भिडियो गेम खेल्न नदिएको भन्दै भाईद्वारा गोली हानेर दिदीको हत्या

अमेरिकाको मिसीसिपीमा शनिबार ९ वर्षीय बालकले दिदीको गोली हानी हत्या गरेका छन् । भिडियो गेम खेल्न नदिएको भन्दै ती बालकले १३ वर्षीया दिदीलाई गोली प्रहार गरेका थिए । भिडियो गेम खेल्न नदिएपछि बालकले बन्दुक उठाएर पछाडिबाट गोली हानेका थिए ।

गोली सीधै दिदीको टाउकोमा लागेको थियो । बालिकाको अस्पतालमा उपचार हुँदाहुँदै ज्यान गएको छ । उपचारका निम्ति उनलाई स्थानीय मेमफिस अस्पतालमा लगिएको थियो । ती बालकले बन्दुक कसरी हात पारे भन्ने विषयमा स्पष्ट जानकारी मिल्न सकेको छैन । ती बालकलाई के कारबाही गर्ने भन्ने विषयमा पनि अन्योल देखापरेको छ ।

प्रहरी अधिकारीले भने, ‘मलाई लाग्छ, यसरी हत्या गर्ने कुरा उसले टेलिभिजन हेरेर वा भिडियो गेमबाट सिकेको हुनुपर्छ । गोली हान्दा के हुन्छ भन्ने उसलाई थाहा नहुन सक्छ । मसँग यसको कुनै जवाफ छैन । यो घटना निकै दुःखद छ ।’

यो घटना हुँदा उनीहरूकी आमाले अर्को कोठामा अर्को बच्चालाई खाना खुवाउँदै थिइन् । प्रहरीले यो घटना निकै अनौठो भएको र यसबाट आफूबाट स्तब्ध भएको बताएका छन् । एजेन्सी

Related posts

Leave a Comment