सार्वजनिक जग्गामा भाडा असुल्दै बीजी मल, यस्तो छ वास्तविकता

राजकुमार विष्ट/नवराज श्रेष्ठ, टिभी अन्नपूर्ण  । 

राजधानीको गोंगबुस्थित बीजी मलले सार्वजनिक जग्गाको  चरम अतिक्रमण गरेको रहस्य खुलासा भएको छ । दैनिक लाखौँको कारोबार गर्ने यो मलले चक्रपथको ग्रिनरी एरियामा चेन लगाएर सर्वसाधारण तथा गाडी आवत जावतमा बन्देज लगाएर सार्वजनिक जग्गाको मोटो भाडा असुलेको समेत खुलासा भएको हो । बाहिरबाट जतिसुकै सुन्दर देखिएपनि यसका भित्री क्रियाकलापले यसको वास्तविक सुन्दरतालाई कुरुपजस्तै बनाएको छ । व्यवसायिक प्रयोजनका लागि स्थानीय व्यापारीले बनाएको बीजी मलले सार्वजनिक जग्गा अतिक्रमण गरेको खुलासा भएपछि यसको कुरुपता उजागर हुन थालेको हो ।

सपिङ मलको रुपमा संचालित उक्त मलले चक्रपथ अतिक्रमण गरी तीन ओटा फुड स्टल, बक्स अफिस तथा एटिएम काउण्टर सञ्चालन गरेको छ  । मलको आकर्षणको लागि भन्दै सार्वजनिक जग्गा बार बन्देज गरेर मासिक लाखौ असुल्न थालेपछि स्थानीयले यसको चर्काे विरोध गरेका छन् । सार्वजनिक भवन निर्माणका बेला समेत सार्वजनिक जग्गा मिचेर निमार्ण गरेको भन्दै महानगरपालिकामा उजुरी लिएर पुगेका स्थानीयलाई महानगरले थामथुम पारेर फर्काएको उनीहरुको आरोप छ । भवन निर्माणकै बेला सार्वजनिक जग्गा अतिक्रमण गरेको आरोप लागेको बीजी मलले महानगरका कर्मचारीसँग मोटो आर्थिक चलखेल मार्फत तत्काल विवाद साम्य पारेपछि गएको २ वर्षदेखि मासिक ९० हजारका दरले सार्वजनिक जग्गाको भाडा असुल्दै आएको छ ।

बीजी मलका सञ्चालक वासुदेव गिरी गोंगबु क्षेत्रलाई आफुले सुन्दर बनाए बापत् सार्वजनिक जग्गाबाट मासिक ९० हजार बढी असुलेको स्वीकारेका छन् । साथै गिरीको प्रश्न छ . यो देशमा कानुन कसले मानेको छ ? कलंकीदेखि कोटेश्वरसम्म यसैगरी अनुगमन गरेपछि कोही बाँकी रहने छैनन् । भाडामात्रै होइन गिरीले सार्वजनिक जग्गामा टहरा बनाएर बेचेबापत मोटो रकम समेत असुलेका छन । बीजी मल सञ्चालकले ती टहराबाट ९ लाख रुपैयाँ फिर्ता नहुने डिपोजिटको रुपमा समेत लिएको टहरामा पसल गर्दै आएका व्यापारी बताउछन् । विल भर्पाई समेत केही नदिई सो रकम आफूहरुसँग लिएको र जुनसुकै बेला महानगरले टहरा भत्काइदिए आफ्नो रोजी रोटीसहित ऋण गरेर लिएको मोटो रकम समेत गुम्ने पसल सञ्चालकको गुनासो छ । यसरी गएको २ बर्षदेखि खुलेआम रुपमा जग्गा अतिक्रमण गरी २० लाख बढी ठगी भइरहेकोमा नियामक निकाय महानगरले मौन सर्मथन गरेको देखिएको छ । काठमाडौँ महानगरपालिकाको वडा नं २९ को ८४ नं कित्ता र ३१३,३८०,३८१ नं को कित्तामा निर्माण भएको मलले बाहिरपट्टी १.५ मिटर अतिक्रमण गरी भवननिर्माण गरेको भन्दै महानगरमा परेको उजुरीमा समेत महानगर मौन बसेको स्थानीयको आरोप छ ।

