फेशनमा फड्को, बुटिकमा सिर्जनाभन्दा कपिड् ब्राण्डको दबदबा (भिडियो सहित)

तुलसी अर्याल/ नवराज श्रेष्ठ,  टिभी अन्नपूर्ण  ।

एक दशकअघिसम्म बुटिकलाई केवल साडीमा बुट्टा भर्ने ठाँउकै रुपमा चिनिन्थ्यो । तर पछिल्लो समय बुटिक फेशनको नाडी छाम्ने स्थान बन्न पुगेका छन । चलेका र राम्रा डिजाईनर देखि कलाकार व्यापारीको आर्कषण यो व्यवसायप्रति बढ्दै गएपछि यसले निकै छोटो समयमा ठुलो आकार लिएको हो ।  नेपालमा बुटिक व्यवसायले सन १९९४ मा पहिलो मिस नेपाल शुरु भएदेखि व्यवसायिक साइज पाएको तथ्यांक छ । शहरमा चलेको लहर ,शारीरिक बनोट र रंग अनुसारको डिजाइनमा खेल्ने भएकाले छोटो समयमा यसले धेरैको ध्यान तानेको हो । केही बर्ष अघिसम्म भारतीय चलचित्रका अभिनेता र अभिनेत्रीको नक्कलमामात्रै सीमित यो बजार “फैलिँदो चेतनाले अहिले बृहत् आकार लिँदैछ ।

नेपालीहरुको बढ्दो देखासिकी मात्रै होइन प्रविधिको विकासले नेपालीलाई अहिले सिधै फेसन बजारसँग जोडेको छ ।  भारतीय खुला सीमा र नेपालको बढ्दो लाहुरे संस्कृतिले नेपालमा भारतीय बजारमा आउने नयाँ फेशनको सिधा प्रभाव देखिने गरेको छ ।  यसबाहेक बृटिश लाहुरे आउँदा ल्याउने फेशनले नेपाली बजारमा झनै पश्चिमा बजारको लहर भित्रियो । जसका कारण हिजो फेशन टिभीका शो र केही बलिउड कलाकारका जुत्ता टोपी देखेर लोभिने नेपाली अहिले फेशनमा भारतभन्दा अघि बढेको पाइन्छ । नेपाली बजारमा अहिले झण्डैै ५ हजारको हाराहारीमा बुटिकहरु सञ्चालनमा छन् ।

यस्ता बुटिकले दैनिक २० हजारदेखि ५ लाखसम्मको कारोवार गरिरहेका छन ।  फेशन पारखीहरुको बढी आकर्षण हुने दरबारमार्ग क्षेत्रमा मात्रै अहिले झण्डै ३ सय बुटिकहरु सञ्चालनमा रहेको अनौपचारिक तथ्याङ्क छ । दरबारमार्ग पुग्ने तन्नेरीदेखि बूढापाकामध्ये ४० प्रतिशतभन्दा बढी फेशन र खानाको सौखिन हुने व्यवसायी कञ्चन भारतीको अनुमान छ । फेसन पहिरन, गरगहना, हेयर स्टाइल र विभिन्न एसेसरिजसँग जोडिन्छ । यहीँ कारण कलाकार राजनीतिकर्मी व्यापारीहरु फेशनको मामिलामा निकै संवेदनशील देखिन्छन् । नेपालमा अमेरिका अष्टेलियादेखि चाइना र भारतमा चल्ने फेशनको दबदबा छ । दरबारमार्गमा १३ बर्षदेखि बुटिक चलाउँदै आएकी श्वेता श्रेष्ठ भन्छिन्, “फेसनको महत्व अरुलाई देखेपछि बढ्ने भएकाले यी देशमा चलेका फेशनकै माग नेपालमा पनि बढेको हो ।

केहीअघिसम्म फेसन टिभीमा मोडलका पहिरन हेर्दा यस्तो लुगा पनि कसैले लगाउलान् भन्नेहरु अहिले रामै्रसँग त्यसको नक्कल गरिरहेका छन् । अहिले तन्नेरीदेखि व्यवसायीसम्मले के कुरा आत्मसात् गरिसकेका छन् भने हरेक डिजाइनका एक खाले ग्राहक हुन्छन् । त्यसैले नेपालका फेशन डिजाइनहरु आफ्नो सिर्जनशीलतालाई सक्दो बढी प्रयोग गरिरहेका छन् । तर फेसन देखेर अपनाइने भएकाले नेपाली डिजाईनरका भन्दा आयातीत ब्राण्डको उपस्थिति बलियो भएको व्यवसायी बर्षा थपलियाको बुझाइ छ ।  विश्वचर्चित फेसन डिजाइनर प्रबल गुरुङको डिजाइनले विश्व बजारमै ख्याती पाएकाले नेपालीको सिर्जनालाई सामान्य आँकलन गर्न मिल्दैन ।

यद्यपि फेशनमा नेपाली जति सचेत छन् स्वदेशी उत्पादनमा भने बाँधिन नसकेको देखिन्छ ।  नेपालको फेशन एकताका पूर्णतः भारतमा निर्भर थियो । भारतीय चलचित्रका अभिनेता अभिनेत्रीकै देखासिकी खुबै चल्तीमा थियो । तर पछिल्लो समय यसले व्यापकता पाउँदै गएको छ । चीन, युके अमेरिकामा चल्ने फेशन अहिले सिधै नेपाल आउन सक्ने प्रविधिले बनाएको छ । सन् १९९० को दशक यता विदेशी म्यागेजिन, हिन्दी सिरियल हुँदै अहिले हप्तैजसो सहरमा चल्ने फेसन शो हरुको प्रभावले पनि यसको लहर बढाउने काम गरेको छ । फेसन मामिलामा नेपाल दक्षिण एसियामै सबैभन्दा अगाडि रहेको डिजाइनर सुरज प्रधान बताउछन् ।

उनको भनाइमा चिनीयाँ बजारको सबैभन्दा राम्रो प्रभाव यहाँ छ । त्यसैले ब्रान्डेड सामानका फस्ट वा सेकेन्ड कपी छिट्टै सस्तोमै नेपाल आइपुग्छन् । एक व्यवसायी भन्छन्, “दक्षिण एसियामा कपिड ब्रान्डमा सबैभन्दा बढी बुम भएको नेपालमा हो । जिन्स पाइन्टको बजार यहीँ कारण भारतमा भन्दा पहिले नेपालमा फस्टाएको थियो ।जति जति सहरमा फेशन सचेतना बढेको छ, त्यति नै मानिस नयाँ नयाँ शैलीलाई आत्मसात् गरिरहेका छन् ।

क्लब, पार्टी तथा डिस्कोमा हरेक पटक जाँदा नयाँ र ‘वान एन्ड वन्ली’ शैलीको पहिरन लगाउने लहर चलेको छ  । त्यसो त बुटिकहरुले विभिन्न सेलिब्रेटीलाई सार्वजनिक समारोहमा सहभागी हुन आफ्ना डिजाइनका पहिरन निःशुल्क दिनेहरु पनि कम छैनन् । जसका कारण केही चलेका सेलिब्रेटी र व्यापारीहरुलाई आफ्ना नियमित ग्राहकका रुपमा व्यवसायीले अघि सार्ने गरेका छन् । महिला नेतृ नबीना लामा, अभिनेत्री करिष्मा मानन्धर लगायतका चर्चित महिलाहरु आफ्ना नियमित ग्राहक भएको बिलिजा बुटिककी सञ्चालिका श्वेता श्रेष्ठ बताउँछिन । त्यसको अर्थ बुटिक या डिजाइनरले आफ्ना वस्तुको प्रतिक्रिया चर्चित व्यक्तिहरुबाट बुझ्नु पनि हो ।

 

Related posts

Leave a Comment