यौन प्रस्ताव अस्वीकार गर्दा आफ्नै भतिजाद्वारा कुटिइन् महिला

अनिल पोखरेल ,राजविराज
सप्तरीको राजविराजमा यौन प्रस्ताव अस्वीकार गर्दा एक एकल महिला आफ्नै भतिजाद्वारा निर्घात कुटिएकी छिन् ।

राजविराज –७ खर्सालकी ३५ वर्षीया सुनिता मण्डललाई उनकै भतिजा २५ वर्षीय नविन मण्डलले कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएकी उनलाई बुधबार राति करिब ११ बजे प्रहरीले उद्वार गरी उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुर्याएको थियो । उनको टाउको, घाँटी, कम्मर र कानमा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ । पीडित महिलाले बिहीबार प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएपछि प्रहरीले पीडक मण्डललाई घरबाटै पक्राउ गरेको छ । यौन प्रस्ताव अस्वीकार गर्दा आफूमाथि कुटपिट भएको पीडितले बताएकी छिन् ।

बुधबार राति अत्याधिक मदिरा सेवन गरेर आएका नविनले आफूलाई एक्लै देखेपछि ढोका बन्द गरेर जबर्जस्ती गरेको र आफूले प्रतिकार गर्दा कुटपिट भएको उजुरीमा उल्लेख छ । ‘जबर्जस्ती गर्न खोजेपछि हल्ला गरेँ र प्रहरीलाई पनि फोन गरेँ’ उनले भनिन, ‘त्यसपछि त झन् पागल जस्तै मुड्की, लात्ती र लठ्ठीले पनि हिर्कायो । आफूले हल्ला गरेको सुनेर आएका सासूससुरालाई पनि भतिजाले धम्की दिएको सुनिताले प्रहरीलाई बताएकी छिन । भारतको बिहारस्थित मधुवनी जिल्ला घोघडीहा ग्राम पञ्चायत माइती भएकी सुनिताका पति सुनिल मण्डलको ८ वर्षअघि सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । पतिको मृत्युपछि आफू असुरक्षित भएको उनले गुनासो गरिन् ।‘पतिको मृत्यु भएपछि घरपरिवारले सहयोग गर्लान् भन्ने छैन’, उनले भनिन ‘मौका छोपेर ममाथि यस्तो घटना पटकपटक हुँदै आएको छ ।’

परिवारका सदस्यबाट नै असुरक्षित भएको भन्दै उनले सुरक्षित रुपमा बस्न पाउनुपर्ने माग गरेकी छिन् । पीडित महिलाका २ छोरा छन् । कक्षा १० र १२ मय पढ्दै गरेका दुई छोरा घरमा नभएको मौकामा आफूमाथि कुकर्मको प्रयास भएको उनले बताइन् । जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने जनाएको छ ।

Related posts

Leave a Comment