यी हुन् आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडी

लुका मोड्रिच (क्रोएसिया) – टोलीका कप्तानसमेत रहेका लुका मोड्रिच जारी विश्वकप फुटबलमा क्रोएसियाका महत्वपूर्ण खेलाडी हुन् । उनकै उपस्थितिमा क्रोएसिया जारी विश्वकपमा सहभागी टोलीमध्ये सबैभन्दा उत्कृष्ट मिडफिल्डर रहेको टोली बन्न पुगेको छ । एकभन्दा बढी भूमिकामा उत्कृष्ट प्रदर्शन गर्ने क्षमताले मात्र होइन, अनुभवका आधारमा पनि उनी जारी विश्वकपमा क्रोएसियाली टोलीको महत्वपूर्ण खेलाडीको रूपमा स्थापित भएका छन् ।

स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने मोड्रिचसँग नियमित रूपमा ठूला प्रतियोगिता खेलेको प्रशस्त अनुभव छ । यसैगरी ठूला प्रतियोगिताहरूमा टोलीको जितमा निर्णायक भूमिका निर्वाह गर्न सक्ने क्षमता पनि उनीसँग छ । उनी मिडफिल्डमा रक्षात्मक वा आक्रामक दुवै भूमिकामा जम्न सक्ने खेलाडी हुन् । उनी त्यहीबाट आफ्ना स्ट्राइकरलाई अवसर सिर्जना गराउन पनि खप्पिस छन् ।

यसैगरी उनी आफैं गोल गर्न पनि सक्षम देखिन्छन् । अर्को विशेषता भनेको उनी जस्तोसुकै दबाबलाई पनि चिर्न सक्ने क्षमता भएका खेलाडी हुन् । जारी प्रतियोगितामा उनकै गोलको मद्दतले क्रोएसियाले समूहगत चरणको खेलमा बलियो प्रतिद्वन्द्वी अर्जेन्टिनालाई ३–० ले पराजित गरेको थियो । क्रोएसियाली टोली नाइजेरियाविरुद्ध २–० ले विजयी हुँदा पनि उनले पेनाल्टीमा एक गोल गरेका थिए । त्यसैले क्रोएसियाले जारी विश्वकपमा अर्को जितसहित उपाधिको योजना बनाउँदा त्यसमा कप्तान र टोलीका मुख्य खेलाडीको हैसियतले मोड्रिचले महत्वपूर्ण योगदान पु¥याउने अनुमान गरिएको छ ।

हेरी केन (इङ्ल्यान्ड) – कप्तान र टोलीका मुख्य स्ट्राइकरसमेत रहेका हेरी केन इङ्ल्यान्डका मुख्य खेलाडी हुन् । उनले जारी विश्वकपको क्वार्टरफाइनल चरण्को खेलसम्म त्यो भूमिका सफलतापूर्वक निर्वाह पनि गर्दै आएका छन् । उनको अनुपस्थितिमा इङ्ल्यान्डले समूहगत चरणको अन्तिम खेलमा बेल्जियमसँग १–० गोलको पराजय बेहोरेको थियो । त्यसबाहेक उनले खेलेको चारमध्ये सबै खेलमा इङ्ल्यान्डलाई विजयी बनाएका छन् ।

जारी विश्वकपमा उनी प्रतियोगिताकै सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा रहँदै गोेल्डेन बुटको मुख्य दाबेदार खेलाडीसमेत बनेका छन् । उनले हालसम्म चार खेलबाट ६ गोल गरेका छन् । उनीभन्दा पछाडि रहेका बेल्जियमका रोमेलु लुकाकूले भने चार गोल गरेका छन् । प्रतियोगिताको बाँकी खेलमा टोलीलाई जिततर्फ अग्रसर गराउँदा उनी इङ्ल्यान्डलाई ५८ वर्षपछि उपाधि दिलाउने मात्र होइन, आफैं पनि प्रतियोगिताको सर्वाधिक गोलकर्ताको हैसियतमा गोल्डेन बुट जित्ने अभियानमा रहनेछन् ।

आफ्नो पहिलो विश्वकपमै टोलीको कप्तानी गर्ने अवसर पाएका २४ वर्षीय केनका लागि यो आफ्नो देशलाई लामो समयपछि विश्वकपको उपाधि दिलाउने सुनौती अवसर पनि हो । त्यसैले पनि उनले यो अवसरको सही सदुपयोग गर्न बाँकी रहेका दुई महत्वपूर्ण खेलमा पक्कै सशक्त प्रदर्शन गर्ने विश्वास गर्न सकिन्छ ।

Related posts

Leave a Comment