सडकमा मागेरसमेत खान नसक्नेको चम्कियो मुहार

नारायण ढुंगाना

मकवानपुर कुलेखानीका ७१ वर्षीय हेमन्तकुमार लामा ९ महिनाका वालाक ‘सर्वाेत्कृष्ट’लाई काखमा राखेर खेलाउँदै हुनुहुन्थ्यो । लमजुङको सडकमा वेवारिसे अबस्थामा भेटिएकी महिलाबाट जन्मिएका हुन् ‘सर्वाेत्कृष्ट’ ।

लामालाई नारायणगढको सडकपेटीमा वेवारिसे अबस्थामा फेला पारी तीनहप्ता पहिले उद्धार गरिएको थियो । दुवैजनाको भेट मानवसेवा आश्रम चितवनमा भयो । अहिले हजुरबुबा–नाती झैं खेल्दै छन् । पहिले आफैं बेसहारा लामा अहिले अरु बेसहारालाई सहारा दिन थाल्नुभएको छ ।

मानसिक समस्या रहेको लामाको अहिले मुहार चम्किलो बन्दै गएको छ । सर्वाेत्कृष्ट र उनकी आमाको अबस्था पनि चम्किलो भएको रेखदेख गर्दै आउनुभएकी अभियन्ता रुपा केसी बताउनुहुन्छ ।

अर्की महिला ‘गीता मानवसेवा’ लाई सडकपेटीबाट उद्धार गरिएको २ वर्ष भयो । अहिले उहाँ आश्रममा अरुको स्याहारमा जुट्नुहुन्छ । उद्धारताक उहाँको हातमा किरा परेर औंला झरेको थियो । अहिले किरा परेको घाउमा खाटा बसिसकेको छ । मुहारमा चमक छाएको छ । आश्रमका अन्य असहायहरुको सेवामा जुट्नुहुन्छ । सरसफाई गर्नुहुन्छ ।


गोर्खाबाट उद्धार गरेर ल्याईएका रघुविर अछामीपनि अन्य असहायहरुको रेखदेखमा खटिनुहुन्छ । शुरुमा उहाँको खुट्टामा गम्भिर घाउ थियो ।घाउमा किरा परेको थियो ।

मानसिक अबस्था समेत ठिक थिएन । ‘पहिले ड्रिङक गर्थें, दिमान खुस्केको थ्यो, अहिले सब ठिक भा छ,’ आफ्नो अनुभव बताउँदै अछामीले भन्नुभयो । खुट्टाको घाउको खाटो देखाउँदै भन्नुभयो, ‘ल हेर्नुस् किरा परेको ठाउँमा खाटो ।’

यी प्रतिनिधि पात्र मात्रै हुन् । पाँच वर्षमा यस्ता एक हजार जनालाई सडकबाट उठाएर ३०० भन्दा बढीलाई परिवारमा समेत पुनर्मिलन गराईसकेको मानवसेवा आश्रम चितवनमा आज पत्रकार सम्मेलन गरी आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी गराउनुभयो । पत्रकार सम्मेलनमा अहिलेसम्म गरेका गतिविधि र आएको सहयोगबारे सार्वजनिक गरिएको थियो ।

यहाँ सडकमा मागेर समेत खान नसक्ने असहायहरुको मुहार चम्किलो बन्दै गएको देखिन्छ । विभिन्न कारणले सडकमा आईपुगेका उनीहरुको मनोरोग समेत निको हुँदै गएको छ ।

अध्यक्ष अधिकारी स्नेह र मायाँले नै उनीहरुमा परिवर्तन आईहाल्ने बताउनुहुन्छ । त्यसपछि नियमित मनोविमर्श, सरसफाई, औषधोपचारले कतिपयको पुरानै जिवन फर्किएको छ ।

दशकौंदेखि घरैमा दाम्लोलो बाँधिएर बस्न बाध्य मनोरोगीदेखि सडकमै बलात्कारपछि सडकमै आश्रय लिने गर्भवतीसम्मलाई उद्धार गरेको छ । उनीहरुलाई ल्याएर परिवारले नपाएको मायाँ आश्रमले दिन्छ । सानी बालिका खुसी र बालक सम्भव यसैका उदाहरण हुन् । ‘शव्दमा बयान गर्नै नसिकने गरी सडकमा भेटिन्छन्’, समाजसेवी प्रेमप्रभा अधिकारीले उद्धारको अनुभव सुनाउनुभयो ।

चितवनमा अहिले ५८ जना यस्ता असहायहरु छन् । जसमा ४ वालवालिका छन् । ‘मानसिक स्थिति ठिक नभएकाले केही आमाहरुलाई आफ्नो बच्चा भन्ने ज्ञान समेत छैन’, आश्रम चितवनकी अभियन्ता निता केसीले भन्नुभयो । सडकमै हुँदा बलात्कृत भएर गर्भवती अबस्थामा उद्धार गरी आश्रममा ल्याएर जन्मिएका बालबवालिका अहिले हलक्क बढ्दै छन् ।

असक्त, अपांग र मनोरोगीको स्याहार सुसार गर्नु यहाँका अभियन्ताको मुख्य काम हो । शरिरमा घाउ भएर किरा परेको कुहिएको अबस्थाबाट पनि धेरैको उद्धार भएको छ । ‘सडक सेवा’ मार्फत राती सडकमा यस्ता व्यक्तिहरु कहाँ कहाँ छन् भनेर खोजी गरी उद्धार गर्ने गरिएको छ ।

आश्रमका अभिभावक तथा सामाजसेवी प्रभातकुमार जोशी उनीहरुको स्याहार गर्न भाडाको घर सकस भएकाले सबै मिलेर आश्रमलाई व्यवस्थित बनाउने योजना सहित जग्गाको बन्दोबस्ती गर्नतर्फ लागिएको बताउनुहुन्छ ।
यसरी शुरु भयो उद्धारको काम

२०६६ बाट शुरुमा स्कुल शिक्षा थियो । सर्वाेत्कृष्ट जीवन शाश्वत चिन्तनको नामबाट नैतिक शिक्षा शुरु भएको थियो । यसको अगुवा पशुपति क्षेत्र विकास कोषका पुर्व सदस्य सचिव डा गोविन्द टण्डनले गर्नुभएको हो ।
त्यसपछि सडकको अबस्था दयनिय देखेर उद्धार गर्ने सोच पलायो । २०६९ बाट आश्रम नै चलाएर मानसिक सन्तुलन गुमाएर सडकमा पुगेकालाई उद्धार गर्ने र उपचारपछि परिवारमा पुनर्मिलन गराउने नमूना काममा युवाहरु स्वयंसेवी भएर लागि परेका छन् ।

आश्रम २०८२ सालसम्ममा नेपालका सडकमा कष्टकर अबस्थामा बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने अभियानमा लागेको आश्रमले आज पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

तर श्रोत व्यवस्थापन र स्थानिय सरकारबाट आवश्यक सहयोग नपाउनु चुनौतिको विषय बन्ने गरेको अनुभव अभियन्ताको छ ।

Related posts

Leave a Comment