सपना देख्नु नराम्रो होइन

पुरुषोत्तम दाहाल ।

सपना कहिल्यै पूरा हुँदैनन् तर मानिसले देख्न पनि छाड्दैनन् । सपना देख्ने स्वतन्त्रता जसकसैलाई छ । अहिले छ महिनाभित्र नेपालमा रेल दौडिएको र दूधकोशीको सिरान सगरमाथासम्म पानीजहाज कुदेको सपना नेपालीले देखिरहेका छन् । घरघरमा ग्यासका पाइपलाइन जोडिएको सपना पनि नयाँ होइन।

एकताका नेपालमा बिपीको सपनाको नारा खुब लाग्यो । नेपाली कांग्रेसका नेता, सदस्य र समर्थकहरूले यो नारा देशभर घन्काएका थिए । अब त बिपीको सपना थाहै हुन छाडेको छ । के थियो उनको सपना ? बिर्सने उपक्रम सुरु भएको छ । कांग्रेसजन आफ्नै सपना बोकेर त्यसमा मात्र अर्जुनदृष्टि दिन लागेका छन् ।

आफ्नो ठूलो महल, आफ्ना छोराछोरीको राम्रो शिक्षा, आफू र आफ्नो परिवारको विदेशी महँगा अस्पतालमा उपचार र पुस्तौँ दरपुस्ताका लागि सम्पत्ति धेरै कांग्रेसको सपना भएको छ । कांग्रेसजनको मात्र होइन बिपीको सपनाका विरोधीमा पनि यस्तै निजी सपना बास हुन लागेको छ ।समुद्रदेखि सगरमाथा जोड्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपनाले देखाएको अर्थको रौँ चिरा खोज्नु जरुरी छैन । किनभने यो भनाइ कुनै नेपालको सामान्य जनतासँग भनिएको होइन । नेपालको लोकतान्त्रिक आन्दोलनको आरम्भदेखि नायकत्व गरी राष्ट्रवादको तातो पुनिउले डामिएको कुनै नेतासँगको सम्वाद पनि होइन।

सबैभन्दा पहिले राजनीतिक दल र तिनका भातृसंस्थालाई भ्रष्टाचारमुक्त गराउने क्षमता सरकारसँग हुनुपर्छ । चुनावमा उठेको चन्दा र गरिएको खर्चलाई पारदर्शी बनाउने योग्यता राख्नुपर्छ।

नेपालको राष्ट्रवादका नयाँ भाष्यकार प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग वसेर गरिएको गम्भीर सम्वादको परिणाम हो । कुनै साहित्यकारले आफ्नो कवितामा आकाश-पाताल, समुद्र सगरमाथा सबैलाई एउटै पृष्टमा, अझ भनौँएउटै वाक्यमा अटाइदिनसक्छ । कविलाई सागर र सगरमाथा जोड्न कुनै कठिनाइ हुँदैन । उसका सामु कुनै वारवन्देज हुँदैन । राजनीतिक सीमाले उसको कलम र कवित्वलाई प्रभाव पार्दैन । यसै पनि सगरमाथा र सागर प्राकृतिकरूपमा निरन्तर जोडिएकै छन् । सगरमाथाबाट नित्य निरन्तर प्रवाहित जलधारा अटुटरूपमा अविश्रान्त सागरमा नै गएर विश्राम लिइरहेको छ । सगरमाथाको पानी सागरसम्म पुगिरहेकै छ।

सागरबाट उठेको तातो वाफ घुम्दैफिर्दै सगरमाथामा पुगेर हिम वर्षा गरिरहेकै हुन्छ । यो क्रम यो भूगोलको निर्माणसँगै सुरु भएको हो । यसमा भारतीय प्रधानमन्त्री वा नेपालका प्रधानमन्त्रीले जोड्ने सपना देखिरहनै पर्दैन ।तैपनि भारतीय प्रधानमन्त्रीले सागरलाई सगरमाथासँग जोड्ने सपना देख्नुभएपछि नेपालका प्रधानमन्त्रीले त्यो सपनाको भारीलाई नेपालमा जसरी पनि विसाउनैपर्ने हुन्छ । सगरमाथासँग सागर जोड्ने विषयलाई हामीले राजनीतिकरूपमा बुझ्यौँं भने त्यो अनर्थ हुन्छ ।

