आइसीसी विश्वकप छनोट प्रतियोगितामा नेपालको पहिलो जीत

आइसीसी विश्वकप छनोट प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेलमा हङकङलाई ५ विकेटले हराएको छ । यो जित प्रतियोगितामा नेपालको पहिलो जित पनि हो । नेपालको विश्वकप खेल्ने सम्भावना टुङिए पनि एकदिवसीय मान्यताको सम्भावनाको ढोका भने खुलेको छ ।

१ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले ४१ औं ओभरमा सो लक्ष्य पुरा गर्दै तालिकाको चौथो स्थानमा उक्लेको छ । नेपालको आज ओपनिङ केहि सुधारिएको देखियो । ज्ञानेन्द्र मल्लले १२ रन जोडे भने अनिल शाहले २६ रन बनाएका थिए । त्यस्तै आज कप्तान पारस खड्का ११ रनमा आउट भए । मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्र ऐरी १२ र आरिफ शेख २ रनमा आउट भएका थिए ।

एक समय नेपालको ५ विकेटको क्षतिमा ६६ रन थियो । तर सोमपाल कामी र रोहित पौडेलको शानदार साझेदारी नेपालको जितको आधार रह्यो । रोहितले ८६ बलमा ४८ रन बनाए भने सोमपालले ४० बलमा ३७ रनको योग्दान दिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४८ ओभर २ बलमा १ सय ५३ रन बनाउँदै अलआउट हुन पुग्यो । हङकङका ओपनर निजाकत खानले सर्वाधिक ४७ रन जोडेका थिए । उनलाई ललित राजवंशीले आउट गरेका थिए । त्यस्तै कप्तान बाबर हायतले २० रन जोडेका थिए । तन्विर अफ्जालले १० रन जोडे र अन्त्यमा एहसान खानले २५ रन जोड्दा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आज नेपाली बलरको कसिलो बलिङ प्रदर्शन रह्यो । सन्दिप लामिछानेले ३ विकेट लिए भने वसन्त रेग्मीले दुई विकेट लिए । सन्दिपले १० ओभरमा ४ मेडेन राख्दै केवल १७ रन दिए भने वसन्तले आफ्नो १० ओभरमा केवल २० रन खर्चेका थिए । करण केसीले दुई र सोमपाल कामीले पनि एक विकेट लिएका थिए ।

Related posts

Leave a Comment