कांग्रेसले कसैको हातखुट्टा भाँचेको छैन, ढुक्क हुनुहोस् बहुमत आउँछः देउवा

प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो चरणको निर्वाचनको तयारी सकेर मौन अवधि शुरु भएको छ । मौन अवधिको पूर्वसन्ध्यामा निर्वाचन र नेपाली काँग्रेसको भावी रणनीतिका बिषयमा टिभी अन्नपूर्णका लागि अन्नपूर्ण रिपोटर्र राजु सुबेदीले गरेको बिशेष कुराकानीको केही अंश

यो निर्वाचनको दौरानमा के देख्नुभयो के चाहन्छन् मतदाता ?
नेपाली काँग्रेसको माहोल एकदमै राम्रो छ । जनताले विकास र लोकतन्त्र चाहेका छन् । लोकतन्त्र बलियो होस् आर्थिक विकास होस् भन्ने उनीहरुको चाहना छ । यसको लागि नेपाली काँग्रेसले जित्नुपर्छ नेपाली काँग्रेसको सरकार बन्नुपर्छ भन्ने छ ।

यसको अर्थ तपाईको बहुमत आउने अवस्था छ ? कति सिट जित्नुहुन्छ ?
हो नेपाली कांग्रेसले पूर्ण बहुमत ल्याउँछ । जनताले बुझेका छन् । विकास गर्ने र लोकतन्त्र संरक्षण गर्ने पार्टी नेपाली कांग्रेस हो । कम्युनिस्टले विकास गर्दैनन् । उनीहरु जनता गरिब भइरहून् भन्ने चाहन्छन् । राष्ट्रपतीय शासन चाहने भनेको जनताको अधिकार खोस्ने हो । यसकारण यति सङख्यामा सिट आउछ भन्दा नि काँग्रेसको स्पष्ट बहुमत आउछ भन्ने बुझ्नुहोस् ।

बाम गठबन्धन सशक्त देखिएको अवस्थामा काँग्रेसको बहुमत आउने आधार के हो ?
हामीले जनतालाई दुःख दिएका छैनौं । जबरजस्ती चन्दा असुल गरेका छैनौं । कसैका हातखुट्टा भाँचेका छैनौं । कांग्रेस जनतालाई सार्वभौम सत्तासम्पन्न बनाउने पार्टी हो, जनतालाई अधिकारसम्पन्न बनाउने पार्टी हो, जनतालाई मालिक बनाउन चाहने पार्टी हो । जनतालाई मतद्वारा सरकार बनाउने र बदल्ने अधिकार छ । म यो देशको निम्ति लडेर हिडेको व्यक्ति हुँ, यो संविधान कार्यान्वयन गर्न म सफल भएको छु । राम्रो संविधानको कार्यान्वयन नेपाली कांग्रेसबाहेक अरु कसले गर्न सक्यो, वाम गठबन्धनले जितेमा यो संविधान च्यातिन्छ, दलितका अधिकार खोसिन्छन् , महिलाका अधिकार खोसिन्छन् , जनताले बुझेका छन् अनि वामपन्थीलाई कसले मतदान गर्छ ? हाम्रो बहुमत आउँछ । देशमा विकास पनि नेपाली कांग्रेसले गरेको छ । पहिले एक एयरलाइन्स थियो, अहिले कति धेरै छन् ? पहिले एक मेडिकल कलेज थियो, अहिले कति धेरै छन् ?विश्वविद्यालय, क्याम्पस खुलेका छन् । बाटोघाटो बनेको छ । महाकाली सन्धि मैले गरेको हुँ । केपी ओलीले पनि हस्ताक्षर गरेका छन् । महाकाली सन्धि कार्यान्वयन हुने पक्षमा छ । टनकपुरबाट नहर आउने भएको छ । सबै विकास कांग्रेसले गरेको हो, कम्युनिस्टले के विकास गरेका छन् ? जनताले नेपाली कांग्रेसलाई मत हाल्छन् र हाम्रो बहुमत आउँछ ।

