नेप्से फेरी ओरालोतिर

साताको पहिलो दिन आइतबार शेयर बजार परिसुचक नेप्से घटेको छ । गतसाताको अन्तिम तीन दिन लगातार उकालो लागेको नेप्से आज ९ दशमलव ४० अंकले घटेर १ हजार २ सय ७८ दशमलव ९६ को बिन्दुमा पुगेर बजार बन्द भएको हो । आइतबार कारोबारमा आएका सबै समूह राताम्मे भएपछि समग्र बजार ओरालो लागेको हो । जसमध्ये होटल समूह सबैभन्दा उच्च अंकले घटेको छ । आज होटल समूह ७० दशमलव ७६ अंकले झरेको छ । त्यस्तै बीमा समूह ५२ दशमलव ४ अंकले, जलविद्युत समूह ३३ दशमलव १३ अंकले, उत्पादन तथा प्रशोधन समूह २६ दशमलव १५ अंकले, विकास बैंक समूह ११ दशमलव ९२ अंकले, लघुवित्त १० दशमलव ९२ अंकले, फाइनान्स २ दशमलव ११ अंकले र अन्य समूह १ दशमलव ३२ अंकले झरेका छन् ।

परिसुचक घटेपनि बिहीबारको तुलनामा यसदिन कारोबार रकममा भने केही सुधार देखिएको छ । आज १५२ कम्पनीको ३० करोड ४ लाख ७९ हजार ७ रुपैयाँको ८३ लाख ३९ हजार ८६ कित्ता शेयर खरिदबिक्री भएका छन् । गतसाताको अन्तिम दिन बिहीबार बजारमा २३ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको थियो । परिसुचक करिब दोहोरो अंकले झर्दा ३१ कम्पनीका लगानीकर्ताले सामान्य कमाएका छन भने अन्य १२१ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । जसमध्ये छ्याङ्दी हाइड्रोको शेयर मूल्य सबैभन्दा बढी ४ प्रतिशतले बढेको छ । त्यस्तै स्वदेशी लघुवित्त, युनाइटेड इन्स्योरेन्स र बेस्ट फाइनान्सको शेयर मूल्य ३ प्रतिशतभन्दा बढीले बढेको छ ।

गुमाउने १२१ कम्पनीमध्ये सबैभन्दा बढी अपि पावर कम्पनीको शेयर भाउ सस्तिएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३४ रुपैयाँ अर्थात १० प्रतिशत घटेको हो । त्यस्तै कालिका माइक्रोक्रेडिटको शेयर मूल्य पनि ५ प्रतिशतभन्दा बढीले घटेको छ ।

Related posts

Leave a Comment