राष्ट्रसंघको आप्रवाससम्बन्धी विषयमा नेपालको खाका तयार

सुरक्षित, व्यवस्थित र नियमित आप्रवासका लागि विश्वव्यापी सहकार्य (जिसिएम)का लागि नेपालले ‘राष्ट्रिय दृष्टिकोणको खाका’ तयार पारेको छ ।

श्रम तथा रोजगार मन्त्रालयले काठमाणडाैंमा आज आयोजना गरेको कार्यक्रममा ‘जिसिएम’को खाका प्रस्तुत गर्दै वैदेशिक रोजगारीमा श्रमिक निर्यातकर्ता मुलुकको हितलाई ध्यानमा राखी तयार गरिएको जानकारी दिइयो ।

संयुक्त राष्ट्र संघको सन् २०१६ को साधारणसभाले आप्रवासका सम्बन्धमा अन्तर्राष्ट्रिय साझेदारीको खाका तयार गर्ने प्रतिबद्धता पारित गरेको थियो । राष्ट्रसंघको सन् २०१८ मा हुने ७३ औँ साधारणसभामा अन्तर्राष्ट्रिय साझेदारीको सो खाकालाई पारित गर्ने लक्ष्य राखिएको छ । कामदारको कार्यक्षेत्रको सुधार, बासस्थानको सुधार, उनीहरुको हकअधिकारको सुनिश्चितता, बीमा, मानव बेचबिखनको अन्त्य, स्वस्थ भर्ना प्रक्रियालगायतका विषयलाई नेपालले मुख्यरुपमा खाकामा जोड दिएको छ ।

आप्रवाससँगसम्बन्धी विकास कार्यक्रममा साझेदार संस्था, संयुक्त राष्ट्र संघका एजेन्सी, निजी क्षेत्रका प्रतिनिधि, विभिन्न संघसंस्था र सरकारी निकायका प्रतिनिधिको विभिन्न चरणको छलफलका आधारमा नेपालले ‘राष्ट्रिय दृष्टिकोण खाका’ तयार पारिएको हो ।

आप्रवाससम्बन्धी अन्तर्राष्ट्रिय फोरम ‘कोलम्बो प्रोसेस’को नेपालले अध्यक्षता गरिरहेको छ भने अर्को संस्था ‘अवुधावी डाइलग’मा पनि नेपाल सक्रिय सहभागी छ । यी निकायलाई समेत समेट्नेगरी नेपालले यो खाका तयार बनाएको हो ।

Related posts

Leave a Comment