पानी नहुदा अस्पताल बन्द, घरमै जन्मे ३० बच्चा

बैतडीजिल्लाको पुरचौंडी नगरपालिका वडा नम्बर ९ मा रहेको तल्लादेही स्वास्थ्य चौकीमा पानीको अभावका कारण प्रसूति सेवा बन्द भएको छ । झण्डै एक वर्ष यता स्वास्थ्य संस्थामा आउने पानी बन्द भएपछि प्रसूति सेवा बन्द भएको तल्लादेही स्वास्थ्य चौकीले जनाएको छ ।

घर नजिकैको स्वास्थ्य संस्था बन्द भएपछि तारा भण्डारीले करिब ३ घण्टाको पैदल दूरी हिंडेर कटौजपानी स्वास्थ्यचौकीमा बच्चा जन्माइन्। व्याथा सुरु हुने वित्तिकै घरपरिवारको सल्लाहमा उनी नजिकको स्वास्थ्यचौकी छोडेर कटौजपानी पुगेकी हुन्। उनले भनिन् ‘हाम्रो तल्लादेही स्वास्थ्यचौकीमा करिब १ वर्षदेखि प्रसूति सेवा बन्द छ। स्वास्थ्य संस्थामा पानी नहुँदा टाढाका स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउनु परेको छ कि त घरमै जन्माउनुको विकल्प छैन्।’

स्वास्थ्यचौकीमा पानीको अभावले प्रसूति सेवा बन्द भएपछि तल्लादेहीकी निर्मला विष्ट घरमै बच्चा जन्माउन वाध्य भइन्। ‘स्वास्थयचौकीमा प्रसूति सेवा बन्द भएपछि उनले घरमै बच्चा जन्माएकी हुन्। टाढाका स्वास्थ्यचौकीमा जान सकिएन्। घरमा बच्चा जन्माउँदा धेरै अप्ठ्यारो भयो,’उनले दुखेसो पोखिन्।

तल्लादेही स्वास्थ्यचौकीमा प्रसूति सेवा बन्द भएपछि तारा र निर्मलाजस्तै गएको एक वर्षमा ३० जनाले घरमै र ५० जनाले स्वास्थ्यसंस्थामा बच्चा जन्माएका छन्। स्वास्थ्यचौकीमा आउने पानी बन्द भएपछि प्रसूति सेवा बन्द भएको स्वास्थ्यचौकीका अनमी जानकी बोहराले बताइन्। उनले भनिन, ‘स्वास्थ्यचौकीमा आउने पानीको व्यवस्थापन गर्न नसक्दा स्वास्थ्यसंस्थामा पानीको अभाव भयो।

त्यसपछि बाध्य भएर प्रसूति सेवा बन्द गर्यौं। एउटी आमाले बच्चा जन्माइसकेपछि सरसफाइका लागि कम्तीमा ५० लिटर पानीको आवश्यकता पर्दछ।’ २०७२ सालमा जिल्लाका उत्कृष्ट पाँच स्वास्थ्यसंस्था मध्येको तल्लादेही स्वास्थ्यचौकीमा गएको वर्षदेखि प्रसूति सेवा बन्द भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले बताए। उनले भने ‘स्वास्थ्यसंस्थामा आउने पानी बन्द भएपछि प्रसूति सेवा नै बन्द गर्नु परेको हो। गाउँलेहरुले समेत स्वास्थ्यसंस्थामा आउने पानीको व्यस्थापन गर्न सकेनन् यसले समस्या भएको छ।’

तल्लादेही स्वास्थ्यचौकीमा पानीको अभावमा प्रसूति सेवा बन्द भएपछि पानीको व्यवस्थापनका लागि स्थानीय जनप्रतिनिधि, स्थानीयबासी र स्वास्थ्यकर्मीसँग स्थलगत छलफल सुरु गरेको हेल्थ फाउण्डेसन नेपालका अम्बादत्त अवस्थीले बताए। उनले भने ‘ पानी आउन बन्द भएपछि अन्य मूहान विकल्पको रुपमा खोजी गर्न थालेका छौं। सकेसम्म स्वास्थ्यचौकीमा जसरी पनि पानी पुर्याउने भन्ने विषयमा छलफल गरिरहेका छौ।।’

यस्तै जिल्लाको सुर्नया गाउँपालिका २ सतबाँझमा रहेको प्रसूति सेवा केन्द्रमा पनि पानीको अभाव रहेको जनाइएको छ। करिब ३ किलोमिटरको दूरीबाट पानी बोकाएर सेवा दिनुपरिरहेको हेल्थ असिष्टेन्ट पाण्डेयले बताए। उनले भने ‘सतबाँझमा खानेपानीकै हाहाकार छ। प्रसूति सेवा केन्द्रमा सेवा सञ्चालन गर्न टाढाको मुहानबाट भाँडामा पानी बोकाउनुपर्ने बाध्यता छ। यसले प्रसूति सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्न समस्या छ।’

पानीको अभावमा प्रसूति सेवा प्रभावित हुँदा पूर्णसंस्थागत सुत्केरी अभियानमा समेत असर परेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोसीले बताइन्।उनले भनिन् ‘बच्चा जन्माएकै कारण कुनैपनि आमा र बच्चाको मृत्यु नहोस् भन्नका लागि हामीले पूर्णसंस्थागत सुत्केरी अभियान सुरु गरेका हौं। तर केही ठाउँमा पानीको अभावका कारण प्रसूति सेवा नै बन्द भएका छन्।यसले गर्दा महिला घरमा बच्चा जन्माउन बाध्य भएका छन्।’

Related posts

Leave a Comment