डराउनुपर्दैन ! कोलेस्ट्रोल र ट्राइग्लिसेराइड खानपानबाटै नियन्त्रण हुन्छ

डा. दीपेश प्रधान, मुटुरोग विशेषज्ञ

उच्च कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको प्रमुख कारण हाम्रो खानपान नै हो । खानपिनमा सुधार गरे विनाऔषधि कोलेस्ट्रोल नियन्त्रण गर्न सकिन्छ । औषधि खानैपर्ने अवस्थामा डाक्टरको सल्लाह लिनु जरुरी छ । ट्रायल पिरियड ३ देखि ६ महिनामा खानाबाट नियन्त्रण नभए औषधिको प्रयोग गर्नु उचित हुन्छ । अत्यधिक उच्च कोलेस्ट्रोल र ट्राइग्लिसेराइड देखिएमा थोरै समयका लागि चिकित्सकको परामर्शअनुसार औषधि सेवन गरी, जीवनशैलीमा परिवर्तन गरेर यसलाई नियन्त्रणमा राख्नु राम्रो हुन्छ । कोलेस्ट्रोल र ट्राइग्लिसेराइड बढी भएमा हार्टअट्याक भई मान्छेको ज्यानैसमेत जान सक्छ । त्यसकारण निम्नलिखित कुरा अपनाउन जरुरी छ ।

भात कम, रोटी बढी

भातमा कार्बोहाइड्रेड बढी हुने भएकाले यसको जति कम प्रयोग गर्न सकिन्छ, उत्ति नै स्वस्थकर हुन्छ । भात बढी खानेहरूमा ट्राइग्लिसेराइड बढी हुने र राम्रो कोलेस्ट्रोल कम हुने गरेको पाइन्छ । गहँु र मकैभन्दा भातमा फाइबर र अन्य पोषण तत्व पनि कम हुन्छ । त्यसैले कोलेस्ट्रोल नियन्त्रणका लागि भातको मात्रा एकदमै घटाउनुपर्छ । अर्थात्, पेटभरि खाना नखाने, आधा पेट मात्रै भात खानुपर्छ । गहँु र मकैको रोटी प्रयोगमा बढी जोड दिन जरुरी छ । भातको धेरै प्रयोगले मधुमेहलगायत भविष्यमा मुटुरोगको पनि खतरा बढाउँछ । ट्राइग्लिसेराइड नियन्त्रण गर्न भात थोरै खानु लाभदायक हुन्छ ।

दाल, गेडागुडी खाऔँ

कोलेस्ट्रोल नियन्त्रणका लागि दाल तथा गेडागुडी सकेसम्म धेरै खानु उत्तम हो । यसमा फाइबर धेरै हुन्छ, चिल्लो हुँदैन, कार्बोहाइड्रेड पनि कम हुन्छ । निरोगी र रोगी दुवैका लागि यो सर्वोत्तम आहार हो ।

माछा र कुखुराको मासुमा जोड

खाना खाने वेलामा माछा र कुखुराको मासु सेवन गर्नुपर्छ । यसले मुटुलाई स्वस्थ बनाउन मद्दत गर्छ । खसी, बोका, राँगो, बंगुरको मासु खानै हु्ँदैन । मासुमा घिउको मात्रा प्रयोग गर्नुहुँदैन । तेल राखे पनि सनफ्लावर प्रयोग गर्नुपर्छ । त्यस्तै, यो समस्या कम गर्न रातो मासु खानुहुँदैन । यसमा प्रशस्त स्याचुरेटेड फ्याट हुने भएकाले उच्च कोलेस्ट्रोलको बिरामीले यस्तो प्रकारको मासु कहिल्यै नखानु राम्रो हुन्छ । सामान्य व्यक्तिले पनि महिनामा एकपटकभन्दा बढी खानु राम्रो होइन ।

व्यायाम

यो समस्याबाट बच्न हप्तामा पाँच दिन व्यायाम गर्नुपर्छ । व्यायाम कतिवेला गर्ने भन्ने समय छैन । बिहान, दिउँसो, साँझ जतिवेला गरे पनि केही फरक पर्दैन । त्यस्तै, आधा घन्टादेखि ४५ मिनेटसम्म दौडिनु पनि राम्रो हुन्छ । ब्याडमिन्टन खेल, जिम पनि गर्न सकिन्छ ।

सागसब्जी, तरकारी र सलाद खाऔँ

ताजा सागसब्जी, तरकारी र सलादमा कोलेस्ट्रोल हुँदैन । फाइबर प्रशस्त मात्रामा हुने भएकाले कोलेस्ट्रोल घटाउन सहयोग गर्छ । यसमा क्यालोरी पनि कम हुने भएकाले मोटोपना बढ्न नदिन मद्दत पु¥याउँछ । यसले रगतमा राम्रो कोलेस्ट्रोल (एचडिएल)को स्तर पनि बढाउँछ । कोलेस्ट्रोल नियन्त्रणका लागि खानाको प्रत्येक छाकमा प्रशस्त सागसब्जी हुनु जरुरी हुन्छ ।

फलफूलको मात्रा बढाऔँ

यो समस्या हुनेहरूका लागि फलफूलको मात्रा बढाउनुपर्छ । सबै प्रकारका फलफूल खाए पनि आँप सकेसम्म धेरै खान सकिन्छ । दाल र सुप बढी सेवन गर्नुपर्छ ।

जंक फुड, फास्ट फुड नखाऔँ

जंक फुड र फास्ट फुड सकेसम्म नखानु नै राम्रो हुन्छ । भुटेको वा तारेको खाना, आइसक्रिम, केक, पेस्ट्रिज, मिठाई आदि खानामा स्याचुरेटेड फ्याट र ट्रान्सफ्याट बढी पाइन्छ । यसमा क्यालोरी पनि अत्यधिक बढी हुन्छ । उच्च कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको नियन्त्रणका लागि यस्तो खाना हानिकारक भएकाले कोलेस्ट्रोल सामान्य भएका व्यक्तिले पनि सकेसम्म यसको प्रयोग गर्नु हानिकारक हुन्छ ।

दूध–दही खाऔँ, घिउ नखाऔँ

दूध, दही, तर, घिउको प्रयोगले ट्राइग्लिसेराइड सँगसँगै कोलेस्ट्रोल पनि बढ्ने सम्भावना हुन्छ । दूधबाट बन्ने अन्य परिकारको प्रयोगले पनि कोलेस्ट्रोल–ट्राइग्लिसेराइड बढ्न सक्छ । त्यसैले उच्च कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको नियन्त्रणका लागि खानामा दूध र दुग्धजन्य पदार्थको प्रयोगलाई न्यून गर्न जरुरी हुन्छ । कम चिल्लो भएको दूध थोरै मात्रामा खान सकिन्छ । दूधभन्दा दही र महीमा फ्याट कम हुने भएकाले चिल्लो कम दही र महीको प्रयोग गर्न मिल्छ । दूध, दही, मही खाए पनि घिउ खानु राम्रो होइन । घिउ र तरमा स्याचुरेटेड फ्याट बढी हुने भएकाले खानु नै हुँदैन । नयाँ पत्रिका

Related posts