यूएई दूतावासको कारण नेपाली कामदारलाई सास्ती

पछिल्लो समय नेपालस्थित यूएई  दूतावासको कारण त्यहाँ काम गर्न जाने कामदारलाई थप सास्ती हुन थालेको छ । गत फेब्रुअरीदेखि यूएई सरकारले आफ्नो देशमा काम गर्नका लागि भित्रिने सबै देशका श्रमिकहरुको चारिचिक प्रमाणपत्र अनिवार्य गरेको छ । पछिल्लो पटक नेपालसहित भारत, अमेरिका, बेलायत, फ्रान्स, अष्ट्रेलिया लगायतका देशहरुलाई यस्तो व्यवस्था अनिवार्य गरिएको हो । अन्य देशको हकमा यो व्यवस्था पहिलेदेखि नै लागू थियो । सम्बन्धित देशको प्रशासनिक निकायबाट उक्त प्रमाणपत्र प्राप्त गरेपछि मान्यता दिइने भए पनि नेपालको हकमा नेपालमा रहेको यूएईको दूतावासबाट थप प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएको छ । सामान्यतया काम गर्न जाने व्यक्तिको आचरण ठीक रहेको या नरहेको चारित्रिक प्रमाणपत्रलाई प्रमाणीकरण गर्ने काम नेपालको गृह प्रशासन र परराष्ट्र मन्त्रालयको भए पनि हामी आफैं प्रमाणीकरण गछौं भन्दै यूएई सरकारले काठमाडौंको पानीपोखरी स्थित आफ्नो दूतावासबाट जनही रु.४,४०० असुल गरिरहेको छ ।

यूएईबाहेक कतिपय अरु देशमा काम गर्न जाने कामदारहरुले पहिला पनि आफ्नो चारित्रिक प्रमाणपत्र पेस गरेर जाने गरेका थिए, तर उनीहरुले आफू जानु पर्ने देशको दूतावासमा प्रमाणीकरण गर्नुपर्ने नाममा यसरी सास्ती खेपेका थिएनन् । गुल्मीका धनबहादुर सार्की शनिबार दिउँसो दुई बजेदेखि लाइन लागेर बसेका थिए । तर उनले आईतबार १२ बजेसम्म पनि टोकन पाउन सकेनन् । १२ बजे टोकन वितरण सकिइसकेको जानकारी पाएपछि उनी आफ्नो हा तमा रहेको पुलिस रिपोर्ट पट्याएर झोलामा हाल्ने तरखरमा थिए । टोकन नपाइने पक्कापक्की भए पनि लाइन भने हटेको थिएन । प्रमाणपत्र प्रमाणीकरण गराउन जानेहरुको यस्तो अवस्था देखेपछि भीड व्यवस्थापन गरिरहेका एक प्रहरी हबल्दार बेलबहादुर क्षेत्रीसँग केही कुरा गर्न खोज्यौं, तर उनले दूतावास र भीर्आपीहरुको बारेमा आफूले कहिल्यै केही भन्न नमिल्ने बताए ।

 

Related posts

Leave a Comment