स्थानीयको उजुरीलाई महानगरले बेवास्ता गरेपछि हौसिएको बीजी मल व्यवस्थापनले महानगरका कर्मचारीको मिलेमोतोमा थप जग्गा अतिक्रमण गरि लाखौँ रकम असुल्दै आएको धेरैको अनुमान छ । भवनको २० मिटर बाहिरसम्म तार लगाएर मलका व्यवसायिक कार्य गदै आएको बीजी मलले स्थानीयले सो सार्वजनिक स्थानमा कुनै आकस्मिक  कार्य गर्न समेत नपाईने उर्दी जारी गरेको छ । बिजी मलले अतिक्रमण गरेको सार्वजनिक स्थानमा स्थानीय भेला हुन समेत  सञ्चालकसँग पहिलेदेखि नै निवेदन बु्झाउनुपर्ने भन्दै त्यहाँका सूरक्षा गार्डले पैदलयात्रु र सवारी साधन पर्खर्नेहरुलाई समेत हप्काउने गरेका छन ।

बीजी मलले सार्वजनिक जग्गाको अतिक्रमण गरी लाखौँ असुले पनि महानगर भने अहिले सम्म मौन छ । काठमाडौँ महानगरपालिका वार्ड नं २६ का अध्यक्ष ख्याम प्रसाद तिवारी आफूले अतिक्रमणको विषयमा चासो दिएको तर यकिन तथ्य प्राप्त नभएकाले तत्काल कारवाही गर्न नसकेको बताउछन । सार्वजनिक जग्गा अतिक्रमण हुनु दुखद् भएकोले कुनै हालतमा सहन नसकिने र तथ्य खोजेर कारवाही गर्ने तिवारीको भनाई छ । महानगर प्रहरीका प्रमुख बिष्णु जोशीले भने बीजी मलले सार्वजनिक जग्गा अतिक्रमण गरेको उजुरीका आधारमा टहरा निर्माण भएकै अवस्थामा महानगरले निमार्ण सामग्री समेत जफत गरेको बताए । फेरी सोही स्थानमा टहरा बनाएर भाडा असुलेको बारे भने जानकारी नभएको भन्दै यदि त्यस्तो भए तुरुन्तै हटाइने प्रतिक्रिया दिएका छन् ।

त्यसो त बीजी मल मात्रै होइन, उपत्यकाका विभिन्न ठाँउहरुमा यस्तै अतिक्रमण गरी करोडौँ असुल्नहरुको संख्या धेरै छ । यसको नियामक निकायहरु महानगरपालिका र जनप्रतिनिधिले चासो नदिँदा यस्ता कार्यहरु नियन्त्रणमा आउन सकेका छैनन् । उपत्यकाका विभिन्न स्थानमा भूमाफियाहरुले सार्वजनिक जग्गा अतिक्रमण गरेको समाचार टिभी अन्नपूर्णमा निरन्तर प्रशारण भएपछि काठमाण्डौ महानगरपालिकाले केही स्थानका त्यस्ता संरचना भत्काउने अभियान शुरु गरेको छ । उपत्यकाभित्र ललितपुरको पुल्चोक पार्क, काठमाडौँको बाँसबारी, महाराजगंसँगै बाग्मती र बिष्णुमती कोरिडोरमा जग्गा अतिक्रमणबारे महानगर केही सक्रिय देखिएपनि अन्य स्थानमा चासो नपुगेको गुनासो हुने गरेको छ । अहिले काठमाडौंमा अर्बौँ मूल्य बराबरको सार्वजनिक जग्गा विभिन्न व्यक्ति, समूह र संघसंस्थाले अतिक्रमण गरेको अनुमान छ ।

 

Related posts

Leave a Comment