प्रधानमन्त्री ज्यु, नेपालको पानी जहाज त भक्तपुर आइपुग्यो !

विनोद देवकोटा,टिभी अन्नपूर्ण । 
पछिल्लो समय नेपालमा रेल र पानी जहाजको चासोको विषय बनेको छ । खास गरी सरकारी पक्षले यसको समर्थनमा रेल र पानी जहाज ल्याएरै छाड्ने बताउँदै आएको छ भने केहीले यसलाई हाँसो र व्यङ्ग्यको विषय बनाएका छन् । विशेष गरी एकै दिनको वर्षाले जलमग्न बन्ने नेपालका धेरै ठाउँमा यात्रा गर्दा मानिसले सरकारको पानी जहाज सम्झिन्छन् । र तिनै बाढीमा जलमग्न फोटा सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पानी जहाज बन्छन् । बारम्बार पानी जहाजका कुरा गरिरहने प्रधानमन्त्री केपी ओलीको सपनाले गएराति उठिबास लगायो । साँझ खाना खाएर सुतेका एकै परिवारका तीन जनाले ज्यान समेत गुमाउनु प¥यो ।


राति आएको सपनाको पानी जहाज चलाउन मिल्ने बाढीले घर वरपरका स्थान बगर जस्तै बनायो भने हजारौँलाई घरबार विहीन बनायो । त्याहाको बाढी र पानी देख्दा लाग्थ्यो नेपालमा हल्ला चलेको पानी जहाज साँच्चै यसैमा चलाउँदा हुन्थ्यो ।
रेल र पानी जहाज नेपालको विकास र सम्वृद्दीका लागि भए पनि अस्त व्यस्त सडकको अवस्था र एकै दिनको वर्षाले जलमग्न बन्ने अव्यवस्थित सहरी विकासले पनि ओलीको रेल र पानी जहाजलाई जिस्क्याएको छ ।

विशेष गरी सामाजिक सञ्जालमा सक्रिय प्रयोगकर्ताहरूले यसलाई जोरदार रूपमा उठाएका छन् । भुपरिवेष्ठित मुलुक नेपालमा भएका सडकको समेत सामान्य अवस्था सुधार गर्न नसक्नु र एकै दिनको वर्षामा सवारी डुब्ने सडकका खाल्डालाई लिएर पानी जहाजसँग जोड्ने गरेका हुन् ।

बिहीबार रातिदेखिको अविरल वर्षाका कारण देश भरका विभिन्न गाउँहरू जलमग्न भएका छन् । राजधानी नजिकै भक्तपुरमा एकै दिनको पानीले जलमग्न भयो र डुङ्गा प्रयोग गरी उद्धार गर्नु पर्ने अवस्था आयो । त्यसैसँग सम्बन्धित फोटोहरूलाई समेत लिएर सामाजिक सञ्जालमा पानी जहाजका ट्रोलमा स्थान पाएका छन् ।


विशेष गरी सरकारमा जानु अघि देखिनै नेपालमा पानी जहाज ल्याउने सपना बाँडेका हालका प्रधानमन्त्री केपी ओलीप्रति तीव्र व्यङ्ग्य गर्दै प्रहार भएका छन् । पानीले जलमग्न स्थानमा डुबेका गाडीको फोटो सामाजिक सञ्जाल फेसबुकमा राख्दै दिनेश पराजुली प्रश्न गर्छन्, सरकार यसैलाई पानी जहाज घोषणा गर्दा कसो होला ?


