सप्तरीमा धान उत्पादन बर्षेनी घट्दै

अनिल पोखरेल, राजविराज

सप्तरीमा धान उत्पादन बर्षेनी घट्दै जान थालेको छ। जिल्ला कृषि विकास कार्यालय सप्तरीको तथ्यांक अनुसार विगत ४ वर्षदेखि जिल्लामा लगातार धान उत्पादनमा ह्रास आउन थालेको हो ।
जिल्लामा कुल ७० हजार हेक्टर खेतीयोग्य जमिनमध्ये यस वर्ष ५४ हजार ५ सय हेक्टरमा धान बाली लगाइएको थियो । रोपाइँको समयमा पर्याप्त सिँचाइ नहुँदा ७ हजार हेक्टर जमिन बाँझै रह्यो । रोपाइँ भएको धानबाली समेत साउनको दोश्रो र तेस्रो साताको बाढीले पुरेपछि कतिपय किसानले धानबाली उठाउनै पाएनन् ।
करिब ८ हजार ५ सय हेक्टर धानबाली बाढीले बगाएको र बाँकी रहेको बालीवाट किसानले कुल १ लाख ४९ हजार ८ सय ७५ मेट्रिकटन धान उत्पादन गरेको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ । यस वर्ष सरदर २ दशमल ७५ मेट्रिकटन प्रतिहेक्टरका दरले धान उत्पादन भएको कृषि विकास अधिकृत भागीरथ यादवले जानकारी दिए ।
सप्तरीमा धानबालीमा क्षति भएको र उत्पादन घटेको यो पहिलो वर्ष भने होइन। कृषि विकास कार्यालयको तथ्यांक हेर्दा हरेक वर्ष धानको उत्पादकत्व घट्दो दरमा छ। आर्थिक वर्ष ०७०/०७१ र ०७१/७२ मा जिल्लामा औसत ३ दशमलव ५ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको थियो । आव २०७३/०७४ उत्पादकत्व घटेर २ दशमलव ५ मैट्रिकटन प्रतिहेक्टरमा पुगेको कार्यालयले जनाएको छ ।
‘धान उत्पादनको यो दर अत्यन्तै निरासाजनक हुदै गएको कृषि विकास अधिकृत यादवको भनाई छ । ‘खेती प्रणालीलाई वैज्ञानिकीकरण गर्दै सिँचाइ, मल लगायत आवश्यक व्यवस्था गर्न सके सप्तरीमा धान उत्पादनको दर प्रतिहेक्टर ४ देखि ५ मेट्रिकटनसम्म पुर्याउन सकिने यादवले बताए ।’
रोपाइँको समयमा सिँचाइ अभाव, त्यसपछिको बाढी अनि पानीको आवश्यक पर्ने समयमा लगातार खडेरी पर्दा धानको उत्पादन घट्दै गएको उनी बताउँछन्। हरेक वर्ष सिँचाइ प्रणालीमा कुनै न कुनै समस्या आउने, समयमा वर्षा नहुने र विभिन्न विकल्प अपनाएर रोपाइँ गरिहाले पनि मल–खादको समस्या तथा बाढी र खडेरीका कारण उत्पादनमा असर गर्ने समस्याले सप्तरीका किसान पीडित छन् ।
सप्तरीमा ५६ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनलाई सिञ्चित क्षेत्र मानिन्छ। जिल्लामा चन्द्रनहर, कोसी पश्चिमी नहर र कोसी पम्पनहर प्रणाली गरी तीन वटा ठूला सिँचाइ प्रणाली र ग्रामीण पूर्वाधार विकास कार्यक्रम तथा सिँचाइ सेक्टर अन्तर्गतका अन्य साना–तिना सिँचाइ पूर्वाधार पनि छन् । तर, अधिकांश सिँचाइ प्रणालीको अवस्था जीर्ण र अस्तव्यस्त हुँदा हरेक वर्ष सिँचाइ अभावकै कारण १० देखि ४० हजार हेक्टरसम्म खेतीयोग्य जमिन बाँझो रहन्छ ।
कृषि विकास कार्यालयकै तथ्यांक अनुसार आर्थिक वर्ष ०७०/०७१ मा ६० हजार २ सय हेक्टर, ०७१/०७२ मा ४२ हजार हेक्टर र ०७२/०७३ मा ३२ हजार ९ सय हेक्टरमा मात्रै धान बाली लगाइएको थियो। यसरी हेर्दा आव ०७०/७१ मा ९ हजार ८ सय हेक्टर,०७१/०७२ मा २८ हजार हेक्टर र ०७२/०७३ मा ३७ हजार १ सय हेक्टर जमिन बाँझो रहेका कारण पनि उत्पादन घटेको कृषि विकास कार्यालयले जनाएको छ ।
धान उत्पादनमा कमि आउन थालेपछि सप्तरीका किसान निरास छन्। खासगरी जिल्लाको पश्चिम–दक्षिण भेगका किसानहरु खडेरीको मारमा पर्ने गरेका छन् भने भने पूर्वी र दक्षिणी भेगका किसानलाई हरेक वर्ष बाढीले सताउने गरेको छ ।
‘सिँचाइ सुविधा छैन, समयमा वर्षा पनि हुँदैन । जसोतसो रोपेको धान पनि कि त बाढीले लान्छ, कि त खडेरीले डढाउँछ,’ राजविराज–१३, भेल्हीका वल्लीप्रसाद यादव भन्छन्, ‘अब त खेतीप्रतिको मोह नै हरायो ।’


अनेक समस्या खेपेर लगाइएको धानखेतीबाट सन्तोषजनक उत्पादन नभएपछि पछिल्लो पुस्ताले खेती गरेर जिविका चलाउने सोच नै परिवर्तन गरेको उनको बुझाइ छ । ‘गाउँका युवालाई खेतीपाति भन्दा विदेशको मोहले ताने पछि धान तथा अन्नवाली उत्पादनमा कमी हुदै गएको बताउदै उनले प्रश्न गरे, ‘श्रम गर्न सक्ने युवा विदेशीन लालायित भएपछि कसको भरमा खेती गर्नु? खेती गर्नेभन्दा पासपोर्ट बोकेर बिदेशिने धेरै भएपछि खेती त बाँझो हुने नै भयो ।’
खेती प्रणालीमा देखिएका समस्याको समाधान, उत्पादनको उचित मूल्य र बजारीकरण तथा खेतीमै आत्मनिर्भर बन्न सक्ने वातावरण तयार नभए विस्तारै खेतीयोग्य जमिन बाँझै रहने र जीवन निर्वाहका लागि विदेशी भूमिमै पुग्नुपर्ने वाध्यताले सप्तरीलाई गाँज्ने यस क्षेत्रका जानकारहरुले बताए ।

Related posts

Leave a Comment