विद्यासुन्दर शाक्यले निर्वाचनको मुखमा ८० करोड छुट्याए, आखिर के का लागी ? कारण यस्तो छ

काठमाडौं । निर्वाचनको समय नजिकिँदै गर्दा काठमाडौँ उपत्यकामा महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सडक स्तरोन्नतिका लागी ८० करोड रुपैयाँ बराबरको बजेट छुट्याएको छ ।

बजेट छुट्याएसँगै बजेट विनियोजन गरेलगत्तै महानगरका मेयर विद्या सुन्दर शाक्य एमाले नेतासँग सडक निरीक्षणका लागि निस्किएका छन् । नेकपा एमालेका नेता अग्नी खरेलसँगै उनी सोमबार काठमाडौंका सडकको पछिल्लो अवस्थाका बारेमा निरीक्षण गर्न निस्किएका हुन ।

“वषाका कारण सडक मर्मत गर्न सकिएन,” मेयर शाक्यले भने, “त्यसैले हिउँद लागेपछि सडकको स्थलगत निरीक्षणमा निस्किएको हुँ ।”सडक निरीक्षणका लागि शाक्यले पोलिटब्युरो सदस्यको साथ किन रोजे भन्ने प्रश्न महानगर कार्यालयमै चर्चाको विषय बनेको छ ।

“विकास विरोधी तत्वहरुले अनेक आशङ्का गर्नु अस्वभाविक होइन,” महानगरपालिकाका सहप्रवक्ता नमराज ढकालले भने, “चुनावका बेला बजेट आयो भन्दैमा उक्त बजेट चुनावकै लागि खर्च गरिन्छ भनी सोच्नु सरासर गलत हो ।”

महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने ८ मिटरभन्दा साना आकारका सडक विस्तार र स्तरोन्नति गरी दुई शीर्षकमा उक्त रकम छुट्याएको सहप्रवक्ता ढकालले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले विस्तारित सडक कार्यक्रमअन्तर्गत सडक स्तरोन्नतिको योजना ल्याएको पनि सहप्रवक्ता ढकालले जानकारी दिए । वर्षामा खाल्डाखुल्डी पुर्दा दीर्घकालीन नहुने अडान राख्दै आएका मेयर शाक्यले सडक स्तरोन्नतिको आफ्नो प्रतिवद्धतालाई साकार पार्न आफू कटिवद्ध भएर लागेको बताए ।

जम्मा ८० करोडमध्ये २५ करोड रुपैयाँ भित्री सडकका खाल्डाखुल्डी पुर्नका लागि छुट्याइएको सहप्रवक्ता ढकालले बताए । “साना र मझौला भित्री सडकका खाल्डाखुल्डी पुर्न र उप्किएका ठाउँमा कालोपत्रे लगाउन महानगरले यो रकम छुट्याएको हो,” उनले भने । हाल नरदेवी, कोटेश्वरलगायतका स्थानमा सडक निर्माण, खाल्डाखुल्डी पुर्ने काम सक्रिय रुपमा अगाडि बढिरहेको मेयर शाक्यले जानकारी दिए ।

शाक्यले आगामी सातादेखि खाल्डाखुल्डी पुरेर कालोपत्रे सुरु गर्ने योजना रहेको पनि बताए । महानगरपालिकाले ८० करोड बजेट निकासा गरेको नभई बजेट कार्यान्वन गरेको बताए । “वर्षाका कारण काम गर्न सकिएन, त्यही बजेट हाल सडक स्तरोन्नतिका लागि कार्यान्वन गर्ने भएका हौं,” महानगरपालिकाका कार्यकारी अधिकृत धनीराम शर्माले भने, “यो बजेट सडकको विकास र स्तारोन्नतिका लागि नै खर्च गरिने हो, यसलाई चुनावी खर्च भनेर प्रचार–प्रसार गरिनु नकारात्मक मानसिकताको उपज मात्र हो ।”

शर्माले ८० करोडमध्ये ५५ करोडले काठमाडौंका सम्पूर्ण सडकको विकास र स्तरोन्नति गरिने बताए ।

Related posts

Leave a Comment