नेपाल टेलिकमको सेवालाई गुनासोरहित बनाउन प्रतिवद्ध छुः कामीनी राजभण्डारी (भिडियो)

सरकारी स्वामित्वको नेपालको सर्वाधिक मुनाफा कमाउने कम्पनीकी प्रमुखका रुपमा कामिनी राजभण्डारी छन् । बि.स. २०७३ साल असोज ६ गते आवेदन दिएका दर्जन प्रतिस्पर्धीलाई पछि पादैं उनि नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनेकी हुन् । कामीनी मर्मतसम्भार शाखामा सातौ तहबाट सेवा प्रवेश गरेकी थिईन् । ३० वर्षदेखी नेपाल टेलिकमकै जागिरे राजभण्डारी टेलिकमभित्र बिभिन्न विभागको नेतृत्वमा रहेर उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्दै आएकी छन् ।

नेपाल टेलिकमले विकास गरेको अत्याधुनिक प्रविधीसहितको फोरजी सेवा थालनीको नेतृत्व गरेकी राजभण्डारीसँग थुप्रै लोकप्रिय सेवा सञ्चालनको अनुभव छ ।

तुलनात्मक रुपमा हेर्दा नेपाल टेलिकमको सेवामा गुणस्तरीयता बृद्धि गर्न सफल प्रबन्ध निर्देशक कामिनी राजभण्डारीसँग नेपाल टेलिकमका भावी योजना र वर्तमानका समस्याहरुको सेरोफेरोमा केन्द्रित रहेर टिभी अन्नपूर्ण रिपोर्टर सुकदेव चापागाई र श्री प्रसाद सुबेदीले गरेको कुराकानी :

तपाईको नियुक्त हुदाँ महिलाले पनि नेपाल टेलिकम हाँक्न सक्छन् भन्नेहरु पनि थिए । के छ तपाईले नेतृत्व लिएपछिको अवस्था ?

मैले यो कम्पनीमा तह ७ देखी शुरु गरेर तीस बर्ष विभिन्न विभागमा रहेर काम गरे । त्यो अनुभवका कारण पनि नेपाल टेलिकमको बिगतको आम मानिसको बिश्वासलाई कायम राख्दै यसलाई अझै अघि लैजाने काम गरेको छु । जुन कुरालाई आम ग्राहकको हामी प्रतिको विश्वासले प्रमाणित गर्दछ ।

नेपाल टेलिकमको गुणस्तर समयअनुकुल भएन भन्ने जस्तो लाग्छ ? तपाई के भन्नुहुन्छ ?

सबै काम पूर्ण र सोचेजस्तो त नहुन पनि सक्छ त्यसैले हामीसँग पनि केही समस्या पक्कै छन् । यसकारण आम ग्राहकहरुबाट आउने यस्ता प्रतिक्रियालाई हामी सुझावका रुपमा लिएर हाम्रो सेवालाई अझै गुणस्तरीय बनाउने कुरामा हामी प्रतिबद्ध र तत्पर छौं । म हजुरहरुलाई स्पष्ट पार्न चाहन्छु । पछिल्लो समय हाम्रो सेवाको गुणस्तरको बिषयमा भन्दापनि ग्राहकको गुनासा हेर्ने सवालमा केही समस्या भयो भन्ने एउटा अध्ययन प्रतिवेदनले देखाएको थियो । त्यो लगत्तै हामीले ग्राहकका गुनासा हेर्नका लागी बिशेष ख्याल गदैछौं ।

केही समयअघि नेपालमा यहाँहरुले बिस्तार गरेको फाईबरसँग छिमेकी मुलुक चीनले फाईबर बिच्छाउने काममा सहयोग गर्नेसम्मका कुरापनि आएका थिए त्यो कुरा अहिले के भइरहेको छ ?

