केन्याविरुद्ध नेपाल ३ विकटले विजयी

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को आफ्नो चौथो खेलमा केन्याविरुद्ध नेपाल ३ विकटले विजयी  भएको छ ।यो जितसँगै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना जिवितै राखेको छ ।

१७८ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात निकै खराब थियो । मात्र १४ रन जोड्दा तीन विकेट गुमाएको नेपालको पारी कप्तान पारस खड्का र शरद भेषावकरले सम्हाल्ने प्रयास गरे । उनीहरुले चौथो विकेटका लागि ५५ रनको साझेदारी गरे । पारस ४२ रनमा आउट भए । थप १३ रन जोड्दा शरद पनि व्यक्तिगत १९ रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र ८२ रन थियो ।

तर, आरिफ र रोहितले महत्वपूर्ण साझेदारी गरे । दुबैले छैटौ विकेटका लागि ८७ रनको साझेदारी गरे । दुबैले नेपाललाई जित दिलाउने अनुमान गरिएको थियो ।
तर, ४८.२ ओभरमा आरिफ ४२ रनमा आउट भएपछि खेलले नाटकीय रुप लियो । यो ओभरको बाँकी चार बलमा नेपालले ३ रन जोडेपछि अन्तिम ओभरमा ६ रन चाहियो । पहिलो बलमा २ रन लिएका रोहितले दोस्रो बलमा एक रन जोडे ।

तेस्रो बलमा सोमपालले एक रन लिए । तर, चौथो बलमा रोहित ४७ रनमा रनआउट हुन पुगे । अब अन्तिम २ बलमा २ रन चाहियो र स्ट्राइकमा सोमपाल थिए । ओभरको पाँचौं बलमा उनले रन जोड्न सकेनन् । अब २ बलमा २ रन चाहियो, नत्र नाटकीय रुपमा हार्ने खतरा रहृयो । तर, सोमपालले दुई रन लिँदै जित दिलाए ।

यसअघि पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो । केन्याका लागि इरफान करिमले ४२, एलेक्स ओबान्डाले ४१, धिरेन गोन्डारियाले २७ र नेल्सन ओडियाम्बोले नटआउट २४ रन जोडे ।बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले ५ मेडन राख्दै २० रन खर्चेर ५ विकेट लिएका हुन् । टस जितेर नेपालले पहिले फिल्डिङ गरेको खेलमा सोमपाल कामी, शरद भेषावकर र बसन्त रेग्मीले पनि १/१ विकेट लिए ।

Related posts

Leave a Comment