झापा गोल्डकप प्रतियोगिता यसै महिनामा

पूर्वाञ्चलकै प्रतिष्ठित गोल्डकप मध्येको झापा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण यसै महिना आयोजना हुने भएको छ । विर्तामोडको डोमालाल राजवंशी रंगशालामा फागुन १९ गते बाट प्रतियोगिता सुरु हुने आयोजक झापा फुटबल क्लबले मंगलबार पत्रकार सम्मेलनमार्फत झापा गोल्डकप समितिका अध्यक्ष महेन्द्र गिरीले दिएका छन् ।

यस पटक झापा गोल्ड कपको राशीमा पनि बृद्धि गरिएको छ । यसपटकको विजेताले १२ लाख ५० हजार रुपैयाँ पाउनेछ । गत वर्षको विजेताले ७ लाख रुपैयाँ प्राप्त गरेको थियो । झापा गोल्डकप यसपटकको सर्वाधिक पुरस्कार राशीको गोल्ड कप हुनेछ ।

माघको पहिलो साता धनगढीमा सम्पन्न नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको थियो भने माघ दोस्रो साता इटहरीमा सम्पन्न मदन स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ प्राप्त गरेको थियो । खप्तड गोल्डकप त्रिभुवन आर्मी क्लब र इटहरी गोल्डकप रुस्लान थ्री स्टार क्लबले जितेको थियो ।

फागुन २८ गते सम्म चल्ने झापा गोल्ड कपमा ए डिभिजन क्लबसहित १० टोलीको सहभागिता रहने छ । साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी, रुमपम झापा ११, रुस्लान थ्री स्टार, नेपाल एपिएफ, नेपाल पुलिस, अग्नी रुपन्देही ११, सुदूरपश्चिम ११, हिमालयन शर्पा र सहारा क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता सञ्चालनमा झन्डै ९७ लाख रुपैयाँ खर्च हुन अनुमान गरिएको झापा ११ का अध्यक्ष जलकुमार राईले जानकारी दिए ।

Related posts

Leave a Comment