यसको अर्थ तपाई फेरि प्रधानमन्त्री बन्दै हुनुहुन्छ ?
हो नेपाली कांग्रेसको बहुमत आउने पक्का भईसक्यो अब यसलाई कसैले रोक्न सक्दैन । त्यसकारण म अबको प्रधानमन्त्री हुँ । म ढुक्क छु म अब बहुमतको प्रधानमन्त्री बन्दैछु ।

प्रचण्डले केपी आलीलाई अबको प्रधानमन्त्रीको रुपमा घोषणा गरिसक्नुभयो त ?
प्रचण्डले घोषणा गरेर हुने को हो वहाँ ? जनताले मत दिनुपदैंन ? जनताले मत नदिएपनि केपी ओलीलाई प्रधानमन्त्री बनाउने क्षमता राख्छन प्रचण्डले ? तपाई भन्नुस त कसले दिन्छ कम्युनिष्टलाई भोट ?

हल्ला त यसपटक शेर बहादुर देउवा आफैले चुनाव हार्ने अवस्था छ भन्ने छ त , तपाई चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ ?
कसले भन्यो ओलीजीले हल्ला गरेर हुन्छ ? यसपटक मात्रै होईन म डँडेल्धुरामा यसअघि नै ५ भन्दा बढी पटक जनताको माया पाएको छु । डँडेल्धुरामा मैले विकास गरेको छु । अरु जितेमा माननीय मात्र हुने हुन् । मैले जितेमा प्रधानमन्त्री हुने हुँ । चारपटक प्रधानमन्त्री भइसकेको छु । सुदूरपश्चिममा म बाहेक प्रधानमन्त्री हुने अरु को छ ? मध्यपश्चिम र सुदूरपश्चिममा प्रधानमन्त्री हुने मै हुँ । यसकारण यसपटक मैले भारी अन्तरले चुनाव जित्नेमा शंका छैन । हल्ला त कम्युनिष्टहरुले जे पनि गर्छन यस्तो कुरा गर्ने तपाई ?

तपाई यो देशको प्रधानमन्त्री गृह मन्त्रालयको जिम्मा पनि तपाईँकै हातमा छ । देशभर भएका बम र बारुदका घटनाले सुरक्षाव्यवस्थाबारे त धेरै प्रश्न उब्जियो त ?
होईन सबै ठिक छ । निर्वाचन हो निर्वाचनका बिषयमा केही असन्तुष्टहरुले त आफ्ना असन्तुष्टिहरु राख्छन नै यसलाई असुरक्षा भन्ने कहाँ के भयो ल भन्नुस त? असुरक्षा यो सब कम्युनिष्टको हल्ला हो । केपी ओलीले शेरबहादुरले निर्वाचन सार्दैछ भनेको भन्यै गरे । उनले सपना पनि चुनाव सारेको देखे । मेरो काम नै चुनाव गराउने थियो । मैले चुनाव गराएरै छाडें । अब मंसिर २१ गते मतदान भएपछि संविधान पूर्ण कार्यान्वयन भएर देश अघि बढ्छ । चुनाव बिथोल्न केही तत्वले षड्यन्त्र गरिरहेका छन् । मतदान हुन नदिन, चुनाव बिथोल्न षड्यन्त्र गरे पनि सरकार शान्तिपूर्ण र सुरक्षित वातावरणमा चुनाव गराउन कटिबद्ध छ । शान्तिसुरक्षा दिन सुरक्षा निकाय सक्षम छ ।