ओलीबाहेक अरुले यस्तो सन्देश लिएर नेपाल फर्केका भए अहिलेसम्म अलिअलि भएका बार भत्किसकेका हुने थिए, अनेक गाडी खरानी भइसकेका हुने थिए र सडकमा नारा लागिरहेको हुनेथियो : मोदी सगरमाथामा दृष्टि नलाउ, सगरमाथा जोड्ने अधिकार तिमीलाई छैन र भनिन्थ्यो– राष्ट्रघाती सरकारले सगरमाथा भारतलाई बेच्न लागेको छ ।

खबरदार, सगरमाथा हाम्रोशीर हो, बेच्न पाइँदैन । तर अहिले साम्यवादीहरूको सत्ता छ र जे गरे पनि राष्ट्रवादकोआवरण छ । प्रधानमन्त्री ओलीले कर्णालीको आँंगन भनेर परिचित रारा पुगेर मोदी सपनासँग आफ्ना सपनाको घोल बनाउँदै नेपाली जनतालाई पिलाउने प्रयास गर्नुभएको छ।

नेपालमा प्रचलित विक्रमादित्यको पहिलो दिन २०७५ वैशाख १ गतेको अवसर पारेर प्रवाहित यो कक्टेल घोलको स्वाद नेपाली जनताले भविष्यमा कसरी ग्रहण गर्ने हुन् भन्न सकिँदैन ।पूर्वीय धार्मिक, आध्यात्मिक,सांस्कृतिक पुनर्जागरणको एउटा युगलाई सम्बोधन गर्दै विशाल भारतमा नेतृत्व दिइरहेका मोदीको चिन्तनसँग सहकार्य गर्न आतुर यो माक्र्सवादी लेनिनवादी विचारबाट निसृत असामान्य राष्ट्रवादी घोल भएको जनताले बुझ्नुपर्छ।

प्रधानमन्त्रीले भारतभ्रमणबाट स्वदेश फर्किएको केही दिनपछि कर्णालीको सुन्दर ताल राराबाट देशवासीका नाउँमा प्रत्यक्ष सम्बोधन गर्दै नेपाललाई पछाडि पार्ने सामन्तवाद इतिहास भएको, पराधीन बनाउने सोच कमजोर भएको र विभाजनकारी शक्ति किनारा लागेको हुनाले अबजनताले ढुक्क भएर नेपाल बनाउनुपर्ने आग्रह गर्नुभएको छ ।राजा महेन्द्रले राराकी अप्सरा भन्ने काव्य नै लेखेर यो तालको गरिमा बढाएका थिए।

यसको सौन्दर्य जसकसैलाई पनि सम्मोहित पार्न समर्थ छ । सौन्दर्यले परिपूर्ण रारा तालको किनारमा नेपाल बनाउन प्रधानमन्त्रीले गरेको आग्रहलाई नेपालीले अस्वीकार गर्ने कुरै भएन ।  नेपाललाई विकसित गराउन नेपाली एकजुट हुनेमा विश्वास गर्नैपर्ने हुन्छ ।दशवर्षे सशस्त्र हिंसा र २०६३ पछिको पट्यारलाग्दो राजनीतिक विवाद अनि संक्रमण अन्त्य भएको छ । २०७४ सालले नेपाललाई शान्ति, स्थिरता, समृद्धि र विकासको नयाँ युगतर्फ डोर्‍याएको छ।

कांग्रेसजन आफ्नै सपना बोकेर त्यसमा मात्र अर्जुनदृष्टि दिन लागेका छन् । आफ्नो ठूलो महल, आफ्ना छोराछोरीको राम्रो शिक्षा, आफू र आफ्नो परिवारको विदेशी महँगा अस्पतालमा उपचार र पुस्तौँ दरपुस्ताका लागि सम्पत्ति धेरै कांग्रेसको सपना भएको छ ।

