बाम एकताः चित्र मिल्यो, चरित्र मिलेन

बिजय ज्ञवाली / टिभी अन्नपूर्ण

  जुट्न कहिल्यै नजान्ने, फुट्न भने आइतबार नै नचाहिने भन्ने कथन नेपालका वामपन्थी दलहरूमाथि निरन्तर प्रयोग भइरहन्थ्यो। २२ अप्रिल १९४९ अर्थात् १२ वैशाख २००६ मा लेनिन जयन्तीको अवसर पारेर कलकत्ताको श्यामबजारस्थित एउटा सरकारी अड्डामा पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायणविलास जोशीको अग्रसरतामा नेपालमा पहिलोपटक कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो । पार्टी स्थापनाको करिब ५ महिनापश्चात् अर्थात् १५ सेप्टेम्बर १९४९ मा नेकपाको प्रथम घोषणापत्र प्रकाशित गरिएको थियो। नेपाल कम्युनिस्ट पार्टी स्थापनाका ६९ बर्षयताका अवधिहरू कम्युनिस्ट पार्र्टीहरुका लागी कहिल्यै पनि सुखमय रहेनन। विभिन्न कालखण्डहरूमा फुट र गुटको चरम सिकार हुँदै आइरहेका नेपालका कम्युनिस्ट पार्टीहरूमध्ये हालैमात्र दुई ठुला बाम घटक एकिकरण गरी सिङ्गो नेपाल कम्युनिस्ट पार्टीको निर्माण गरिएतापनि अझै स साना कम्युनिस्ट दल र गुटहरू अस्तित्वमै छन्। विशेष गरेर एकले अर्काको अस्तित्व स्विकार्नै नसक्ने र एकले अर्कालाई सिद्ध्याएरै छाड्ने मनोरोगले ग्रस्त नेपालका वामपन्थी नेताहरूमध्येका प्रमुख रोलकर्ताहरु हाल एक भएतापनि यसको दिगोपनाको बारेमा संशय अहिल्यैैदेखि नै गर्नसकिन्छ । कि त विगतमा नेपालका वामपन्थीको चरित्र नजिकैबाट देखिरहेका कारण यस्तो संशय गरिरहननुपर्ने आधार छन्, या एउटै जङ्गलमा शेर महाशेरहरुबीच फेरि पनि मनमुटाव र द्वन्द्व नचर्किएला भनेर भन्न सकिन्न। अहिलेलाई चाहिँ भर्खर एकतासूत्रमा बाँधिएर नेपाल कम्युनिस्ट पार्टी स्थापना भएकोमा बधाई तथा शुभकामना।

कुनै पनि क्रान्तिकारी आन्दोलनले आफ्नो अतीतबाट सिक्ने हो। व्यवहार र प्रयोगको धरातलमा टेकेर आफ्नो बाँकी कार्यभार अगाडि बढाउनुपर्दछ । काम गर्दा आइपर्ने समस्या र गल्तीहरूबाट पाठ सिकेर नै बाँकी योजनाहरूको कार्वान्ययनलाई अगाडि बढाउनुपर्ने हो, तर नेपालका वामपन्थी दलहरूमा गल्तीबाट पाठ सिकेर अगाडि बढ्ने साहस कहिल्यैै देखापरेन। बरु उल्टै गल्तीमाथि गल्ती गर्दै गइरहे। जसको परिणाम वामपन्थीहरू बारम्बार फुट र गुटको चरम सिकार हुनुपरेको हो। पछिल्लो घटनाक्रमलाई छाडेर बाँकी कम्युनिस्ट शक्तिहरूको विगत र वर्तमानसम्म नजर घुमाउने हो भने आजका मितिसम्म आईपुग्दापनि नेपालका वामपन्थीहरू कहिल्यै देशको मूलधारको रूपमा सशक्तरुपमा उदाउन सकेका थिएनन।

