा मानिसहरु आउन छाडेपनि यस्तो अवस्था लामो समय नरहने उनको अनुमान छ ।

ग्रमिण वस्तीमा यातायातको पहुँच नहुदाँ दैनिक उपभोग्य वस्तु खरिदका लागी सदरमुकाम आउनुपर्ने बाध्यता थियो । यातायातको सुविधा गाँउघरसम्मै पुगेपछि सदरमुकाममा उपलब्ध वस्तुहरु सोही मुल्यमा आफ्नै घरपायकमा पाईने भएपछि सदरमुकाम शुन्यप्राय जस्तै बन्दैछन । यसबाहेक सरकारी कामकाज लिएर आउनुपर्ने जिल्लावासीको बाध्यता संघियता कार्यन्वयनसँगै टरेको छ ।
स्थानीय तहको सरकार बनेपछि गाउँगाउँमा सरकारी कार्यालय पुगेका छन ्। सदरमुकामबाट हुने धेरैजसो काम गाँउमै हुने हुदाँ सदरमुकामको व्यापार खुम्चिने र गाँउवस्ती चहलपहल देखिन थालेका हुन । लामो समयदेखी जनप्रतिनिधीबिहिन स्थानीय निकायका कर्मचारीसमेत विभिन्न कारण देखाउदैं सदरमुकाममै थन्किएका थिए । निर्वाचनपछि स्थानीय निकायका कामकाज चुस्त समेत देखिन थालेका छन । सचिव मार्फत गराउनुपर्ने सामान्य कामका लागि पनि सदरमुकाममा लाग्ने सेवाग्राहीको भीड आज भोली सबै गाउँपालिका तथा वडा तिर फर्किएको छ । स्थानीय तह भएपछि सदरमुकाममा अल्मलिएर बस्ने राजनीतिक दलका नेता कार्यकर्ता पनि गाउँ फर्किएका छन । सदरमुकामको घट्दो चहलपहलका कारण चिया पसलदेखि होटल, किराना पसल, स्टेसनरी, होटलजस्ता व्यवसाय भने संकटमा परेका छन । बरु यी जिल्लाका स्थानीय तहका सदरमुकाम भने व्यस्त देखिन थालेका छन । सदरमुकाममा केही बर्षदेखी उर्लेको घरजग्गा कारोबार सुस्ताउदाँ स्थानीय सदरमुकाम क्षेत्रका जग्गाको भाउँ भने आकासीएको छ ।

म्याग्दीका दरबाङ, तातोपानी, बाग्लुङका बुर्तिबाङ, बडिगार्ड , ताराखोला र कुश्मिसेरासँगै पर्वतको फलेवास, मल्लाज, जलजला, कार्कीनेटा जस्ता स्थानीय बजार अहिले चम्किएका छन । म्याग्दीका स्थानीय समाजसेवी चन्द्र बहादुर केसी यातायातको सेवा सँगै बेनीबजारमा भन्दा छेऊछेऊमा चहलपहल बढेको बताउछन । म्याग्दी सदरमुकाम हुदैं प्रशिद्ध धार्मिकस्थल मुक्तिनाथ आवतजावत गर्ने भएकाले धौलागिरीका अन्य जिल्लाको तुलनामा बेनीबजारमा यसको कम प्रभाव भएपनि यसलाई कायम राख्न स्थानीय नगरपालिकाले पहल थाल्नुपर्ने केसीको भनाई छ ।


सदरमुकाममा चहलपहल घटेपछि लामो समयदेखी आफ्नो थालथलो छाडेर जिल्ला सदरमुकाम छिरेका धेरै व्यापारीहरु अहिले स्थानीय केन्द्रतर्फ आर्कषित हुन थालेका छन । सदरमुकाम केन्द्रित राजनीति व्यापार वा जाँगिरमा लागेका अधिकांश मानिसहरु समेत अहिले आआफ्ना स्थानीय तहमा स्पेस बनाउन खोजिरहेका छन । संघियताले सरकारी कामकाज स्थानीय तहमा पुग्दा सदरमुकाम आउनेहरुको चाप घटेपनि गुणस्तरीय स्वास्थ्य, शिक्षा रोजगारजस्ता सेवाहरु पुर्णतय स्थानीय तहसम्म पुग्न समय लाग्ने भएकाले सदरमुकाम आउने मानिसहरुको सङ्ख्या चर्चा गरेजस्तै नघट्ने तर्क छ काँग्रेस नेता बसन्त कुमार श्रेष्ठको । श्रेष्ठ भन्छन बाग्लुङ सदरमुकाम धार्मिक तथा पर्यटकिय हिसावले पनि महत्वपूर्ण भएकाले स्थानीयको अभाव पर्यटक भित्राएर पुरा गर्न सकिन्छ जसले बजारको चहलपहलमा कमि आउदैन ।

साविक धौलागिरी अञ्चलका मुस्ताङ, म्याग्दी, बाग्लुङ र पर्वत जिल्ला व्यापारिक मात्रै नभएर पर्यटकीय हिसावले समेत महत्वपूर्ण मानिन्छन । अन्नपूर्ण हिमश्रृखलाका मनोरम दृश्यसँगै, प्रशिद्ध मुक्तिनाथ, गलेश्वरधाम, बाग्लुङ कालिका मन्दिरका कारण आर्क्षित धार्मिक पर्र्यटकका लागी पञ्चकोट धामले थप आकर्षण बढाएको छ । यसका साथै पर्वत सदरमुकामलाई छिमेकी गाँउसँग र बाग्लुङको बलेवासँग जोड्ने नेपालकै अग्ला पुलका कारण अहिले आन्तरिक तथा बाह«य पर्यटकको चाप यी जिल्लामा बढ्दो छ । तत्काल संघियता र यातायात सेवाको सुविधाका कारण सदरमुकाम आउनुपर्ने स्थानीय जनतको बाध्यात्मक अवस्थाको अन्त्य हुनु सकारात्मक छ । यहि कारण सदरमुकाम आवतजावत गर्ने मानिसको घटेको चापपुर्ती गर्न यि क्षेत्रका सम्भावित धार्मिक तथा ऐतिहासिक एंव पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरि सदरमुकाममा आन्तरिक तथा वाह«य पर्यटकलाई आर्क्षित गर्नुपर्ने स्थानीयको माग छ ।

भिडियोको लागि तलको लिंक हेर्नुहोला

Related posts

Leave a Comment