७१ जना यात्रु सहित उडेको सात मिनेटभित्रै विमान दुर्घटना, कोही जीवित नरहेको आशंका

मस्कोको डोमोडेडोभा अन्तर्राष्ट्रिय विमानस्थलबाट पश्चिमी क्षेत्र ओरेन्गवर्गका लागि उडेको एक सय ४८ यात्रु क्षमताको एक विमान दुर्घटनाग्रस्त भएको छ । विमानस्थलबाट उडेको सात मिनेटभित्रै विमान दुर्घटनामा परेको रसियाली समाचार एजेन्सीहरूले जनाएका छन् ।

यद्यपि, विमानमा आइतबार ६ जना चालक दलका सदस्यसहित ७१ जना यात्रु मात्र थिए । स्थानीय समयअनुसार आइतबार दिउँसो विमान टावरबाट सम्पर्कविहीन भएको थियो ।

 

कोही जीवित नरहेको आशंका
सारातोफ एयरलाइन्सको विमान मस्कोबाट ८० किमि टाढा दक्षिणपूर्वी अरगुनोव गाउँमा दुर्घटना हुँदा त्यसमा सवार सबै जीवित रहने आशा क्षणिक भएको जनाइएको छ । रसियाली समाचार एजेन्सीहरूले विमानका सबै यात्रुको निधन भएको समाचार सम्प्रेषण गरेका छन् ।

दुर्घटना भएको स्थान हिउँले ढाकेको छ । हिउँमा दर्जनौँ लास छरिएका छन् । धेरैजसोको अनुहार चिन्न सक्ने अवस्थामा छैन । कतिपयको शरीर क्षतविक्षत अवस्थामा भेटिएको छ ।

 

विमानमा समस्या
रसियाको गजेटा डाँट आरयू वेबसाइटले एक सनसनी खुलासा गरेको छ । वेबसाइटका अनुसार विमानका मुख्य पाइलटले विमानमा केही खराबी आएको र तत्काल ल्यान्डिङ गर्न टावरसँग अनुरोध गरेका थिए ।

पाइलटले आग्रह गरिरहँदा विमान एन्टोनफ एन १४८ काजकिस्तानको सीमा क्षेत्रको आकाशमा थियो । विमानमा खराबी आएपछि प्रतिमिनेट एक हजार मिटरको स्पिडमा जमिनतर्फ झरेको वेबसाइटले जनाएको छ ।

यता, रसियाको यातायात मन्त्रालयले इन्टरप्याक्सलाई दिएको जानकारीअनुसार विमान दुर्घटना हुनुको मुख्य कारण नै खराब मौसम थियो । विमान कसरी दुर्घटनामा प¥यो भन्ने सम्बन्धमा अहिले नै केही भन्न नसकिने मन्त्रालयको भनाइ छ । अनुसन्धानपछि मात्रै घटनाको वास्तविक विवरण आउने मन्त्रालयले जनाएको छ ।

विमानको भग्नावशेष खोजी
विमान दुर्घटना भएको दक्षिण–पूर्वी अरगुनोवमा भारी हिमपात भएका कारण उद्धार गर्न कठिनाइ भइरहेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । मस्कोले आपत्कालीन उद्धारकर्ताहरू घटनास्थलमा खटाएको छ ।

हिमपातका कारण विमानका अवशेष तथा लास खोजी गर्ने कार्य कठिन भएको उद्धारकर्मीले जानकारी दिएका छन् । यता, प्रारम्भिक अनुसन्धान कमिटीले मानवीय गल्ती, प्राविधिक कठिनाइ वा मौसमको समस्याले विमान दुर्घटना भएको हुन सक्ने
जनाएको छ ।

 

 

Related posts

Leave a Comment