अक्टोबर क्रान्ति अर्थात् १९१७ अक्टोबरमा रुसको समाजवादी क्रान्ति सफल भए पश्चात् मार्क्सवादको झिल्काले नेपाललगायत पिछडिएका, उपनिवेश, अर्धऊपनिवेश र अन्य मुलुकहरूलाई पनि छोएको थियो। देश परिवर्तनमा महत्त्वपूर्ण क्रान्ति र सम्झौताहरूमा अहम् भूमिका निर्वाह गर्दै आएको नेपालको वामपन्थी शक्ति जसरी दक्षिणपन्थी शक्तिहरूसँग सङ्घर्ष गर्दै आएको छ, यही अनुपातमा वैचारिक रूपमा रक्षात्मक स्थितिमा पनि रहिआएको छ। एकीकृत क्रान्ति भनिँदै आईएतापनि सारमा अस्तित्व रक्षाकै लागी संघर्षरत नेपालको कम्युनिस्ट शक्ति तिनै दक्षिणपन्थी शक्तिहरूको आक्रमणको सिकार पनि बन्दै आइरहेको कुरा कटुसत्य हो। फलस्वरुप कम्युनिस्टहरूको इतिहासदेखि वर्तमानसम्म टुटफुट र गुटैगुटको राजनीति मौलाएको हो। समाजवादी क्रान्ति गर्ने उद्देश्यसाथ सन १९४९ मा पहिलोपटक लुकीछिपी कम्युनिस्ट पार्टीको स्थापना भए यताका दृष्टान्त सरसर्ती नियाल्ने हो भने पुष्पलालदेखि पुष्पकमलसम्म आइपुग्दा नेपाली कम्युनिस्टहरूका हाँगाविंगा दर्जनौँ पुगिसकेका छन्, तर यी सबै खेमाहरू आफैमा अस्तित्व रक्षाको सङ्कटमा छन् भने यिनीहरू सबैको मुख्य कमजोरी भनेको अर्काको अस्तित्व स्वीकार गर्न नसक्नु नै हो। मोहनबिक्रमले मोहन वैधको अस्तित्व स्विकार्दैनन भने वैधले मोहनबिक्रमको। एकले अर्कालाई सामन्तवादी, नवसामन्तवादी, जड्सूत्रवादी, संशोधनवादी, उग्रराष्ट्रवादी लगायतका आरोपले अलाप्ने गर्दछन्। कम्युनिस्ट कम्युनिस्ट बिचमै पनि पानी बारबारको स्थितिसम्म पुग्ने यी शक्तिहरू बिना कुनै आधार, सिद्धान्त, मार्गदर्शनबिना एकअर्कोमा अचानक विलय हुन पनि किंचित पछि हट्दैनन। गुट र उपगूट तथा स(साना समूहमा विभक्त अधिकांश कम्युनिस्टहरू क्रमशः शिथिल र क्षयीकरण हुनुको प्रमुख कारण नै यिनीहरूको कमजोर धरातल हो।

सन् १९५६ मा जब खुश्चेव गुटले सोवियत संघमाथी कब्जा जमायो तब उक्त गुटले लेनिनपश्चात समाजवादी व्यवस्थालाई तिव्रताकासाथ अगाडि बढाइरहेका विश्व सर्वहारावादी अर्का नेता स्टालिनमाथी धावामात्र बोलेनन, मार्क्सवाद( लेनिनवाद प्रस्थापनामा प्रहार गर्दै शान्तिपूर्ण नीतिहरूमध्ये जनताको आफ्नै पार्टी, समग्र राज्य जनताको राज्य आदिलगायतका आकर्षक संशोधनवादी नीति पनि प्रतिपादन गरेका थिए। एक हिसाबले भन्नुपर्दा खुश्चेव गुटले प्रतिपादन गरेको नीति प्रस्ट रूपमा मार्क्सवादसँग सम्बन्धविच्छेद नै थियो। नेपालका पछिल्ला ठुला बाम घटकहरूको संसदीय अभ्यास र क्रियाकलाप हेर्दा कतै यी दलहरूले पनि मार्क्सवाद र लेनिनवादसंग संवन्धविच्छेद नै गरेका त होईनन भन्ने प्रश्न तेर्सिएर आउँछ। तत्कालको लागी व्यवहारमा संसदीय प्रतिस्पर्धा र बोलीमा मार्क्स र लेनिन भजाएतापनि रूपमा अव कम्युनिस्ट चरित्र भेट्नै गाह्रो छ।

पुँजीवादी व्यवस्थालाई ध्वंस पारी समाजवादी व्यवस्थाको निर्माण गर्ने अठोट गरेका नेपालका एकथरि कम्युनिस्ट दलका नेता नै आजकल पूँजीपती बनेका छन्, नवसम्भ्रान्त वर्गमा उक्लिएका छन्। हिंजो सर्वहारा वर्गको मुक्तिका लागी भनेर बन्दुक उठाएकाहरु आज आफ्नै सम्पत्ति जोगाउनकै लागी बन्दुकको सहारा लिंदैछन भने अर्कोतर्फ अर्काथरी कम्युनिस्टहरू तिनै नवसम्भ्रान्त वर्गमा ऊक्लिएका पूँजीपतीहरुद्वारा स्थापित पुँजीवादी व्यवस्थालाई ध्वंस गरी समाजवादको स्थापनाको खातिर मजदुर आन्दोलनको पुनश्चस् दिवास्वप्ना देख्दैछन। वास्तवमा नेपालका कम्युनिस्टहरूको चित्र र चरित्र नै मार्क्स, लेनिन, माओको नाम बेचेर मजदुरको ढाडमा टेकेर सत्ताको लिस्नु चढ्नु हो। फरक यत्ति हो( एकथरी कम्युनिस्ट गुटहरू यस्तासम्म छन् जो अवसर प्राप्त नहुन्जेलसम्म घोर क्रान्तिकारी र वैचारिक देखिएतापनि अवसर प्राप्त हुनासाथ वैचारिक विचलनसंगै राजनीतिको आदर्शलाई पनि तिलश्मी तिन पछि पर्दैनन। र, अर्काथरी कम्युनिस्टले घोर छलकपट गरे र छिट्टै सत्ताको रस्वादान गर्नपुगे अनि संसदीय दलदलमा भाष्य भएर गए भने छलकपट गर्न नजानेका कतिपय कम्युनिस्ट कोरा आदर्शका नारामै मात्र सीमित छन्। अवसर पाउनासाथ तिनीहरूको गन्तव्य पनि उहिं संसद् नै हुनेछ।

