कक्षाकोठामै विद्यार्थी मुर्छा पर्न थालेपछि ​विद्यालयको पठनपाठन प्रभावित(भिडियोसहित)

गोविन्द बिसी, कैलाली  ।
शिक्षकले कक्षामा पढाउँदै गर्दा कक्षाकोठामै विद्यार्थी मुर्छा पर्न थालेपछि कैलालीको एक विद्यालयको दैनिक पठनपाठन प्रभावित हुन थालेको छ । जिल्लाको बदगोरिया गाउँपालिका अन्तर्गत वडा नम्बर-३ खैरेनी स्थित जगदम्बिके भगवती माविमा विद्यार्थी पढ्दै गर्दा मुर्छा पर्न थालेपछि विद्यालयको नियमित पढाई प्रभावित हुन थालेको हो ।गएको वर्षदेखि यो समस्या हुन थालेको विद्यालयले प्रशासनले जनाएको छ । सुरुमा एकदुई जना विद्यार्थीमा मात्रै यस्तो लक्षण देखिएको भए पनि अहिले बिरामी विद्यार्थीहरूको सङ्ख्या बढ्दै गएको विद्यालय श्रोतको भनाइ छ ।अघिल्लो जेठ महिना यता झनै हरेक दिन समस्या देखिन थालेको विद्यालय स्रोतले जनाएको छ । सोमबार मात्रै ६ जना छात्रा बेहोस भएका छन् । विद्यालयमा कक्षा ३ देखि ९ सम्म अध्ययनरत ८ देखि १० जनासम्म विद्यार्थी छात्रामा यो समस्या हुने गरेको छ ।खास गरी गर्मीयामको वैशाख, जेठ र असार महिनाको अवधिमा यो समस्या धेरैजसो देखिपर्न थालेको छ ।निमित्त प्रधानाध्यापक दिलराज गौतमका अनुसार पढ्दै गरेका विद्यार्थी छात्राहरू अकस्मात मुर्छा पर्ने, अर्धचेत अवस्थामा रुने, कराउने, समूहमा हात बाँधेर हिँड्ने, विभिन्न कुरा बक्ने गरेका छन् । उनीहरूमा टाउको र हातखुट्टा दुख्ने, रिँगटा लाग्ने र रुने कराउने जस्ता लक्षण देखिने गरेका छन् भने, बिरामीपिच्छे फरकफरक छात्राले फरकफरक लक्षण देखाउने गरेका छन् ।


। अचेत अवस्थाबाट ब्युँझिएपछि बिरामी छात्राले आफूलाई सास फेर्न गाह्रो हुने, हात खुट्टा दुख्ने, काम्ने, झमझमाउने समस्या हुने गरेको बताएका छन् ।विद्यार्थीमा यो समस्या दैनिकजसो देखिएपछि स्थानीय र अभिभावकले आ(आफ्नै तर्क गर्न थालेका छन् । उनीहरूले कसैले विद्यार्थीमा मास हिस्टेरियाको समस्या देखिएको बताउँछन् भने कसैले भूतप्रेतको समस्या हुने गरेको तर्क गर्दै आएका छन् ।
दैनिकजसो विद्यार्थीलाई यो समस्या देखिन थालेपछि यसअघि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर चौधरीको निर्देशनमा २ दिन विद्यालय नै बन्द गरिएको थियो ।यता, विद्यालयका अभिभावकले समस्याको पहिचान गरी समाधानको उपाय खोजी गरिनुपर्ने बताउन थालेका छन् । उनीहरूले एक समस्याले अर्को समस्या सृजना हुन सक्ने भन्दै समयमै यसतर्फ सबैले सचेत र जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

Related posts

Leave a Comment