अमेरिका जान हिडेका ६ नेपाली टोगोमा अलपत्र

मानव तस्करको सञ्जालबाट अमेरिका भनेर हिँडेका ६ जना नेपाली पश्चिम अफ्रिकी मुलुक टोगोमा अलपत्र परेका छन् । अलपत्र पर्नेमा बाग्लुङका महेश्वर आचार्य, कमलबहादुर घर्ती, मनबहादुर श्रीस पुन र अशोक पौडेल तथा सिन्धुपाल्चोकका जीवन श्रेष्ठ र सोनाम छिरी शेर्पा रहेका छन् ।

गैर आवासीय नेपाली संघका नाइजेरियास्थित केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाका अनुसार झण्डै ६ महिनादेखि टोगोमा अलपत्र रहेका पीडितहरुले हालै आफ्नो उद्धारका लागि आग्रह गरेका हुन् । पीडितमध्ये बाग्लुङ–६ घर भएका महेश्वरका बुवा रुद्रनारायण शर्माले दिएको जानकारीमा उनका छोरा अमेरिका जान भनेर गत वर्ष मंसिरमा हिँडेका हुन् । ‘दलालको लहैलहैमा लागेर अमेरिका जान छोरो हिँडेको हो, उसको यात्राका लागि दलाललाई २५ लाख रुपैयाँ बुझाएको थिएँ,’ रुद्रनारायणले फोनमा भने- ‘घरबाट निस्केपछि २ महिना दिल्ली, ३ महिना थाइल्यान्ड, ४ महिना नाइजेरिया राखिएको रहेछ । बितेको ६ महिनादेखि टोगो भन्ने देशको राजधानीमा एउटा होटलमा राखिएको छ भन्ने खबर पाएको छु ।’ उनले आफ्नो छोरासहित सबै अलपत्र परेकालाई घर फिर्ता ल्याउन काठमाडौं आएर परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्ने तयारी भइरहेको बताए ।
अलपत्र नेपालीका साथमा राहदानी र अरु कागजात समेत नरहेकाले तथा घरफिर्ती टिकटका लागि खर्च समेत नरहेकाले टोगोस्थित गैरआवासीय नेपालीको समन्वय जुटाएर पीडितले घर फिर्न चाहेका छन् ।

Related posts

Leave a Comment