भक्तपुरको बाढीमा गाडी कुदेको भिडियो फेसबुकमा राख्दै अर्का एक जना सामाजिक सञ्जालमै व्यङ्ग्य गर्दै लेख्छन्, ‘भक्तपुरमा पानी जहाज चल्न सुरु‘ देशमा देशमा मेट्रो सिटी र मोनो रेल होइन पहिला भएका यी सामान्य बाटो घाटो बनाउनु पर्ने उनको तर्क छ ।

 


प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक नेपालमा पानी जहाज ल्याएरै छाड्ने बताउँदै आएका छन् । ओलीले पानी जहाजको सपना राति नभई दिउँसै देखेकाले पनि यसलाई हाँसोमा नउडाउन समेत आग्रह गर्दै आएका छन् ।
एक कार्यक्रममा उनले अबको दुई वर्षमा नेपालमा पानी जहाज आउने र इष्ट टिमोरबाट पानी जहाजमार्फत सामान ढुवानी गर्ने समेत बताएका थिए ।

यस्तो छ नेपालमा पानी जहाजको वास्तविकता
सरकारले पानीजहाज चलाउनका लागि नदीको सर्वेक्षणको काम अगाडि बढाएको छ । पानी जहाज सञ्चालन सम्बन्धी प्रारम्भिक अध्ययनको जिम्मेवारी सहसचिव माधव बेलबासेलाई दिएको छ । जल तथा ऊर्जा आयोगका सहसचिव बेलबासेको नेतृत्वमा ६ सदस्यीय इनल्याण्ड वाटर वे अध्ययन समिति पनि बनेको छ । समितिले कोसी, गण्डकी र कर्णाली नदीको नेपाली भूभाग तथा भारतीय भूमिमा पानीको बहाब, नदीको चौँडाई लगायतका पक्षमा अध्ययन गर्ने बताइएको छ ।

तर पनि भूपरिवेष्ठित देश नेपाल, कुनै समुद्रसँग नजोडिएकाले पनि पानीजहाजको कुरालाई हावादारी गफ भनेर उडाइरहेका छन् । तर पानी जहाज किन्ने कुरा अहिलेमात्र उठेको विषय भने होइन । आजभन्दा ४४ वर्षअघि नै तत्कालीन राजा महेन्द्रकै पालामा नेपालले पानी जहाज किनिएको भए पनि पछि ब्रिटिस कम्पनीले जहाज फिर्ता लगेको थियो ।
पानी जहाज सञ्चालन सम्बन्धी चारवटा ऐन पनि बनेका छन् । जहाजको झन्डा सम्बन्धी ऐन २०२७ मै बनेको थियो । यस्तै पानी जहाज दर्ता ऐन २०२७, नेपाल पानी जहाज (प्रमाणपत्र र रोजनामन्चा) ऐन, २०२७ र नेपाली पानी जहाज दर्ता नियमावली, २०२८ पनि जारी गरिएको थियो । पानी जहाज दर्ता ऐन, २०२७ ले कुनै व्यक्ति वा संस्थाले पानी जहाज दर्ता गर्न सक्ने व्यवस्था गरेको छ ।
नेपालमा सिङ्गापुर र श्रीलंकाबाट भारतको कलकत्ता बन्दरगाह हुँदै सामान भित्रिने गर्छ । नेपालको ऐन कानुनले पानी जहाज किन्ने र दर्ता गर्ने बाटो खुल्ला गरे पनि तत्काललाई भारतसँगको व्यापार तथा पारवहन सम्झौता बाधक रहेको विश्लेषकहरू बताउँछन् । यो बाधा हटाउने र भाषण भन्दा काम गरेर देखाउने हो भने विदेशका समुद्रमा नेपाली झन्डा फहराउँदै पानी जहाज चलाउन सम्भव छ ।
प्रधानमन्त्री ओलीसँग भिजन पनि छ, क्षमता पनि छ । तर सही समयमा सही निर्णय गर्न सक्ने क्षमता छ कि छैन ? आशङ्का यसैमा हो । ठुला योजना र सपना छोड्नु हुँदैन । रेल, पानी जहाज, घरघरमा ग्यास पाइपका कुरा छोडेर पनि हुँदैन । तर कुरा मात्र गरेर पुग्दैन काम गरेर देखाउने कहिले ?

Related posts

Leave a Comment