रसुवागढी नाकाबाट १४ ट्रिपर नेपाल भित्रिए

चीनबाट रसुवागढी नाका हुँदै बुधबार १४ वटा ट्रिपर गाडी नेपाल भित्र्याइएका छन्। नम्बर प्लेट राखि नसकिएका पहेंलो रङका ती ट्रिपर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ल्याइएका हुन्। साङहाई ग्रिन इन्टरनेसनल लजिस्टिक कम्पनीले मंगलबार १४ ट्रिपर विमानस्थल निर्माणका लागि भित्र्याएको हो। साङहाई कम्पनीले विमानस्थलका लागि आवश्यक उपकरण र सामान भित्र्याइरहेको छ। कम्पनीका लागि रसुवागढी नाकास्थित भन्सार एजेन्ट दोर्जे तामाङका अनुसार केही समययता निर्माण उपकरणलगायत सामान भित्रिइरहेका छन्। ‘यही सातामात्रै मजदुरका लागि चाहिने सामान आएको थियो’, उनले भने।विमानस्थलको ठेक्का लिएको चिनियाँ कम्पनी सीएएमसीईका जनसम्पर्क अधिकृत कृष्ण चापागाईंका अनुसार जमिन सम्याउने प्रयोजनका लागि ती सामान भित्र्याइएका हुन्। ‘अहिले जमिन सम्याउने र ड्रिनेजको काम भइरहेको छ’, उनले भने, ‘बर्खा सकिएपछि धावनमार्ग र टर्मिनल भवनको काम सुरु हुन्छ। अहिले विमानस्थलको १५ प्रतिशत काम भइसकेको छ।’सीएएमसीईका इन्जिनियर अभिषेक उलकले निर्माणका लागि आवश्यक हेभी उपकरण यसअघि नै २० वटा एक्साभेटर र रोलर ल्याइसकेको बताए। अहिले आएजति ट्रिपर, एक्साभेटर र रोलर पर्याप्त हुने र अबचाहिँ अरु निर्माण सामग्री आवश्यक पर्ने उनको भनाइ छ। ‘बर्खा सकिएपछि निर्माणको बढी काम हुने हुँदा त्यतिबेला चाहिने सामान फेरि विदेशबाट ल्याइनेछ’, उनले भने।

Related posts

Leave a Comment