४ महिनापछि कलंकीको जामबाट मुक्ति पाइने (भिडियो सहित)

नवराज श्रेष्ठ, टिभी अन्नपूर्ण ।

उपत्यकाको मुख्य नाका नागढुंगा हुँदै पृथ्वी राजमार्गतर्फ यात्रा गर्ने यात्रुले अबको ४ महिनामा कलंकी चोकको जामबाट मुक्ति पाउने भएका छन् । चीन सरकारको सहयोगमा कलंकी चोकस्थित निर्माणाधीन ‘अन्डरपास वे’को निर्माण कार्य आउँदो जुलाईसम्म पूरा हुने निश्चित भएपछि यात्रुले यो सुविधा उपभोग गर्न पाउने भएका हुन् । काठमाडौं चक्रपथ सुधार आयोजनाका अनुसार निर्माणाधीन ‘अन्डरपास वे’ को सम्पूर्ण कार्य अबको चार महिनाभित्र सकिनेछ । आयोजनाका प्रमुख ज्ञानेन्द्रकुमार झाले ‘अन्डरपास वे’को निर्माण कार्य द्रूत गतिमा अघि बढेको बताए । उनले भने, ‘कलंकी चोकस्थित ‘अन्डरपास वे’ द्रूत गतिमा निर्माण हुँदैछ ।

मार्च सम्म सक्ने तयारी भएपनि केही कठिनाईले ढिला हुन गएको काम जुर्लाईसम्म सकिने झाले बताए । योे पास वे बनेपछि कलंकी चोकमा हुने घण्टौँको सवारी जाम शुन्यमा झर्नेछ । यात्रुले बिना झण्झट यात्रा गर्न सक्नेछन् ।’ आयोजनाका अनुसार ‘अण्डरपास वे’को निर्माण कार्य १५ महिना अघिबाट सुरु गरिएको हो । यसको अहिले ८० प्रतिशत काम सकिएको छ भने २० प्रतिशत काम भने अबको चार महिनाभित्र सम्पन्न हुनेछ ।  आयोजना प्रमुख झाले भने,‘गएको १५ महिनामा ठेकेदार कम्पनीले ८० प्रतिशत काम सकेको छ । अण्डर पास निमार्ण गर्दा हुने अधिकांश कामहरु जस्तै टनेल खन्ने बेस राख्ने काम सकिएको छ । अब पूरा भईसकेका कामलाई फिनिसिङ् दिने र सञ्चालनमा ल्याउन अन्तिम चेकजाँच गर्ने काम बाँकी छ । जसका लागि निर्धारित ५ महिनाको समय प्रयाप्त हुने निमार्ण कार्यमा संलग्न मजदुरहरु बताउछन् ।

अहिले ‘अण्डरपास वे’को खसिबजार तर्फको भाग ‘क्लीयर’ गरिसकेको छ । यो भागमा कालोपत्रे गर्ने काम पनि सकिनै लागेको छ । उत्तर सितापाइला तर्फको भाग समेत अहिले करिब करिब सकिनै लागेको छ ।  कामको गतिलाई हेर्दा जुलाई पहिलो सातादेखि कलंकीचोक हुँदै यात्रा गर्ने यात्रुहरुले कलंकीचोकमा दैनिक जसो भोग्नुपर्ने पट्यारिलो जामबाट मुक्ति पाउनेछन ।

Related posts

Leave a Comment