सर्जियो अगुइरोको ह्याट्रिकः सिटीले न्युक्यासल युनाइटेडलाई  हरायो 

सर्जियो अगुइरोको ह्याट्रिकमा म्यानचेस्टर सिटीले शनिबार न्युक्यासल युनाइटेडलाई ३–१ ले पराजित गरी इंग्लिस प्रिमियर लिगको अंकतालिकामा पुन १२ अंकको अग्रता लिएको छ । गत साता लिभरपुलसँग ४–३ ले पराजित भएपछि घरेलु फुटबलमा सिटीको ३० खेलको अपराजित यात्रा टुंगिएको थियो ।

अगुइरोले इतिहाद रंगशालामा सिटीलाई पुरानै लयमा फर्काए । केभिन डी ब्रुयेनको क्रसमा अगुइरोले ३४ औं मिनेटमा सिटीको खाता खोलेका थिए । रहिम स्टर्लिङलाई लडाएपछि प्राप्त पेनाल्टीमा अगुइरोले नै ६३ औं मिनेटमा दोस्रो गोल गरे । त्यसको चार मिनेटपछि ज्याकोब मर्फीले न्युक्यासलबाट गोल गरी खेलमा केही रोचकता थपे पनि अगुइरोले ८३ औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे । सिटीका लागि यो उनको ११ औं ह्याट्रिक हो ।

दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले बर्नलीमा १–० को विजय हात पार्‍यो । एन्थोनी मार्टियलले ५४ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । ब्राइटनलाई ४–० ले पराजित गरेको चेल्सी तेस्रो स्थानमा उक्लिएको छ ।

एलेक्सिस सान्चेजबिनै उत्रिएको आर्सनलले क्रिस्टल प्यालेसलाई ४–१ ले पराजित गर्‍यो । नाचो मोनरिएल, एलेक्स इवोबी, लाउरेन्ट कोस्किइल्नी र एलेक्जान्द्रे लाकाजेटले २२ मिनेटभित्र गोल गरेपछि आर्सनल बलिया बनेको थियो । लुका मिलिभोजेभिकले १२ मिनेट बाँकी रहँदा प्यालेसबाट गोल फर्काए । आर्सनल छैटौं स्थानमा छ ।

लेस्टर सिटीले वाटफोर्ड र स्टोकले हडर्सफिल्डलाई २–० को समान स्कोरमा हराए । पराजयपछि वाटफोर्डले आइतबार व्यवस्थापक मार्को सिल्भालाई बर्खास्त गरेको छ । एभर्टन र वेस्ट ब्रोम तथा वेस्टहाम र बर्नमाउथबीचको खेल १–१ को बराबरीमा टुंगिए ।

Related posts

Leave a Comment