पूर्वराजासँगको भेटपछि फेरिए कमल थापा, फेसबुकबाट लेखे यस्तो कुरा

पूर्वराजा ज्ञानेन्द्र शाहले तीनओटै राप्रपालाई मिलाएर एउटै पार्टी बनाउने रणनीतिमा लागेका छन् । राजावादी शक्तिहरु फुट्दा आफ्नो संभावना पनि क्षीण भएको र ३ वटै पार्टी कमजोर भएको भन्दै एक ठाउँमा जुटाउन पहल गरेका हुन् । पूर्वराजासँगको भेटमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि पार्टी एकता हुन सक्ने संकेत दिएका छन् । थापाले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीसँग एकता हुन सक्ने उल्लेख गरेका हुन् । ‘राजसंस्थाप्रति हाम्रो आस्था र सम्मान यथावत् छ । पशुपतीजी र प्रकाशजीसँग एकता हुनसक्छ । तर, चौथो ठूलो शक्ति भइसकेको र पहिलो र दोस्रो हुनसक्ने राप्रपालाई एजेण्डा छोड्यो भनेर हल्ला गर्ने, नेतृत्वलाई बदनाम गर्ने र अन्ततः पार्टी फुटाउन निर्णायक भूमिका खेल्ने कथित भजनमण्डलीसँग भने सतर्क हुनुपर्छ,’ थापाले लेखेका छन् ।

 

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनअघि तीन टुक्रामा विभाजित राप्रपा राष्ट्रिय दलको हैसियतसमेत पाउनबाट वञ्चित भएको छ । राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले झापा ३ बाट वाम गठबन्धनको सहयोगमा निर्वाचन जितेका छन् । तीन हप्ते पूर्व क्षेत्रको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह तीनवटा राप्रपाका अध्यक्षसँग भेटेर चर्चामा आएका छन् । झापा पुगेर नौ दिनसम्म आफ्नो चिया बगान हिमालयन टी स्टेटमा बिताएका पूर्वराजा त्यसपछि केही दिन मोरङ र सुनसरीमा धार्मिक गतिविधिमा संलग्न रहे । सोमबार हिमालयन टी स्टेटमै पूर्वराजाले राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र राप्रपा एकीकृतका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीसँग भेटेका थिए । पूर्वराजा शाहले अपराह्न ४ साँझ ७ बजेसम्म लन्चसहित छलफल गरेका थिए ।

राप्रपामा देखिएको गुट र फुटले कसैको हित नभएको भन्दै पुनः एकीकरणमा जान पूर्वराजाले नेताहरूलाई सुझाएका थिए । ‘म तपाईंहरूका पार्टीको संरक्षक पनि होइन, म राजनीतिमा छैन, राजनीति गर्ने पनि होइन, तर आज तपाईंहरू गुट बनाएर, फुटेर कसैको हित भएन भन्ने प्रमाणित भयो,’ पूर्वराजाको भनाइ थियो, ‘त्यसबारे सोच्नुस् । म धेरैतिर जाँदा पार्टी फुटेको गुनासो गर्छन्, यसले गर्दा कमजोर भयो, अब एउटा टार्गेट बनाएर तपाईंहरू अगाडि बढ्दा उपयुक्त हुन्छ ।’ उनले राप्रपाका सबै समूह एक हुनुपर्ने र पार्टी पुनर्गठन गरिनुपर्ने बताएका थिए ।

Related posts

Leave a Comment