नेपालसँग अनगिन्ती सम्भावना छन् । तिनलाईसहीरूपमा स्थापित गर्न राजनीतिक स्थायित्व प्रथम सर्त मानिन्छ । यससत्यलाई प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा दोहो¥याउनुभएको छ र प्रतिबद्धतासमेत प्रकट गर्नुभएको छ ।  यो स्मरण र प्रतिबद्धताको सम्मान गर्नैपर्ने हुन्छ । यत्तिमात्र हो,नेपाल बनाउने यो प्रतिबद्धता र आग्रहसंँगै २०४८ सालदेखि २०५१ सम्म एमालेले विकासविरुद्ध चलाएको अराजक आन्दोलनबारे पश्चाताप गरिएको भए सुनमा सुगन्धहुने थियो।

कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी राजधानी ल्याउने सपना देख्दा त्यसलाई निरर्थक प्रमाणित गर्न रत्नपार्कका बार भाँच्न पुगेकामा खेद प्रकट गर्नुपर्ने थियो ।५३ सालमा महाकाली एकीकृत सन्धिलाई संसद्बाट दुईतिहाई मत पुर्‍याउन आफ्नै सहकर्मीलाई जवाफ दिँदै स्वयं ओलीले गर्नुभएको वाचा पूरा नभएकामा क्षमा माग्नुपथ्र्यो ।अरुण तेस्रो योजनालाई लिएर आफ्नो पार्टीले देशविरुद्ध गरेको अपराधप्रतिकेही शब्द खर्चनुपथ्र्यो ।विकासका विषयमा विगतमा भएका गल्तीको समीक्षा हुनुपथ्र्यो ।त्यस्तो केही भएन ।

पानीमाथिको ओभानो हुँदै अबका दिनमा आफ्नो नेतृत्वले मात्र विकासका सपना देखिरहेको र आफूले भन्नासाथ नेपालीहरू गोलबद्ध भएर कुटो-कोदालो बोकी बाटो खन्न दोैडनुपर्छ भन्नु यथार्थवादी सोच हुनसक्दैन ।सामन्तवाद इतिहासको गर्तमा पुगेको घोषणा गर्दैगर्दा पुरानो सामन्तवादले बिदा लिएपनि नवसामन्तवादको जन्म भइरहेको प्रधानमन्त्रीले लुकाउनुभएको छ । हिजोका दिनमा एउटा राजा र राजपरिवारका केही सदस्यको स्थानमा अहिले अनेक राजपरिवारको जन्म भएको छ।

सामन्तवादलाई पुनर्जीवन दिनेगरी शासकीय विधि र व्यवहार प्रयोग भइरहेका छन् ।टाउकोदेखि पुछारसम्मका अनेक राजनीतिक रोजगारलाई पाल्नका लागिमात्रै जनताको टाउकोमा करको भारी बोकाइएको छ । निरीह नेपाली जनता करको भारीमा किचिएर मर्ने अवस्थामा पुग्दैछन् । एकातिर महँगाइ र अर्कातिर राजनीतिक प्राणीहरूको आजीविकाको मार जनतामा थपिएको छ ।आफ्नो पार्टी र त्यसमा पनि आफन्तसँगै आफ्नो गुटलाई सम्पूर्ण नेपाल ठान्ने चिन्तनले नवसामन्तवादको जरो मजबुत बनाइरहेको छ।

हिजोका दिनमा राजा÷महाराजाहरू आफ्ना विश्वासपात्र वा परम्परागत दासहरूलाई मात्र देश विकासको जिम्मेवारीमा राख्थे भने अहिले आफन्त, आफ्नो गुट र निकै टाढा पुगे आफ्नो पार्टीभन्दा बाहिर हेर्ने प्रचलन समाप्त भएको छ । पुरानो सामन्तवादको अन्त्यसँगै उदित नवसामन्तवादको घेरावन्दी आजको नेपाली राजनीतिको यथार्थ तस्बिर हो ।