हो हामीले आन्तरिक रुपमा तयारी अघि बढाइसकेका छौ । हामीले मध्यपहाडी लोकमार्गमा फाईबर बिच्छाउने लगायतका धेरै कार्यक्रममा लागी सर्वेक्षण गरिसकेको छौ । भारतको टाटा र एयरटेल सँग हाम्रो कनेक्सन यसअघि नै भइसकेको छ । अहिले यसलाई अझै बृहत बनाउन चाईना टेलिकमसँग पनि सम्झौता गरेको कुरा सत्य नै हो । यसको काम प्रक्रियामै छ यसलाई छिट्टै अघि बढाउछौं । प्रदेश नम्बर १, २, ३ मा फाईबर बिस्तार गरेर सेवा दिने सम्झौता भईसकेको छ । हाम्रो उदेश्य भनेको मध्यपहाडी लोकमार्गमा जति सक्दो छिटै नै ब्रोडबैण्ड सेवा प्रदान गर्नु हो ।

नेपाल टेलिकमले रणनीतिक साझेदार ल्याउने कुरा भएको थियो । अहिले यसको प्रकृया कहाँ पुगेको छ ? रणनीतिक साझेदार किन गर्नुप-यो र यसबाट के फाईदा देखिन्छ ?

स्टाटेजिक पार्टनर भित्राउने कुराको निर्णय धेरै पहिले नै भएको हो । अहिले केही कारणले गर्दा यो रोकिएको मात्र हो । यसमा पहिले परामर्शदाता ल्याउने, त्यसले आरएफपी रिपोर्ट तयार गर्ने र त्यसपछि टेन्डर गर्ने हो ।

हामीले परार्मशदाता ल्याईसकेका छौं । उहाँहरुले काम सुरु गरिसकेको अवस्था छ र हामीले अब एक वर्ष भित्रमा कस्तो रणनीतिक साझेदार ल्याउने ? कति प्रतिशत शेयर दिने भन्ने बिषयमा अध्ययन गरेर रिपोर्ट तयार पार्ने काम गरिरहेका छौ । यो सकिएलगत्तै हामी टेण्डर आह्वान गर्नेछौ ।

अहिले सबै क्षेत्रको ग्लोबल्ली विकास भईरहेको छ । यसकारण यसलाई समयअनुकुल यसको क्षेत्रलाई अझै व्यापक बनाउनका लागी रणनीतिक साझेदारको आवश्यक परेको हो । यसको के कती फाईदा हुन्छ ? भन्ने कुरा यो अहिले हामीले तयार गरिरहेको अध्ययन रिपोर्टपछि भनौला । अहिले सबैक्षेत्र ग्लोबल्ली चेञ्ज हुदै गरेकाले यसको फाईदा अवश्य छ ।

नेपाल टेलिकम आफैमा सरकारी स्वामित्वको संस्था भएकोले यसमा सरकार र दलका केही व्यक्तिहरुको राजनीतिक हस्तक्षेपका कारण बेला बेला समस्या आउछ होला हैन ?

यसमा ९१.४९ प्रतिशत सरकारको शेयर भए पनि नेपाल टेलिकमको आफ्नै छुट्टै नीति नियम छ । यसैलाई हामीले अनुशरण गरेर लैजानुपर्छ । कुनै पनि निर्णय गर्दा ऐन नियममा आधारित भएरै गर्ने हो । सरकारी स्वामित्वका कारण हामी सरकारले दिने निर्देशनलाई अप्ठयारो भनेर मान्ने अवस्था हुदैन । हामी सरकारले दिने यस्ता निर्देशनलाई सुझावकै रुपमा लिने गरेका छौं । तर के समस्या चाहीं हुँदोरहेछ भने विभिन्न ऐन जस्तै सार्वजनिक खरिद ऐन कै कुरा गरौ, कतिपय समयमा तुरुन्तै निर्णय गर्न बाधक भइदिन्छ । प्रतिस्पर्धात्मक रुपमा काम गर्न त्यसो हुँदा गाह्रो हुन्छ । यद्यपी यसलाई हामी ठूलो समस्याका रुपमा लिएका छैनौं ।

अहिले मुख्यतया दुईवटा कम्पनी मुख्य प्रतिस्पर्धीको रुपमा देखिन्छन् । यसमा नेपाल टेलिकमलाई अव्बल बनाउन तपाई के कस्ता रणनीति बनाएर अघि जाँदै हुनुहुन्छ ?