अष्ट्रीयाका सामाजिक जनवादका विख्यात सिद्धान्तकार कार्ल रेनन भन्छन् “मैले कार्ल मार्क्सद्वारा लिखित पुँजी दोस्रोपटक पढ्दै छु। तर अव पाठअनुसार अगाडि बढ्न गाह्रो छ। किनकि समय बदलिसकेको छ, सामान बदलिएको छ, मान्छेको मस्तिष्क बदलिएको छ।“ कार्ल रेननले भनेझैँ नेपालका कतिपय बाम बुद्धिजीवीहरूले पनि ठिक यस्तै तर्क गर्नथालेका छन्। तिनीहरूको तर्क छ १९ औँ शताब्दीसम्म मार्क्सले विश्लेषण गरेको पुँजीवादको कुरा प्रसंगिक थियो। तर, २० औँ र एक्काईशौं शताब्दीको उत्तरार्धसम्म आइपुग्दा मार्क्सले विश्लेषण गरेको पुँजीवाद सार्थक नहुनपनि सक्दछ। त्यसैले न अव मार्क्सवाद नै प्रासंगिक रहन गयो, न नै अव सर्वहारा वर्ग रहिगयो। जब हिंजो सर्वहारा वर्गको मुक्तिका लागी भनेर लडेका नै पूँजीपती धारमा भाष्य हुन्छन् त उनीहरूका लागी सर्वहारा वर्ग समाजमा नदेखिनु कुनै नौलो कुरा नै रहेन। संसार बदल्न भनेर हिँडेका आफै बदलिएर आएपछि के को क्रान्ति, के को आदर्श र सिद्धान्त, के को समाजवाद अनि को सर्वहारा वर्ग?

कुनै पनि क्रान्ति सम्पन्न गर्नका लागी दुई पाटा हुन्छन्। तीमध्ये एउटा पाटो हो संसदीय यात्रा। हालैमात्र एकीकृत पार्टी नेकपाको यात्रा संसदीय यात्रा हो। एकीकृत हुनुभन्दा अंघिपनि यी पार्टीहरूले संसदीय लोकतन्त्रकै यात्रालाई निरन्तरता दिँदै आएका हुन। भलै पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन माओवादीले करिब एकदशक सशस्त्र सङ्घर्ष गरेतापनि आखिर उसको पनि अन्तिम गन्तव्य संसदीय प्रणाली नै रहेछ भनेर अव धेरै प्रष्ट्याऊनै परेन। जनयुद्धको औचित्य पुष्टि गर्न नसकेको तत्कालीन माओवादी र सशस्त्र झापा विद्रोहपश्चात् शान्तिपूर्ण संसदीय राजनीतिमा अभ्यस्त यी दुई फरक धारका शक्तिलाई सँगै संसदीय अभ्यासमा अभ्यस्त गराउने सूत्रचाहिँ चर्चित १२ बुँदे सम्झौता नै हो। तत्पश्चात् यी दुई प्रमुख दल सँगै संसदीय राजनीतिमा होमिएतापनि बितेका दशक यी दुई पार्टीबीचकोे सम्बन्ध धेरै नै उतारचढावपूर्ण रहँदै आएको थियो। एकले अर्कालाई सिध्याईछाड्ने रणनीतिका साथ अगाडि बढिरहेका यी प्रमुख शक्ति अन्ततः एकअर्कामा विलय भएरै छाडेका छन्। त्यसैले होला राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्रु हुंदैनन भनेर भनिएको। क्रान्ति दोस्रो पाटो भनेको सशस्त्र सङ्घर्ष नै हो । नेपालमा हाल सशस्त्र सङ्घर्षको सम्भावना नरहेतपनि यदाकदा नेत्रविक्रम चन्द नेतृत्वको समूहले हतियार उठाउने धम्की बेलाबखत दिँदै आईहेको छ। माउ पार्र्टीबाट जनयुद्धलाई धोखा भएको र बाँकी क्रान्ति अधुरै रहेकाले अव दोस्रो जनयुद्धको माध्यम बाँकी क्रान्तिको अभिभारा पुरा गर्नुको विकल्प छैन भन्दै तत्कलिन माओवादीबाट पटक पटक चोईटिएर गएका वैध, चन्दलगायतका समूहबाट बेलाबखत हतियार उठाउने धम्की दिएतापनि नेपालमा अहिले तत्कालै हतियारसहितको सङ्घर्ष आवश्यकता छैन। एक त विगतको जनयुद्धको औचित्य ऐलेसम्म पुष्टि हुन नसकिरहेको अवस्थामा फेरि अर्को जनयुद्ध गर्छु भन्नु मुर्खतासिवाय अर्थोक केही होइन।

