राप्रपा पुनर्गठनमा पूर्वराजाको प्रयास्, पुरानो नेतृत्व पाखा लाउने तयारी

पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्र विभिन्न भेटघाटमा व्यस्त छन् । केहि दिनदेखि पूर्वमा रहेका उनि केहिदिन अघि पश्चिम र भारतमा समेत एक हप्ता बढि बसेर आएका हुन् । उनको भेटघाटलाई लिएर विभिन्न अट्कल बाजी भईरहेका छन् । उनको सक्रियतालाई कतिले राजनीतिक चलखेलमा समेत लिएका छन् ।
पूर्वराजा शाह राष्ट्रिय प्रजातन्त्र पार्टीको पुनगर्ठन गर्ने अभियानमा सक्रिय बनेको बताईएको छ । यसैक्रममा उनले आइतबार साँझ झापामा राप्रपाका विभिन्न तीनवटा गुटका ९ जना नेतालाई बोलाएर सामुहिक छलफल गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र यतिबेला झापाको दमकस्थित उनकै स्वामित्वमा रहेको हिमालय चिया बगानमा बसिरहेका छन् । उनी अझै केही दिन त्यहि रहनेछन् । र, ११ गते बिराटनगरमा आयोजित एक कार्यक्रममा सहभागी हुनेछन् ।
झापा पुगेका पूर्वराजासँग पार्टी पुनगर्ठनबारे छलफल गर्न राप्रपाका विभिन्न गुटका नेताहरु काठमाडौंबाट आइतबार साँझ चियाबगानमा पुगेका थिए । साँझ ३ घण्टासम्म चलेको छलफलमा राप्रपाका बुद्धिमान तामाङ, भास्कर भद्रा र प्रल्हाद शाह थिए ।
त्यसैगरी पशुपतिसमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकका नेताहरु राजाराम श्रेष्ठ, सुरेश आचार्य र सगुन लावती पूर्वराजासँगको छलफलमा सहभागी थिए ।
डा. प्रकाशचन्द्र लोहनीको राप्रपा राष्ट्रवादी पार्टीका तर्फबाट केशव श्रेष्ठ, तारा लुँईटेल र डा. सुष्मा आचार्य पनि पूर्वराजालाई भेट्ने टोलीमा सहभागी थिए ।
राप्रपाका तीनवटै गुटका तीनतीनजना गरि ९ जना नेताहरुसँग पूर्वराजाले सामुहिक रुपमा तीन घण्टासम्म छलफल गरेको राप्रपा स्रोतले जनाएको छ ।
बेठकमा पूर्वराजाले भनेको कुरा उल्लेख गर्दै एक नेताले भने ‘म धेरैतिर जाँदा पार्टी फुटेको गुनासो गर्छन् यसले गर्दा कमजोर भयो, अब एउटा टार्गेट बनाएर तपाईहरु अगाडि बढ्नोस् ।’
भेटका क्रममा पूर्वराजा ज्ञानेन्द्रले राप्रपाका सबै समूहहरु एक हुनुपर्ने र पार्टी पुनर्गठन गरिनुपर्ने निर्देशन दिएको उनले बताए ।
पूर्वराजासँगको भेटमा राप्रपाका तीनवटै गुटका नेताहरुले आफ्नो पार्टीको शीर्ष नेतृत्वको आलोचना गरेका थिए । ठूला नेतावीच जुँगाको लडाइँ चलेका कारण पार्टी फुटेको र चुनावमा पराजय व्यहोर्नुपरेको नेताहरुले पूर्वराजालाई गुनासो सुनाएका थिए ।
अब पशुपतिसमशेर, कमल थापा र प्रकाशचन्द्र लोहनीलाई मुख्य नेतृत्वबाट हटाएर युवा पुस्ताले पार्टी नेतृत्व सम्हाल्नुपर्ने र तीनवटै समूहलाई एकीकरण गरी राजतन्त्रको पक्षमा अघि बढ्नुपर्ने आवश्यकता रहेको नेताहरुले ज्ञानेन्द्रलाई रिपोर्टिङ गरेका थिए ।
यही रणनीतिअनुसार पूर्वराजाको आशिर्वाद थापेर राप्रपाका नेताहरु सोमवार काठमाडौं फर्किएको जनाईएको छ । अब ज्ञानेन्द्रसँगको छलफलअनुसार तीनवटै पार्टीमा मुख्य नेतृत्वविरुद्ध विद्रोहको तयारी थालिने स्रोतको दाबी छ ।
यसअघि पूर्वराजा ज्ञानेन्द्रले नेपालगञ्जमा रहँदा त्यहाँ पनि राप्रपाका पुराना नेताहरुसँग छलफल गरेका थिए । त्यहाँ उनले काठमाडौंबाट बोलाएर कमल थापासँग पनि पार्टी पुनर्गठनबारे कुराकानी गरेका थिए ।
ज्ञानेन्द्रको राजनीतिक चासो
राप्रपा नेताहरुका अनुसार पूर्वराजा ज्ञानेन्द्र अब आफूले केही गर्नुपर्ने भन्दै पूर्वराजावादीहरुको दल निर्माणमा सक्रिय बन्न थालेका छन् ।
तथापि यो शक्तिले अझै पनि आफ्नो पुनरागमनका लागि गतिविधि जारी राख्ने संकेत भने देखिएको छ । पूर्वराजा आफैंले राप्रपाका विभिन्न समूहका नेताहरुसँग सामुहिक छलफल गर्नुले उनमा र उनका अनुयायीहरुमा रहेको राजनीतिक ‘भोक’ सहजै देख्न सकिन्छ ।
यसवीचमा पूर्वराजाले भारतको भ्रमण गरेर युपीका मुख्यमन्त्री आदित्यनाथसँग पनि भेट गरिसकेका छन् ।
राजगद्दी छाडेर नागरिक बनिसकेका ज्ञानेन्द्रले राजनीतिमा आउन चाहे भने त्यो उनको संवैधानिक एवं नागरिक अधिकारको विषय हो ।
तर, राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको बिहेको निम्तो मान्दै शीतलनिवास पुगेर पूर्वराजाले गणतन्त्रलाई भावनात्मक रुपमा स्वीकार गरिसकेका छन् । यद्यपि त्यसपछिका आफ्ना अभिव्यक्तिहरुमा भने उनले ‘अब समय आयो’ भन्ने गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रसँग राजनीतिक सुझबुझ र कला नभएकाले उनले चाहँदैमा नेपालमा तत्कालै त्यस्तो फोर्सको पुनरुत्थान सहज देखिँदैन । त्यसैले उनी आफैं राजनीतिको मैदानमा उत्रिए पनि परिस्थिति पछाडि फर्किएला भनेर अनुमान लगाउन राप्रपाकै नेताले समेत सकेका छैनन् ।

Related posts

Leave a Comment