हामी अहिले प्रतिस्पर्धीलाई मध्यनजर गदैं हामी एकदमै उत्कृष्ट प्रतिफल दिनको लागि प्रयासरत छौ । हामीसँग विभिन्न प्रकारका सेवाहरु छन ।

ल्याडलाईन र सिडिएमए र वाईम्याक्सलाई समेत नयाँ प्रविधीमार्फत बितरण गर्ने प्रयासमा लागिपरेका छौ । यसबाहेक हामीले नेपालमै पहिलो फोरजी सेवा दिन थालेका छौ यसलाई देशव्यापी बनाएर अघि जाँदैंछौ । यसका लागी हामी टेण्डर गरिसकेका छौ अब छिट्टै यसको काम तीब्र रुपमा अघि बढ्दैछ । यसलाई ब्यापक रुपमा अगाडी बढाउर्न काम सुरु भईसकेको छ ।

अबको तत्कालको हाम्रो योजना भनेको फोरजी र एलटि हो । एलटि मार्फत नेपाल टेलिकम देशका कुना काप्चासम्म पुग्नेगरि यो योजना तयारी अवस्थामा छ ।

फोरजी सेवा शुरु भएको पनि धेरै भईसक्यो, तपाईलाई अहिले दिएको फोरजी सेवा गुणस्तरीय छ भन्ने लाग्छ ?

काठमाडौं उपत्यका र पोखरामा मात्र टेलिकमको फोरजी सेवा सुरु भएको हो । अहिलेसम्म त्यहाँका ग्राहकहरुबाट हामीले सकारात्मक प्रतिक्रिया पाइरहेका छौं ।

अहिलेसम्म ८ लाख ग्राहकहरुले हाम्रो यो सेवा प्रयोग गरिरहेका छन् । तरपनि हाम्रा सक्रिय ग्राहक अलि कम देखिएको चाहीँ सत्य हो ।

त्यसको लागी हामीले फोरजी सेवा मार्फत विभिन्न सेवा उपयोग गर्ने गरी विविधता ल्याउदैछौं । त्यस्तैै हामीले अहिले नेपाल टेलिकमको फोरजी सेवा उपभोक्ताले एकदमै रुचाएको कुरालाइ पनि भुल्नु हुदैन ।

नेपाल टेलिकमले मोबाईल मनी सञ्चालन गर्ने कुरा व्यापक चर्चामा छ । यसको तयारी के हुदैछ ?

साँच्चिकै हामी अहिले मोबाईलबाटै पैसा पठाउन र भुक्तानी गर्ने व्यस्थासहित मोबाईल मनी सञ्चालनको प्रक्रिया अघि बढाउन चाहेका छौं । यसका लागी हामी आफै पनि भन्दा सब्सीडरी कम्पनीमार्फत काम गर्न खोजिरहेका छौं ।

सब्सीडरी कम्पनीमार्फत काम थाल्न हामी सरकारी स्वामित्वको कम्पनी भएकाले केही प्राबिधिक र कानुनी जटिलताहरु हुन्छन । यसर्थ तत्कालै यो सम्भव नहुने भएकाले अहिले हामी ईभालुएटर मार्फत सञ्चालन गर्नेगरि तत्काल काम अघि बढाई सकेका छौं ।

प्रबन्ध निर्देशक बनेपछि तपाईले धेरै काम त गरिसक्नुभयो, अब पूरा गर्न बाँकी काम के के छन ? तपाईकै नेतृत्वमा पूरा गर्न चाहेका काम के हुन् ?

