८६ लाख बढी ठगी रकमसहित ६ जना समातिए

विराटनगर । प्रहरीले ठगी गरेको आरोपमा एकजना भारतीयसहित ६ जनालाई रु ८६ लाख बढी रकमसहित पक्राउ गरी शुक्रबार विराटनगरमा सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी मोबाइलमा चिट्ठा परेको भन्दै विभिन्न जिल्लाका मानिसलाई ठगी गरेको आरोपमा सुनसरी, दुहबी नगरपालिका–६ बस्ने २९ वर्षीय बलराम विश्वास, विराटनगर महानगरपालिका–७ बस्ने ५५ वर्षीय अनुपचन्द सेठिया, सोही स्थानका ४० वर्षीय ललित सेठिया, सोही स्थानका ३४ वर्षीय विमलकुमार चिरानिया, २७ वर्षीय श्रवणकुमार साह र भारत, दरभंगा सुन्दरपर–२ बस्ने ३७ वर्षीय पंकज कर्णलाई विराटनगर–७ स्थित सेठियाको कार्यालयको कोठाबाट नगद रु ८६ लाख ५९ हजार ३४५, भारतीय रु एक हजार, चाँदीको टुक्रा चारथान, चाँदीको सिक्का दुईथान, मोबाइल ६ थान र अन्य कागजागतसहित बिहीबार पक्राउ गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले निजले पर्वत, देउपुर गाउँपालिका–२ बस्ने ४२ वर्षीया संगीताकुमार गुरुङ र धरान उपमहानगरपालिका–१५ बस्ने ६३ वर्षीय लालबहादुर मगरलाई पाकिस्तानबाट फोन गरी रु ‘४० लाख चिट्ठा परेको छ’ भन्दै पटक–पटक गरी रु चार लाख ५३ हजार, बुटवल, सुनसरीको इटहरी, मोरङको विराटनगरमा रकम आइएमई गरी पठाउन लगाएको पुनः थप रकम माग्नेक्रममा शंका लागी प्रहरीलाई खबर गरी पक्राउ गरिएको हो ।

निजले मोबाइलमा चिट्ठाको तस्वीर पठाइ भारतको मुम्बईको नम्बरमा फोन गर्न लगाइ नेपालको विभिन्न जिल्लामा रहेका आइएमई केन्द्रमा माग भएअनुसारको रकम पठाउन लगाउने र सो रकमपछि विदेशमा हुन्डीमार्फत् पठाउने गरिएको प्रहरीले जनाएको छ ।

निज ६ जनालाई शुक्रबारै अदालतबाट ठगी मुद्दामा आवश्यक अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

निजबाट ठगिएका अन्य व्यक्ति आउनेक्रम जारी रहेको र थप अनुसन्धानका लागि विशेषज्ञको टोली प्रहरी केन्द्रीय कार्यालयबाट माग गरिएको प्रहरी उपरीक्षक बिसीले पत्रकारलाई बताए ।

Related posts

Leave a Comment