ढोरपाटनमा नाउर र झारलको मूल्य ह्वात्तै घट्यो, राजस्वमा ९ गुणा  घाटा

विमल खड्का, टिभी अन्नपूर्ण । नेपालकै एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा पछिल्लो पटकको शिकार गर्ने क्रम अन्तिम चरणमा पुगेको छ । शिकार आरक्षले दिएको जानकारी अनुसार बुधबार सम्म ९ वटा नाउर र ५ वटा झारलको शिकार गरिएको छ । महंगो रकम तिरेर विदेशी शिकारीहरू हेलिकप्टर मार्फत् नै ढोरपाटन पुग्ने गर्दछन् । पहिलो सिजन सकिएसँगै दोश्रो सिजन पनि अन्तिम चरणमा पुगेको छ । नेपालका ४ कम्पनीले शिकारको स्वीकृति लिएका छन् । तीमध्ये ट्रयाक्स एण्ड ट्रेडर्स प्रालि कालिमाटी काठमाण्डौले २ नाउर र २ झारलको शिकार गरिसकेका छन् । ग्लोबल सफारिज काठमाडौँले ३ वटा नाउर र २ वटा झारलको शिकार गरिसकेको छ । हिमालयन सफारिज नक्साल काठमाण्डौंले २ नाउरको शिकार गरिसकको छ । त्यसैगरी अर्को कम्पनी नेपाल वाइल्ड लाईफ ठमेल काठमाडाँैले २ नाउर र १ वटा झारलको शिकार गरिसकेको ढोरपाटन शिकार आरक्षल जनाएको छ ।

०७४ सालको दोश्रो सिजनमा सरकारले १० नाउर र ६ झारलको शिकार गर्ने अनुमति दिएको थियो । जसमध्ये अहिलेसम्म ९ नाउर र ५ झारलको शिकार गरिएको ढोरपाटन शिकार आरक्षका गेम स्काउट सागर सुवेदीले बताएका छन् । उनका अनुसार १ जना अमेरिकन नागरिक बिरामी भएर फर्केपछि १० वटा नाउर शिकार गर्नुपर्नेमा ९ वटा शिकार भइसकेको छ । त्यस्तै ६ वटा झारल मध्ये बुधबारसम्म ५ वटा शिकार भइसकेका छन् । लागि नेपाल वाइल्ड लाइफ सफारिज, हिमालयन सफारिज, ग्लोबल सफारिज र ट्रयाक्स एण्ड ट्रेडर्स  प्रा.ली.सगँ शिकारको सम्झौता गरिएको थियो । शिकार गर्नको लागि फागुन देखि बैशाख १५ सम्मको समयसीमा तोकिएको छ ।  ढोरपाटन शिकार आरक्षका अनुसार चैत ५ गते १ ग्रुप, चैत ८ गते १ गु्रप, चैत १६गते १ ग्रुप, चैत २६ मा २ ग्रुप र बैशाख १ गते २ गु्रप शिकार गर्नको लागि आएका थिए । ती मध्ये धेरैजसो शिकार गरेर फर्किसकेका छन् ।

विभागले प्रत्येक शिकारको याममा बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजश्व दर निर्धारण गर्ने गरेको छ । तर ०७३ को दोश्रो सिजनमा भन्दा ७४ को दोश्रो सिजन अर्थात् यहीँ बैसाख सम्ममा शिकार गर्ने शिकारीहरुको माग र प्रतिस्पर्धा गर्ने कम्पनी कम भएकाले यो पटक झारल र नाउरको मूल्यमा व्यापक गिरावट आएको कार्यालयको बुझाई छ ।  ०७३ को दोश्रो सिजनमा मात्रै १० झारलको शिकार गरिएको थियो जसमा प्रति झारल १३ लाखका दरले १ करोड ३० लाख राजस्व संकलन भएको थियो ।

त्यस्तै सोही सिजनमा नाउरको ११ लाखका दरले ५ वटा शिकार गरेबापत ५५ लाख गरि १ करोड ८५ लाख राजस्व संकलन भएको थियो । ० ७४ को पहिलो सिजन असोज र कात्र्तिकमा ७ वटा नाउरको १ लाख ५१ हजारका दरले शिकार गरे बापत १० लाख ५७ हजार राजस्व संकलन भएकोथियो । ५ वटा झारलको १ लाख ११ हजारका दरले ५ लाख ५५ हजार गरी जम्मा १६ लाख १२ हजार राजस्व संकलन भएको शिकार आरक्षले जनाएको थियो । तर ०७४ को दोश्रो सिजनमा झारल र नाउरको २१ लाख ८५ हजार मात्र राजस्व संकलन भएको हो । ०७३ को दोश्रो फागुनदेखि बैसाख सिजनभन्दा ०७४ फागुन बैसाखको सिजनमा ९ गुणाले राजस्व घेटेको हो । यहाँ बर्षेनी अमेरिका, जर्मनी, स्पेन, नर्वे, क्यानडा, दक्षिण अमेरिका लगायतका मुलुकबाट शिकारी गर्ने ढोरपाटनमा पुग्ने गर्दछन् ।

 

Related posts

Leave a Comment