वडाध्यक्षले मुद्दा हालेपछि खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न आदेश

कालीकोटको खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ। मनोमानी ढङ्गले बजेट विनियोजन गरिएको भन्दै नगरपालिकाविरूद्ध वडाध्यक्षहरूले उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा दायर गरेका थिए  ।

न्यायाधीश नवराज थपलियाको एकल इजलासले आर्थिक वर्ष २०८०/०८१ को कुनै पनि बजेट कार्यान्वयन नगर्न विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिएको हो। नगरप्रमुख कमलबहादुर शाही र नगर उपप्रमुख गणेशबहादुर शाहीविरुद्ध यही साउन ११ गते नगरपालिकाका वडाध्यक्षले उच्च अदालतमा मुद्दा दायर गरेका थिए  ।

सार्वजनिक गरिएको बजेटमा वडाका कुनै योजना नसमेटिएको, मनोमानी बजेट ल्याएको, जनतामुखी नभई जनप्रतिनिधिमुखी बजेट बनाएकोलगायतका विषयमा नगरपालिकाका ११ वडाध्यक्षको समर्थनमा नौ जनाले उजुरी दिएको वडा नं ४ का वडाध्यक्ष प्रमानन्द आचार्यले जानकारी दिए ।

‘नगरपालिकाले असार १० गते पास गरेका योजना नपरेपछि हामी अदालत गएका थियौं,’ उनले भने, ‘अहिले अदालतले कार्यान्वयन नगर्न फैसला गरेको छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार