दुवै दलको कार्यक्रम एकै ठाउँमा आयोजना हुने भएपछि तनाव उत्पन्न: निषेधित क्षेत्र घोषणा

जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिका–१ मा पर्ने ढिकुरे बजारसहित आसपासको क्षेत्रलाई दुवै गठबन्धनको चुनावीसभा एकै स्थानमा सञ्चालन हुने भएकोले निषेधित क्षेत्र घोषणा गरेको छ। आज बिहान ६ बजेदेखि शुरु भएको निषेधित क्षेत्र साँझ ६ बजेसम्म कायम रहने जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए।

नुवाकोट प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० बमोजिम ढिकुरे बजारदेखि पूर्वमा चौघडा, पश्चिममा बराहफेदीडाँडा, उत्तरमा माझपानी र दक्षिणमा चौघुडा क्षेत्र चारकिल्लाभित्र कुनै पनि सभा र जुलुस गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको सूचनामार्फत जनाएको छ।

चुनावी प्रचारको अन्तिम दिन आज ढिकुरेको मुख्य बजारमा नेपाली काँग्रेस र त्यसको केही मिटर दूरीमा नेकपा ९एमाले० र माओवादी केन्द्रले संयुक्तरुपमा शक्ति प्रदर्शकसहित चुनावीसभा आयोजना गर्ने तय गरेका छन्। दुई शक्तिमध्ये एकलाई स्थान परिवर्तन गर्न गरेको आग्रह अस्वीकार गरेकाले बाध्य भएर निषेधित क्षेत्र घोषणा गर्नुपरेको प्रशासकीय अधिकृत शर्माले बताए।

दुवै गठबन्धनबाट केन्द्रीयस्तरका नेताले सम्बोधन गर्ने चुनावीसभा एकै स्थानमा सञ्चालन हुँदा हिंसा र झडप सिर्जना हुनसक्ने प्रशासनले आशंका गरेको छ। सहमतिका लागि प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवसहितको सुरक्षा निकायका प्रमुखको टोलीले आयोजकसँग गरेको प्रयास असफल भएपछि सम्भावित घटना रोक्न निषेधित क्षेत्र घोषणा गरिएको बताइएको छ ।

Related posts

Leave a Comment