मार्क्सले कहिं लेखेका छन इतिहासले आफैलाई दोहोर्याऊँछ, तर हुवहु दोहोर्याउँदैन। पहिलोपटक त्रासदको रुपमा र दोस्रोपटक प्रहसनको रुपमा दोहोर्याउँछ। तर नेपालको कम्यूनिष्ट आन्दोलन मार्क्सको भावार्थभन्दा ठिक ऊल्टो प्रहसनको रुपमा देखापर्यो। पहिला मार्क्सकै भनाईअनुसार नै भयंकर त्रासदी देखाईएको छ भने अहिले विशेष गरेर मार्क्सको भावार्थको ठिक ऊल्टो प्रहसनको रुपमा दोहोरिएको छ। विशेष गरेर संसदलाई खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोको रुपमा चित्रित गर्दै सशस्त्र द्वन्द्वमा होमिएको तत्कालिन माओवादी विद्रोहताका झण्डै१७ हजारले ज्यान गुमाउनुपरेको कहालीलाग्दो सशस्त्र १० वर्षे जनयुद्ध यौटा त्रासदि थियो भने जनयुद्धले उठान गरेका अधिकांश मुद्दाहरुलाई तिलश्मी दिंदै अवसरवाद, सम्झौतापरस्त हुँदै क्यास माओवादीमा रुपान्तरित निवर्तमान पर्टि माओवादी केन्द्रमा अत्यासलाग्दो गरि बढेको वर्गिय चारीत्रिक कोपभाजनको दृष्य प्रहसनको यौटा पाटो थियो। प्रहसनको अर्को पाटो भनेको सशष्त्र संघर्षपश्चात शान्तीपूर्ण मूलधारको राजनितिमा ओर्लिएको माओवादीभित्र वर्गिय चरित्रको खाडल वढो आश्चर्यजनक रुपमा विकसित हुन पुग्यो। पार्टिमा मूलतस् दूईप्रकारको वर्गिय चरित्र देखा परे। यौटा पक्ष नवढनाड्य एवं ऐयासी वर्गमा रुपान्तरित हुन पुग्यो भने अर्को पक्ष ४५(५० डिग्रीको रापमा खाडीको मरुभूमीमा भेंडा चराउने वर्गमा रुपान्तरित हुनपुग्यो। तर यौटा कटुसत्य के थियो भने यि दुवै वर्गले विगतमा राज्यसत्ता कव्जा का साथै साम्यवदसम्मको सुनौलो गन्तव्यमा पुगीछाड्ने अठोटका साथ हतियार उठाएका थिए। त्यस्तै, चिनियाँ सांस्कृतिक क्रान्ती र भारतको नक्सलवाडी आन्दोलनद्वारा प्रेरित तत्कालिन नेपालका क्रान्तीकारीहरुद्वारा बिक्रम सम्बत २०२८ सालमा पूर्व कोशी प्रान्तीय कमिटिसंग सम्बद्ध झापा जिल्ला कमिटिले विद्रोह गरि सशष्त्र संघर्ष गरेको ञझापा विद्रोहझ यौटा त्रासदी थियो भने आन्दोलन तार्किक निष्कर्षमा नपुग्दै बिचैमा प्रतिक्रियावादी र यथास्थितिवादीहरुसंगको साँठगाँठमा आन्दोलनलाई कमजोर पारी संसदिय यात्रामा भाष्य ञतत्कालिन चतुर क्रान्तीकारीहरुझ को संसदमोह यौटा प्रहसन थियो भने बिधमान ञप्रतिक्रियावादीझ सत्ताको भरपुर पक्षपोषण गर्ने सिपी मैनाली र के.पी. ओली प्रवृत्ति प्रहसनको अर्को पाटो थियो। त्यसैले सारमा यि दूई ठूला कम्यूनिष्टहरुको एकअर्कामा विलय हुंदैगर्दा यिनिहरुको असली चित्र उजागर भएको छ भने बामपन्थी अझ भनौं कम्यूनिष्टको नाममा चरित्र भने पटक्कै मिल्न सकिराखेको छैन।

Related posts

Leave a Comment