सप्तरीमा ५६ करोडको आँप बिक्री

अनिल पोखरेल , राजविराज
आँपको राजधानी मानिएको सप्तरी जिल्लामा गत वर्षको तुलनामा आँपको व्यापार दोब्बर भएकोे छ । सप्तरीमा सरदर प्रतिकिलो २० रुपैयाँको दरले बिक्री–वितरण भएकोमा करिब ५६ करोड रुपैयाँ बराबरको आँपको व्यापार भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।

७ हजार हेक्टर क्षेत्रफलमा खेती रहेपनि यस वर्ष असिना तथा हावा हुरीले १ हजार ५ सय हेक्टर क्षेत्रफलमा लगाएको आँपमा क्षति पु-याएको थियो बाँकी ५ हजार हेक्टरमा २८ हजार मेट्रिक टन आँप उत्पादन भएको छ । कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवका अनुसार गत वर्ष सप्तरीमा १४ हजार मेट्रिक टन आँप उत्पादन भएकोमा करिब २८ करोड बराबरको आँपको व्यापार भएको थियो । यस बर्ष आँप उत्पादन वर्ष रहेकोले दोब्बरले वृद्धि भएको उनले बताए ।

सप्तरीको साविक कुशहा गाविस १ र २ श्रीपुर गाउँमा एकै स्थलमा तीन सय हेक्टरभन्दा बढी क्षेत्रफलमा ‘नेपालको सबैभन्दा ठूलो आँपको निजी बगैंचा’ रहेको छ । यसैगरी जिल्लाको कल्याणपुरमा दुई सय ८० हेक्टर, भंगाहमा दुई सय ३०, प्रसवनीमा र मोहनपुरमा दुई/दुई सय, रूपनगरमा एक सय ६०, सीतापुरमा एक सय ५० र जन्डौलमा ८५ हेक्टर आँप बगैंचाले ओगटेको छ ।  पूर्व–पश्चिम राजमार्ग आसपासमा पूर्वमा कञ्चनरुपदेखि पश्चिममा वलान नदीसम्म आँप खेती बढी हुने गरेको छ । खास गरी विषेश रुपमा महुली, जण्डोल, मैनाकडेरी, श्रीपुर, मधुपट्टी, मलहनियाँ, हरिहरपुर, प्रसवनी, शम्भुनाथ, वकधुवा, रुपनगर लगायतका स्थानमा आँपको उत्पादन हुने गरेको छ ।

जिल्लामा स्थानीय जातका आँपहरूमा बम्बई, माल्दह, कृष्णभोग, कलकत्तिया, लंगडा, फैजली आदि छन् भने व्यावसायिक रूपमा भित्रिएका आम्रपाली, चौसा, निलम, मलिका, जर्दालु, अल्फान्सो आदि जातका आँपहरूको उत्पादन पनि बढ्दै गइरहेको छ । उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानले आँप महोत्सवबाट जिल्लाको पहिचान राष्ट्रियस्तरमा प्रचारित हुने बताए ।

यसअघि संघले यसै बर्ष सप्तरीको कुशहाको श्रीपुरमा र कञ्चनरुपमा आँप महोत्सव तथा बृहत् कृषि मेला प्रदर्शनी गरेको थियो ।

Related posts

Leave a Comment