मुलुकको प्रशासन निर्वाचन आयोग मातहत हुनुपर्छ: पूर्वप्रम चन्द

काठमाडौँ |

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगको मातहत सम्पूर्ण प्रशासन रहनुपर्ने धारणा राख्नुभएको छ ।

आज रिपोर्टर्स क्लब नेपालको देउसी टोलीसँग आफ्नै निवास लोकन्थलीमा कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले आफू अहिले बोल्ने मुडमा नभएको उल्लेख गर्दै भन्नुभयो, “म त नबोल्ने पक्षमा हुँ, तर एउटा कुरा के हो भने निर्वाचन भएर मात्रै भएन, स्वतन्त्र पनि हुनुप¥यो, धाँधली हुनुभएन, अहिले हेर्नुहोस् त व्यवस्थापनप्रति कत्रो आलोचना छ ।” उहाँले निर्वाचन आयोगको मातहतमा मुलुकको गृह प्रशासन तथा सरकारी प्रशासन नरहीकन भएका विगतका निर्वाचन पनि निष्पक्ष नभएको दृष्टान्त पेश गर्नुभयो । त्यति मात्रै नभएर उहाँले निर्वाचन आयोगको कामकारबाहीप्रति पनि आफ्नो असन्तुष्टि पोख्नुभयो ।

उहाँले भन्नुभयो, “आयोगमा पनि दरिलो मान्छे हुनुप¥यो, आज एउटा बोल्ने भोलि अर्को बोल्ने हुनुहुँदैन ।”

यसैगरी, आपूर्ति मन्त्री जयन्त चन्दले निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित वातावरणमा सम्पन्न हुने विश्वास दिलाउनुभएको छ ।

आज सोही देउसी टोलीसँग आफ्नै निवास लोकन्थलीमा कुरा गर्दै उहाँले भन्नुभयो, “निर्वाचन निष्पक्ष, धाँधलीरहितरुपमा सम्पन्न हुनुपर्छ, मंसिर १० र २१ गते दुई चरणमा हुने निर्वाचन निश्चित भइसकेको छ ।”

त्यस्तै, उहाँले आफूले सम्हालेको आपूर्ति मन्त्रालय महत्वपूर्ण मन्त्रालय रहेको उल्लेख गर्दै आपूर्ति चुस्त दुरुस्त बनाउन आफूले कुनै कसर बाँकी नराखेको समेत बताउनुभयो ।
उहाँले बजारमा देखिएको कालोबजारीको अन्त्य गरिने बताउँदै कृत्रिम अभाव सिर्जना गर्ने जो कोहीलाई कडा कारबाही गर्नेसमेत चेतावनी दिनुभयो ।

Related posts

Leave a Comment