ढाकाबाट सिधा काठमाडौंका लागि बस, बिहीबार नेपाल आइपुग्ने

फोटो द डेली स्टार बङलादेश
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि सिधा बस सेवा सुरु भएको छ । परीक्षणस्वरुप दुई बस काठमाडौंका लागि छुटेको बङलादेशी सञ्चार माध्यमले जनाएका छन् । जुन १५, २०१५ मा बंगलादेश–भुटान–भारत–नेपालबीच यातायात सञ्चालन गर्ने (बिबिआईएन) सम्झौता भएको थियो । बंगलादेश रोड ट्रान्सपोर्ट कोर्पोरेसनका अध्यक्ष फरिदउद्धिनको नेतृत्वमा तीन देशका ८० जना डेलिगेटहरु दुई वटा बसमा काठमाडौंका लागि हिँडेका छन् ।
सोमबार बिहान ढाकाबाट हिँडेका ती बस बिहीबार काठमाडौं आइपुग्नेछन् । अहिले परीक्षणका रुपमा बस चलाइए पनि छिट्टै नै एउटा सम्झौता गरेर व्यापारिक प्रयोजनका हिसाबले बस सञ्चालन गरिने बंगलादेशका सडक विभागका सचिव नजरुल इस्लामले बताएका छन् ।
ढाकामा रहेको भारतीय उच्च आयोगका प्रथम सचिव गौरव गांगुली, त्यस्तै ढाकामा रहेको नेपाली राजदूतावासका उपप्रमुख धनबहादुर ओलीले झण्डा हल्लाएर बसलाई बिदाई गरेका थिए ।
बंगलादेशको राजधानी ढाकाबाट छुटेका ती बस बंगलादेशको बंगबन्धु हुँदै भारत–बंगलादेश सीमा फूलबारी भएर सिलिगुडी हुँदै काँकडभिट्टाबाट नेपाल प्रवेश गर्नेछ । श्यामोली परिवहनका दुई बस काठमाडौंका लागि छुटेका हुन् । ढाका–काठमाडौं सडक दूरी झण्डै एक हजार एक सय किलोमिटर रहेको छ ।
अहिले लालमोनिरत–बुरीमारी–चंग्रबन्ध–सिलिगुडीको रुट प्रयोग गरिए पनि पछि नयाँ रुट प्रयोग गरिने बताइएको छ ।

Related posts

Leave a Comment