भताभुङ्ग कांग्रेस

भर्खरै सम्पन्न तीनै तहको चुनावमा नराम्रोसँग पराजय भोगेको पार्टीलाई सुदृढ बनाएर लैजानुको सट्टा कांग्रेसका शीर्ष नेताहरु झनै गुट उपगुटमा रमाउन थालेका छन् । पार्टी पराजयको मुख्य कारण नै आन्तरिक गुटबन्दी भएको बताउने गरेका नेताहरु नै दिनहुँजसो गुटगत भेला र छलफलमा व्यस्त बन्ने गरेका छन् । चुनावपछि पार्टी शुद्धीकरण गर्नुपर्छ भनेर आवाज उठाएका युवा नेताहरु पनि गुट उपगुटकै कोठे बैठकमा रमाउन थालेपछि कांग्रेस सुदृढ हुनुको सट्टा झनै आन्तरिक किचलोमै फस्न पुगेको छ ।

संसदमा प्रमुख प्रतिपक्षि दलको रुपमा रहेपनि सङ्ख्याका हिसाबले कांग्रेस निरीह जस्तै छ । यस्तो अवस्थामा गुटउपगुट नभनी एक भएर देखाउनुपर्नेमा गुटउपगुटको आन्तरिक किचलोमा रुमल्लिनु कांग्रेसका लागि सकारात्मक हुनै सक्दैन । चैत ९ गते हुन लागेको कांग्रेसको केन्द्रीय कमिटीको बैठक नजिकिँदै गर्दा गुटगत भेलाले झनै तिब्रता पाएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा प्रजातान्त्रिक अभ्यास सिकाउने कांग्रेसमा यस्ता छलफल र भेलाले पार्टीलाई झनै मजबुद बनाउने दाबी गर्नुहुन्छ । कम्युनिष्ट भनिएका पार्टीमा समेत अहिले समूह उपसमूहमा बाँडिएर भेला गर्ने गरेको अवस्था रहेको भन्दै उहाँले वर्षौंदेखि प्रजातन्त्रको वकालत गर्दै आएको कांग्रेसमा त्यस्तो हुनु कुनै नौलो अभ्यास नरहेको बताउनुभयो ।

‘पार्टी भित्रका हरेक नेताको विचार फरक फरक हुनसक्छ, फरक फरक तवरले छलफल गर्न सक्छन, तर ती विचार र छलफलले पार्टीलाई थप सुदृढ बनाउनु र्पयो ’ शर्मा भन्नुहुन्छ,–‘यस्ता छलफल र भेटघाटले पार्टीलाई अगाडि बढाउन झनै उर्जा प्रदान गर्छ ।’ आन्तरिक कुराहरु छताछुल्ल हुनेगरी बाहिरिँदा पार्टीमा आस्था राखेका कार्यकर्तामा भने नराम्रो असर पारेको छ । सत्तापक्षलाई दबाब दिन एकजुट भएर अगाडि बढ्नुपर्नेमा अन्तरविरोधमै समय खेर फाल्दा पार्टी झनै भताभुङ्ग हुन पुगेको कांग्रेस कार्यकर्ताकै गुनासो छ । पार्टीका केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेतृत्वलाई सजग बनाउन अहिले मन मिल्नेहरुसँग भेला र छलफल भइरहेको बताउनुभयो । चुनावमा पराजय भोगेसँगै पार्टी शुद्धीकरण र नेतृत्व परिवर्तन गर्नुपर्छ भन्दै घिमिरे सहितको युवा नेताहरुको टोलीले आवाज उठाउँदै आएको थियो ।

महाधिवेशन भएको दुई वर्ष बितिसक्दा समेत पार्टी सभापतिले पदाधिकारी नियुक्त नगर्दा पनि चुनावमा पार्टी पराजित हुन पुगेको भन्दै घिमिरेले पराजयको नैतिक जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताउनुभयो ।

पार्टीको केन्द्रीय कमिटिको बैठकमा के कस्ता मुद्दा उठाउने र कस्ता विषयलाई पारित गराउने भन्नेबारे आफूहरुले छलफल गरिरहेको उहाँले बताउनुभयो ।

‘पार्टीलाई सुदृढ र शसक्त रुपमा अगाडि लैजान संगठित साथिहरुका बीचमा छलफल र भेटघाट भइरहेको हो यसले पार्टीलाई कमजोर बनाउने भन्दा पनि मजबुद बनाउन सहयोग पुग्ने छ’ घिमिरेले भन्नुभयो ।

पार्टी सभापति शेरबहादुर देउवा पार्टीलाई नयाँ संविधानअनुसार संघीय संरचनामा लैजान महासमिति बैठकमार्फत विधान संशोधन गरेर पदाधिकारी बढाउने पक्षमा हुनुहुन्छ । तर, नेता रामचन्द्र पौडेल संविधानअनुसार पार्टीलाई संघीय संरचनामा लैजान तयार देखिए पनि पदाधिकारी थप्न असहमति राख्दै आएका छन् ।

केन्द्रीय समिति बैठकमा सभापतिले पदाधिकारी थप्ने विषयमा ल्याउने प्रस्तावलाई असफल पार्न पौडेल समूहले बैठक र भेलालाई तिब्रता दिएको श्रोतले दाबी गरेको छ ।

सभापति देउवाको विरोधमा रहेको नेता पौडेल अहिले दिनहुँजसो अर्का नेता डा.रामसरण महतको निवासमा पुग्ने गरेका छन् । महतकै निवासमा आफ्ना निकटका नेताहरुसँग दिनहुँ छलफल हुने गरेको बैठकमा सहभागी नेताहरुले बताए । यस्तै कृष्णप्रसाद सिटौला समूह पनि दिनहुँ छलफल र भेटघाटमा व्यस्त छ । केही दिनअघि भएको त्यो समूहको भेलाले सभापति आफूखुशी रुपमा चलेको र सबैलाई समेट्ने प्रयास नगरेको भन्दै आलोचना गरेको थियो । पार्टीमा अहिले सभापति देउवाकै गुट बलियो रहेकाले उहाँको विपक्षमा रहेका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले सभापतिलाई दबाब दिन दिनहुँ भेटघाट र छलफललाई तिब्रता दिएका हुन् । पार्टी्भित्रको आन्तरिक किचलो सुल्झाउन नसकेको कांग्रेसले सदनमा हुने बैठकमा पनि प्रभावकारी भूमिका निर्वाह गर्छ भन्ने विश्वास गर्न सकिन्न । पार्टीका शीर्ष नेताहरु नै आन्तरिक गुटबन्दी र अन्तरकलहमै रुमल्लिँदा पार्टीमा आस्था राख्ने कार्यकर्तामा भने नैराश्यता उत्पन्न भएको छ ।

Related posts

Leave a Comment