तपाई कसले गर्याे भन्न खोज्दै हुनुहुन्छ षडयन्त्र ? कतै बामगठबन्धन माथिको शंका त होईन नि ?
चुनाव बिथोल्न षड्यन्त्रमा अरु पनि सहभागि छन । तर अहिले विप्लव माओवादीले यस्तो कार्य गरेको हो । ठाउँ ठाउँमा बम पड्काएर त्रास उत्पन्न गर्न खोजेको छ । सुरक्षाको प्रत्याभूति गराएर निर्धक्कसँग भयरहित वातावरणमा चुनाव गराउन सरकार लागेको छ । कसैले पनि कुनै द्विविधा नमानी, कुनै शंका नगरी निर्धक्क र ढुक्कसँग मतदान गर्ने वातावरण बनाउँछु । बामपन्थीहरु पनि यो सरकार चुनाव गराउन नसकोस् भन्नेमा थिए । तर निर्भयका साथ पहिलो चरणको निर्वाचनमा मतदाता उत्साहित रुपमा सहभागी भए । यो पटक पनि सहभागी हुनेछन ।

निर्वाचन भाँड्ने गलत तत्व भनेर पहिचान गरिसक्नुभएको रहेछ , खैं त कारबाही त भएको छैन भन्ने छ नी ?
सरकारले कारबाही गरेको छ । धेरै मान्छे पक्राउ गरेका छौं । अरुलाई पनि पक्राउ गर्छौं । चुनाव बिथोल्ने तत्वलाई छाड्दैनौं ।

तपाई केही चुनावी कार्यक्रममा बामपन्थीले बहुमत ल्याए सविधान नै बदल्छन जनतालाई बसिखान हुन्न भन्नुभयो के भन्न खोज्नुभएको ?
उनीहरुले बहुमत ल्याएर संविधान बदल्छन् भनको होइन, मैले उनीहरुको नियतको कुरा गरेको हुँ । उनीहरुको नियतको कुरा जनतालाई भन्नुप¥यो नि । दलित, जनजाति, महिला सबैलाई अधिकार दिएको यो संविधान बदल्ने उनीहरुको चाहना हो । यो मैले होईन ,उनीहरु आफैंले बहुमत ल्याएर संविधान संशोधन गर्छु भनिरहेका छन् ।

चुनावमा सरकारकै मान्छेबाट आचारसंहिता पालना भएन भन्ने कुरा सत्य हो ?
होईन , म बाट आचारसंहिता उल्लंघन भएको छैन । सरकारबाट पनि आचारसंहिता उल्लंघन भएको छैन । आचारसंहिताको सरकारले पूर्ण पालना गरेको छ ।

तपाईमाथि भारतपरस्तको आरोप छ नि ?
त्यो आरोप छाड्नुस् कम्युनिष्ट अतालिएपछि जे पनि बोल्छन् । ओलीजी हो भारतपरस्त , प्रचण्ड हो भारतपरस्त अनि मलाई भनेर हुन्छ ? जे पायो त्यही भन्नु त भएन नी । नेपाली कांग्रेस भारत र चीन दुवै देशसँग राम्रो सम्बन्ध राख्न चाहन्छ । कसैसँग नजिक हुने र कसैसँग टाढा हुनु देशको हित र राष्ट्रिय स्वार्थका लागि पनि राम्रो हँुदैन भन्ने हामीले बुझेको छैनौ ? यत्रो लडाई लडेर आएको नेपाली काँग्रेसले बुझेको छैन ? आरोप त के के छ ,के के छ ।

अन्त्यमा भन्नहोस् नेपाली कांग्रेसलाई भोट किन दिने ?
विकासका लागी दिने । जनताको मुक्तिका लागी दिने । समृद्धिका लागी दिने । मधेशी थारु मुस्लिम सबैको अधिकारको लागि दिने । नेपाली काँग्रेस बाहेकले यो देशको विकास गर्न सक्दैनन् यहि कारण दिने । कम्युनिष्टलाई भोट किन दिने ? अब जनताले नेपाली काँग्रेसलाई भोट दिन्छ । नेपाली काँग्रेसको बहुमतको सरकार बन्छ अनि बल्ल यो देशको विकास हुन्छ ।

 

Related posts

Leave a Comment