रासायनिक अस्त्र विज्ञहरूद्वारा सिरियामा अनुगमन

सिरियाको राजधानी दमास्कसनजिक रहेको रासायनिक हमला भएको भनिएको स्थानको रासायनिक अस्त्रसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञहरूले अन्ततः अनुगमन गरेका छन्।रासायनिक अस्त्रको प्रयोग निषेध गर्ने सङ्गठन ओपीसीडब्ल्यूको एउटा टोली शनिवार डुमा नगर पुगेको हो।सो टोलीले त्यहाँ नमुना तथा अन्य वस्तुहरूको संकलन गरेको छ।सिरियाली सरकारी पक्षबाट विद्रोहीहरूको बलियो पकडक्षेत्र मानिएको डुमा नगरमा एप्रिल ७ मा रासायनिक हमला गरेको भनिएको जवाफस्वरूप गत शनिबार पश्चिमा शक्तिहरूले सिरियाविरुद्ध क्षेप्यास्त्र हमला गरेका थिए।विद्रोहीहरु बाहिरिएपछि अहिले भने डुमा नगर सिरियाली सरकार र रुसको नियन्त्रणमा रहेको छ र दुवै पक्षले त्यस्तो रासायनिक हमला भएको अस्वीकार गर्दै आएका छन्।ओपीसीडब्ल्यूले एक प्रेस विज्ञप्ति जारी गर्दै उसको टोलीले एप्रिल ७ मा बमबारी गरिएको भनिएको दुई स्थानमध्ये एक स्थानको भ्रमण गरेको जनाएको हो।नाम नखुलाइएको ‍ती नमुना विश्लेषण हेगको बाहिरी भेगमा रहेको ओपीसीडब्ल्यूको प्रयोगशालामा पठाइने अनि त्यसपछि निश्चित प्रयोगशालाहरूमा नमुना जाँच तथा विश्लेषण हुने ओपीसीडब्ल्यूले जनाएको छ।अन्य सूचना तथा सामग्रीहरू पनि अनुगमनकर्ताहरूले संकलन गरेको सो संगठनले बताएको छ।ओपीसीडब्ल्यूको नौ सदस्यीय टोलीले डुमा नगरभित्र पहुँच पाउने अनुमति प्राप्त गर्नका लागि एक हप्तादेखि राजधानी दमास्कसमा प्रतीक्षा गरिरहेको थियो।

Related posts

Leave a Comment