आगामी दिनमा ग्राहकहरुका कुनै गुनासो नआउने गरी हामी अगाडी बढ्दै छौं । यसमा फोरजी महत्वपूर्ण लक्ष्य हो र नेपाल टेलिकमका ग्राहकहरुलाई जहिले पनि कनेक्सनमा राख्नेछौं । डाटालाई हामीले प्राईममा राख्नेगरि एलटि सेवा विस्तार गर्ने हाम्रो कार्यक्रम छ । यसैअनुसार काम पनि अगाडी बढिरहेको छ ।

अर्को भनेको नेपाल टेलिकमले दिईरहेको सेवाको बिलिङ सिस्टम गर्ने तयारी छ । ग्राहकहरुलाई जति सक्दो सजिलो पार्ने हाम्रो योजना छ । मेरै पालामा नेपाल टेलिकमलाई गुनासोरहित सेवाको रुपमा स्थापित गर्ने मेरो संकल्प रहेको छ ।

नेपाल टेलिकमले यति ठुलो मुनाफा आर्जन गरेर पनि सामाजिक उत्तरदायित्वको सवालमा पछि परेको गुनासो छ । तपाई यसमा के भन्नुहुन्छ ?

होईन हामी सामाजिक उत्तरदायीत्वको सवालमा निक्कै सचेत छौ । तपाई महाभुकम्पका बेला भन्नुहोस् बाढिपहिरो जस्ता बिपत्तीको समयमा समेत हामी निक्कै महत्वपूर्ण रुपमा सहभागी भएकै हो तर यसको उचित मुल्यांकन नभएकोजस्तो लाग्छ । हामी जनचेतनाका सवालमा हरेक पटक करोडौंको फोन म्यासेजमार्फत पनि सहयोग गरेका छौं ।

नेपाल टेलिकमले महाभूकम्पका कारण क्षती भएको धराहरा बनाउने भनेको थियो तर एकाएक पछि हटेको सुनियो किन होला ?
होइन हामी पछि हटेको होइन हामीले बनाउनका लागी जुनखालको प्रस्ताव भएको हो त्यो अनुसार भए अझैपनि हामी बनाउन तयार छौं । तर हामीले भनेअनुसार बनाउने कुरामा पुर्ननिमार्ण प्राधिकरण नमानेका कारण काम शुरु नगरेको हो । धराहराको लागी १ अर्ब नेपाल टेलिकमले सहयोग गर्ने भन्ने निर्णय भैसकेको हो । त्यो गर्न अहिले पनि हामी तयार छौं ।

अन्त्यमा, नेपाल टेलिकमले आम जनतालाइ तत्काल अनुभूत् हुनेगरी र ग्राहकको मन जित्नेगरी के गदैंछ ? हाम्रा पाठक दर्शकलाई भनिदिनुहुन्छ की ?

मैले अघि पनि भनिसके सबैभन्दा पहिले हामी तत्काल नेपाल टेलिकमको ल्याण्डलाईनलाईन व्यवस्थित गर्ने तयारी गदैंछौ । त्यसपछि हामी फोरजी सेवालाई थप गुणस्तरीय र देशव्यापी बनाउदैंछौ । व्यापक रुपमा फाईबर टु बिल्डिङको योजना बिस्तार गदैछौ । यसबाहेक हामीले अत्यन्तै सस्तो मुल्यमा हामी हाम्रो सेवालाई आम ग्राहकबीचमा पु-याउने तयारीमा छौ । यो सँगै मोबाईल मनी, लोन दिने सुविधा, अहिले हामी तारसहित सबै सेवाहरु एउटै सिस्टमबाट लैजानेगरि तयार गदैंछौं ।

अहिले विभिन्न ठाँउमा अप्टिकल फाईबर बिस्तारको काम हुदैंछ त्यो मध्येपनि मुग्लिन र दुलेगौडामा अण्डरग्राउण्डको काम भईरहेको छ । हाम्रो १९७ लाई प्रभावकारी बनाउने तयारी गरेका छौं जसका कारण ग्राहकका गुनासाहरुको तत्काल सम्बोधन हुनेछ ।

अब खाली बिल्डिङहरु सरकारलाई दिएर आम्दानी बढाउने तयारी छ । यसका साथै हाम्रा कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने खालका तालिम गोष्ठीहरुको पनि आयोजना गर्ने तयारी छ । जसले गर्दा हाम्रा ग्राहकहरुले सहज र गुणस्तरीय सेवा पाउनेमा हामी विश्वस्त छौ ।

Related posts

Leave a Comment