यस प्रकारको नवसामन्तवादलाई निस्तेज वनाउने योजना प्रधानमन्त्रीले सार्वजनिक गर्नुभएन ।उहाँले भावनामा बहँदै भ्रष्टाचारविरुद्ध सरकार निर्मम र सम्झौताहीन ढंगले प्रस्तुत हुने स्पष्ट गर्नुभएको छ जुन अत्यन्त राम्रो कुरा हो । तर भ्रष्टाचारको मुहान कहाँ छ भनेर बताउने साहस गर्नुभएको छैन । भ्रष्टाचारको विषय विगतसँग तुलनायोग्य हुनुहुँदैन । विगतका सबै प्रयोग सच्याउने र नयाँं प्रस्थानविन्दु खोज्नकै लागि राजनीतिक परिवर्तन भएको हो।

हिजोसँग तुलना गर्नुको कुनै अर्थवत्ता हुँदैन । सबैभन्दा पहिले राजनीतिक दल र तिनका भातृसंस्थालाई भ्रष्टाचारमुक्त गराउने क्षमता सरकारसँग हुनुपर्छ । चुनावमा उठेको चन्दा र गरिएको खर्चलाई पारदर्शी बनाउने योग्यता राख्नुपर्छ । अपारदर्शीरूपमा वटुलेको चन्दाले चुनावमा जय÷पराजय भइरहेको विषयको निक्र्योल नगरेसम्म भ्रष्टाचारको माखेसांग्लो कहिल्यै टुट्नेवाला छै ।

प्रधानमन्त्रीले नेपाली जनतालाई निकै आश्वस्त तुल्याउने गरी पराधीन गराउने सोच कमजोर भएको र विभाजन गराउन खोज्नेहरू किनारा लागेको विचार व्यक्त गर्नुभएको छ । उहाँले यसो भन्दै गर्दा अहिले पनि पराधीन गर्ने र देशलाई विभाजित गर्ने सोच र शक्ति यथावत् रहेको स्वीकार गर्नुभएको छ । कमजोर भएको शक्ति अवसर पाउनासाथ शक्तिशाली हुन्छ र किनारामा लागेको शक्तिले कुनै पनि बेला आफ्नो धार समात्न सक्छ ।

तर उहाँले नेपाललाई पराधीन गराउने सोच कसको थियो र नेपाललाई विभाजन गर्न खोज्ने शक्ति कुन हो त्यो बताउनुभएको छैन । पराधीन गराउने र विभाजन गराउनेहरू देशभित्रै छन् कि देशबाहिरका कोही हुन्? तिनको पहिचान जरुरी छ । उहाँको यो भनाइ कसप्रति लक्षित छ ?नेपाली जान्न चाहन्छन् । प्रधानमन्त्री ओली लच्छेदार शब्दहरूमा भाषण गर्न जान्नुहुन्छ।

उहाँमा उखानटुक्काको राम्रो ज्ञान छ । समय र आवश्यकताअनुसार उहाँ आफ्ना सबै ज्ञानको उपयोग गर्न सिपालु देखिनुहुन्छ । ज्ञानका लागि कुनै विश्वविद्यालयको प्रमाणपत्र आवश्यक पर्दैन । विश्वविद्यालयका प्रमाण पत्रधारीहरु भन्दा प्रधानमन्त्री ओली धेरै अर्थमा योग्य हुनुहुन्छ । यसमा शंका छैन । तर उहाँले जुन सपनाको जालो बुन्नुभएको छ त्यो जालोको भ्रममा जनता निरन्तर परिरहनेछन् भन्नु गलत हुनेछ । यद्यपि सपना सार्थक गराउने प्रधानमन्त्रीको प्रयासमा नेपालीले विमति राख्नु सामयिक हुने छैन ।

Related posts

Leave a Comment