सार्वजनिक जग्गामा भाडा असुलेको भन्दै बीजी मललाई तत्काल हटाउन निर्देशन (भिडियो सहित)

राजकुमार विष्ट नवराज श्रेष्ठ ।

काठमाण्डौँ उपत्यका विकास प्राधिकरणले काठमाण्डौँको गोंगबुस्थित बीजी मललाई अतिक्रमण गरी निर्माण गरिएको संरचना र अवरोध तत्काल हटाउन निर्देशन दिएको छ। यस अघि टिभी अन्नपूर्णले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाई लाखौँ भाडा असुलेको समाचार प्रसारण गरे पछि प्राधिकरणले त्यसको छानबिन गर्दा अतिक्रमण गरी संरचना निर्माण भएको पाएको हो । उपत्यका विकास प्राधिकरण ऐन २०४५, मापदण्ड २०६४ अनुसार चत्रपथको केन्द्र रेखाबाट ३१ ३१ मिटर दायाँ बायाँ छाडी मात्र निर्माण कार्य गर्नु पर्ने प्रावधान उल्लेख छ । तर विजि मलले १८ मिटर देखिनै तरबार प्रयोग गरी आवत जावतमा अवरोध सुजना गरी आफ्नो व्यावसायिक प्रायोजनको लागि उपयोग गरेको देखिएको हो । यसै गरी सेट ब्याक र रो भित्र संरचना निर्माण गरी व्यावसायिक प्रायोजनको लागि भाडामा लगाएको थियो । प्राधिकरणको छानबिन समितिले नियम विपरीत संरचना बनेको प्रतिवेदन आए पछि तत्काल अवरोध हटाई मापदण्ड भित्र पर्ने सम्पूर्ण संरचना हटाउन निर्देशन दिएको हो । उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत नरेन्द्र प्रसाद न्यौपानेले विजि मलले मापदण्ड विपरीत निर्माण गरेको संरचना हटाउन पत्र पठाइसकेको जानकारी दिएका छन् । संरचना तथा अवरोध नहटाइए नियमानुसार कारबाही गछौँ उनले भने ।

काठमाडौँ महानगरपालिकाको वडा नं २९ को ८४ नं कित्ता र ३१३,३८०,३८१ नं को कित्तामा निर्माण भएको मलले बाहिरपट्टी अतिक्रमण गरेको थियो । दैनिक लाखौँको कारोबार गर्ने यो मलले चक्रपथको ग्रिनरी एरियामा चेन लगाएर सर्वसाधारण तथा गाडी आवत जावतमा बन्देज लगाएर सार्वजनिक जग्गाको मोटो भाडा असुल्दै आएको थियो ।

सपिङ मलको रूपमा सञ्चालित उक्त मलले चक्रपथ अतिक्रमण गरी तीन ओटा फुड स्टल, बक्स अफिस तथा एटिएम काउन्टर सञ्चालन गरेको छ । मलको आकर्षणको लागि भन्दै सार्वजनिक जग्गाबाट लाखौँ असुल्ने योजना थियो ।विगत २ वर्षदेखि मासिक ९० हजारका दरले मलले संरचना निर्माण गरी सार्वजनिक जग्गाको भाडा असुल्दै आएको थियो।
बीजी मलका सञ्चालक वासुदेव गिरी गोंगबु क्षेत्रलाई आफूले सुन्दर बनाए बापत् सार्वजनिक जग्गाबाट मासिक ९० हजार बढी असुलेको स्वीकारेका छन् । भाडामात्रै होइन गिरीले टहराबाट ९ लाख रुपैयाँ फिर्ता नहुने डिपोजिटको रूपमा लिएको टहरामा पसल गर्दै आएका व्यापारी बताउँछन्। विल भर्पाई समेत केही नदिई सो रकम आफूहरूसँग लिएको महानगरले टहरा भत्काइदिए ऋण गरेर लिएको मोटो रकम गुम्ने पसल सञ्चालकको गुनासो छ । भवनको २० मिटर बाहिरसम्म तार लगाएर व्यावसायिक कार्य गदै आएको बीजी मलले स्थानीयले सो सार्वजनिक स्थानमा कुनै आकस्मिक कार्य गर्न समेत नपाइने उर्दी जारी गरेको थियो । बिजी मलले अतिक्रमण गरेको सार्वजनिक स्थानमा भेला हुन समेत निवेदन बु्झाउनुपर्ने भन्दै सूरक्षागार्डले पैदलयात्रु र सवारी साधन पर्खर्नेहरुलाई समेत हप्काउने गरेका थिए ।

त्यसो त बीजी मल मात्रै होइन, उपत्यकाका विभिन्न ठाँउहरुमा यस्तै अतिक्रमण गरी करोडौँ असुल्नहरुको सङ्ख्या धेरै छ । यसको नियामक निकायहरू महानगरपालिका र जनप्रतिनिधिले चासो नदिँदा यस्ता कार्यहरू नियन्त्रणमा आउन सकेका छैनन् । उपत्यकाका विभिन्न स्थानमा भूमाफियाहरुले सार्वजनिक जग्गा अतिक्रमण गरेको समाचार टिभी अन्नपूर्णमा निरन्तर प्रसारण भएपछि काठमाडौँ महानगरपालिकाले केही स्थानका त्यस्ता संरचना भत्काउने अभियान सुरु गरेको छ । उपत्यकाभित्र ललितपुरको पुल्चोक पार्क, काठमाडौँको बाँसबारी, महाराजगंसँगै बाग्मती र बिष्णुमती कोरिडोरमा जग्गा अतिक्रमणबारे महानगर केही सक्रिय देखिएपनि अन्य स्थानमा चासो नपुगेको गुनासो हुने गरेको छ । अहिले काठमाडौँमा अर्बौँ मूल्य बराबरको सार्वजनिक जग्गा विभिन्न व्यक्ति, समूह र सङ्घसंस्थाले अतिक्रमण गरेको अनुमान छ ।

Related posts

Leave a Comment